नेपाल आइडलदेखि द भ्वाइसको म्युजिक डाइरेक्टरसम्म : पैसाभन्दा प्यासन रोजेका करणराज

ए साइँला हिम्मत भए लैजाऊ मा…, अझै थोरै फिल पुगिराको छैन है, ओके दादा । जाऔँ । मीठो धुन बज्छ । ए साइँला हिम्मत भए लैजाऊ मागेर…। ल मीठो आयो । जाऔँ अगाडि ।

लेखु सहयात्रीको शब्द र करणराज कार्कीको संगीत रहेको ‘ए साइँली’ गीतको रेकर्डिङ रहेछ । सुनिता थेगिम सकेसम्म गीतलाई मीठो पार्ने कोसिसमा थिइन् ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का म्युजिक डाइरेक्टर करणराज कार्की कसरी हुन्छ गीतलाई सुमधुर पार्ने कोसिसमा थिए । धोवीधारामा अवस्थित ‘ए वान म्युजिसियन स्टुडियो’को माहोल साइँलीमय थियो ।

काठमाडौंमा जन्मिएका करणराजको बाल्यकालको आधा समय बर्दियामा बित्यो । सानै उमेरदेखि बुबाले हार्मोनियम बजाउँदै गीत गाएको देखेका कार्कीलाई त्यतिबेलादेखि नै संगीतमा रुचि थियो । उनका बुबाले बनारसमा केही समय संगीत सिकेका थिए । बुबाले हार्मोनियम बजाउँदै गीत गाउँदा आफूलाई पनि गीत गाउने रहर लागेको उनी बताउँछन् ।

‘बाबाले हार्मोनियममा गीत गाउँदा एकदमै आनन्द आउँथ्यो । त्यो देखेर म पनि विभिन्न गीतहरू सुन्ने र गाउने कोसिस गर्थेँ’, उनले भने ।

काठमाडौंमा ३ कक्षासम्म पढेपछि पुर्ख्यौली घर बर्दिया गएका उनी ८ कक्षासम्म अध्ययन गरेपछि पुनः परिवारसँगै काठमाडौं आए ।

सानैदेखि नेपाली गीतहरू सुन्दै दुरुस्तै गाउने प्रयास गर्थे । त्यतिबेला अहिलेजस्तो प्रविधि नभएकाले गीतका किताबहरू नै किनेर गाउने अभ्यास गर्नेगरेको बताउँछन् । २ कक्षामा पढ्दादेखि नै गीत गाउन थालेका उनी विद्यालयमा हुने विभिन्न कार्यक्रममा गीत गाउँथे ।

विद्यालयमा पनि संगीतको कक्षा लिन्थे । पछि उनले श्यामसुन्दर आचार्यसँग संगीत कक्षा सुरु गरे । उनले करिब ९ वर्षसम्म पुतलीसडकमा अनुराग संगीत विद्यालयमा शास्त्रीय संगीत सिके । तर, गुरु आचार्य नेपाल छोडेर अमेरिका गएपछि गुरुको खाँचो झनै महसुस भयो । राम्रो गुरु खोज्न भौतारिए । तर भनेजस्तो भइरहेको थिएन ।

‘सिक्नुपर्ने कुरा अझै थियो, गुरुको एकदमै मिस भयो’, उनले भने, ‘दुई वर्ष अरु गुरुहरूसँग पनि संगीतको कक्षा लिएँ तर अझै सिक्नुपर्छ जस्तो मात्र लागिरह्यो ।’

शास्त्रीय संगीतप्रतिको मोहले उनलाई भारत जाने मन लाग्यो । १२ कक्षा सकेपछि ६४ सालमा उनी बनारस गए । त्यहाँ बनारस घरानाका गुरु आशिश मिश्र र राजेश्वर मिश्रसँग ५ वर्ष संगीतको कक्षा लिए ।

दिनको ५ घण्टा गुरुसँगै बिताउनु पर्थ्यो । दिनमा १० देखि १२ घण्टासम्म रियाज गर्थे । विभिन्न सांगीतिक कार्यक्रमहरूमा पनि सहभागी हुनका लागि पनि समय निकाल्नै पर्थ्यो । संगीत सिक्ने त्यहाँको माहोल नै अर्कै भएको कार्की बताउँछन् ।

‘संगीत एउटा ध्यानजस्तै थियो, गुरुमै समर्पित भइन्थ्यो’, उनी भन्छन्, ‘त्यहाँको र यहाँको माहोल नै भिन्न छ । सबैभन्दा ठूलो कुरा त त्यहाँ एउटा राम्रो संस्कार छ । यहाँ सुन्दै आएको गुरु–शिष्य परम्पराको राम्ररी अनुभव गर्न पाइयो ।’

त्यहाँको वातावरणमा घुलमिल हुन केही समय लागे पनि बिस्तारै आनन्द महसुस हुने उनले बताए । कुनै पनि कुराको भोक भएको मान्छेलाई त्यहाँ राम्रो वातावरण रहेको उनको बुझाइ छ ।

गल्ती मेरो छैन

भारतमा ५ वर्ष शास्त्रीय संगीत सिकेर नेपाल आएपछि कार्कीले विष्णु आचार्यसँग केही समय ध्रुपद गायन सिके । त्यही क्रममा उनलाई अब गीतको काम गर्नुपर्छ भन्ने लाग्यो । त्यतिबेला गजलको माहोल थियो ।

उनले गजल एल्बमको तयारी थाले । तर त्यो माहोल चरम विन्दुमा पुगेर ओरालो लाग्न थालेको अवस्था थियो । साथीहरूले रेकर्ड गरेका गजलहरू नचलेपछि उनको मुड बदलियो । गजल एल्बमलाई थाँतीमा राखेर सामयसान्दर्भिक गीत नै निकालौँ भन्ने भयो ।

विश्वसंगीतमा त्यतिबेला आरएमबी भन्ने संगीतको एउटा स्टाइलम चर्चामा चर्चामा थियो । त्यसमै आधार रहेर उनले ‘गल्ती मेरो छैन’ भन्ने गीत इथोस ब्यान्डसँग मिलेर निकाले । गीतमा उनको आफ्नै शब्द, संगीत र स्वर थियो । उक्त गीतमा उनको अभिनय समेत हेर्न सकिन्छ । त्यो धेरै राम्रो भयो । त्यसपछि उनी निरन्तर नेपाली संगीतमा छन् ।

अहिले उनले चलनचल्तीका लोकदेखि कौडा, सालैज्यू, चलचित्रका टाइटलदेखि पार्श्वव संगीतसम्मका धेरै गीतमा काम गरिसकेका छन् । उनले काम गरेको पहिलो चलचित्र ‘स्टुपिड मन’ हो । उनको शब्द र संगीतमा रहेको झुकेका नजर त्यसमा उनले प्रमोसनल गीतमा गरे ।

त्यसपछि ‘इच्छा’, ‘प्रेम दिवस’, ‘चि मुसी चि’लगायत आधा दर्जन चलचित्रमा काम गरेका छन् ।
कार्कीको संगीतमा रहेका ‘नजरको गोली’, ‘फसायौ नि मीठो बोलेर’, ‘नदेखिन्या घाउ’, ‘ए साइँली , ‘जिन्दगीले घुमायो’लगायतका गीत चर्चामा छन् । उनले २ सयभन्दा बढी गीतमा काम गरिसकेका छन् ।

नेपाल आइडलदेखि द भ्वाइस अफ नेपालको यात्रा

करणराज कार्की नेपाल आइडलको पहिलो सिजनमा संगीत प्रशिक्षकको रूपमा छिरेका थिए । त्यो सिजन एकदमै सफल भयो । त्यहाँ उनको कामले तारिफ पायो ।

त्यसपछि त्यही टिमले अर्को शो ‘द भ्वाइस अफ नेपाल’ गर्ने भएपछि उनले म्युजिक डाइरेक्टरको रूपमा त्यहाँ काम गर्न थाले । कार्कीले भ्वाइसका ३ सिजन र एउटा किड्स भर्सन समेत गरी ४ वटा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । आफ्नो सांगीतिक जीवनमा आर्थिक र सांगीतिक दुवै हिसाबमा यी शोहरूले ठूलो भूमिका खेलेको कार्की बताउँछन् ।

‘सबैभन्दा पहिला त नेपाल आइडलमा छिर्नु नै मेरो लागि राम्रो अवसर थियो । पछि भ्वाइसमा आएँ, यहाँ पनि ४ ओटा शो सफलतापूर्वक सम्पन्न भइसके’, उनले भने, ‘यसबीचमा धेरै राम्राराम्रा कलाकारहरू ल्याइयो, कार्यक्रमबाट मलाई पनि धेरै सपोर्ट भयो ।’

संगीत छोडेर खाडी रोज्नुपर्दाको त्यो क्षण

१८–१९ वर्षसम्म संगीतलाई नै समय र पैसा लगानी गरिसकेपछि पनि आफूले गरेका कामले बाहिर राम्रो नतिजा नदिँदा कार्कीलाई एक समय निकै दुःखी बनायो । आर्थिक समस्या पनि बढ्दै थियो । ठीकै छ अब संगीतलाई अभ्यासका लागि मात्र लिन्छु भनेर उनले खाडी जाने निर्णय पनि गरे ।

जीवनमा ठूलो अपेक्षासहित ऊर्जाशील समय बिताएको क्षेत्र नै छाडेर खाडी जानुपर्ने अवस्था रोज्नु उनका लागि सहज पनि थिएन । त्यो पल सम्झिँदै उनले भने, ‘बाँच्न नै गाह्रो भयो । खाडी जान ट्राइ गरेँ । नाम पनि निस्कियो तर त्यही दिन नै नेपाल आइडलमा पनि नाम निस्कियो, त्यहाँ नाम ननिस्किएको भए म यतिबेला यहाँ नै हुन्नथेँ होला ।’

पैसाका हिसाबले विदेशमा राम्रो भए पनि उनले आफ्नो सपनालाई रोजे । नेपाल आइडलको त्यो अवसर नै उनका लागि टर्निङ प्वाइन्ट रहेको उनले बताए ।

नमीठा ती दिन

‘सुरुवाती अवस्थामा एकदम गाह्रो थियो । त्यो सबैलाई हुन्छ । आफैँले पैसा तिरेर आफ्नो गीत रेकर्ड गर्न जाँदा पनि स्टुडियोको मान्छेले गरेको व्यवहार सम्झिँदा अझै नरमाइलो लाग्छ’, १२ बजेका लागि लिएको आफ्नो समयलाई राति ९ बजेसम्म कुर्नुपर्दाको क्षण सम्झिए उनले । तर राति अबेरसम्म भोकै बसेर पनि पहिलो गीत रेकर्ड गर्दाको खुशी भने भने उनले मुस्कुराउँदै साटे ।

भिडियोका लागि झनै समस्या थियो । एउटा गीत गर्न आठ महिनासम्म कुर्दा पनि काम भएन । कम्पनीलाई ढिला भएपछि डाइरेक्टर परिवर्तन गर्दा उल्टै उसको कार्यालयमा बोलाएर नेपाली संगीत क्षेत्रबाट गायब गरिदिन्छु, पत्तासाफ गरिदिन्छु भन्नेसम्मका धम्की सहनुपरेको थियो ।

कतिले कार्यक्रम गर्न बोलाएर पैसा नदिने गरेका तिता अनुभवहरू पनि उनीसँग प्रशस्त छन् ।
विगतका यिनै तितामीठा क्षणहरू नै जिन्दगीको पाठ भएको बताउँछन् उनी । एक्लो प्रयासले नेपाली संगीत क्षेत्रको यो स्थानसम्म आइपुग्नुमा केही न केही भूमिका यी कुराहरूको पनि रहेको लाग्छ उनलाई ।

गीतमा आत्मा नै हरायो

पछिल्लो समय राम्रोभन्दा पनि भाइरलको पछाडि दगुर्दा संगीतको आत्मा नै हराएको उनको बुझाइ छ ।

‘अहिलेका गीतमा आत्मा नै पाउन मुस्किल छ । एउटा राम्रो काम गरौँ भन्नेभन्दा पनि कसरी भाइरल भइन्छ र कसरी धेरै मान्छेले मलाई ख्याल गर्छन् भनेर सस्ता शब्दहरूको प्रयोग हुन थाल्यो’, उनी भन्छन्, ‘यसले भोलिलाई नै बिगार्दै छ ।’

अहिलेको अवस्थाले यो क्षेत्र नै नराम्रो बाटोमा जाने हो कि भन्ने चिन्ता छ उनलाई । यसमा बजार र दर्शकश्रोताको पनि दोष उत्तिकै देख्छन् उनी ।

‘गीत हेर्ने र सुन्ने दर्शकहरू पनि नराम्रा र सस्ता शब्दको पछाडि दौडिँदा समस्या आएको हो, उनी भन्छन्, ‘व्यापारीले बेच्न राख्यो भन्दैमा नराम्रो खानेकुरा खायौँ भने त दुःख पाउने आफैँले हो नि ।’

बजारमा आएका हरेक कुरालाई राम्रो–नराम्रो छानेर राम्रोलाई प्रोत्साहन गरी नराम्रो कुरालाई खबरदारी गर्न सक्नुपर्ने धारणा उनको छ । हरेक क्षेत्रमा जस्तै संगीत क्षेत्रमा पनि यस्ता विकृति हटाउन सबैले संगीतप्रति राम्रो संस्कारको विकास गर्नुपर्ने उनले बताए ।

नयाँ पुस्ताले सिक्न आवश्यक

नेपालका चर्चित र सफल रियालिटी शोहरूका ५ वटा सिरिजलाई नजिकबाट नियालेका कार्की नेपाली संगीतको वर्तमान अवस्थामा भने सन्तुष्ट छैनन् । केही बुझेर आएका भए पनि अधिकांश यो क्षेत्रमा नसिकीकन नै आउने गरेको उनको अनुभव छ । संगीतलाई एउटा साधना र संस्कारको रूपमा लिने उनी नेपालमा संगीतको संस्कार हराएकोमा चिन्तित छन् ।

‘जे कुरामा पनि हामी हतार गर्छौँ । संगीत भनेको एउटा साधनाबाट प्राप्त हुने मीठो फल हो’, उनी भन्छन्, ‘तर अहिलेको पुस्तामा सिकेर आउने संस्कार नै हरायो । जसलाई जतिबेला जे मन लाग्यो त्यही गर्ने परिपाटी यो क्षेत्रमा समस्या बनेको छ ।’

संगीत क्षेत्रमा आउन चाहने हरेक व्यक्तिले सिकेर र बुझेर मात्र आउनुपर्ने कार्कीले बताए । यत्तिकै लहलहैमा आउँदा सुरुमा रमाइलो भए पनि पछि डिप्रेसनको सिकार हुनुपर्ने अवस्था समेत आउने उनको भोगाइ छ । अहिले प्रतिस्पर्धाको बजार भएकाले पनि अरुभन्दा आफूलाई अब्बल बनाउन सिक्न जरुरी रहेको उनले बताए ।

‘अहिले प्रतिस्पर्धाको बजार छ, हरेक अवस्थामा आफूलाई टिकाइराख्न संगीतको ज्ञान हुन आवश्यक छ’, उनले भने, ‘आफ्नै खुट्टामा टेक्न सक्ने भएर मात्र यो क्षेत्रमा छिर्नुपर्छ, नत्र अरुले खुट्टा तानेको दिन गर्ल्याम्मै भइन्छ ।’

केही अपवादबाहेक यतिकै र सिकेर आउनेमा धेरै फरक हुने बताउँछन् उनी ।

‘फरक त परिहाल्छ नि, सिकेर आउनेले राम्रो गर्न खोज्छ र राम्रो पनि भको छ तर यतिकै आउनेले गाउनकै लागि मात्र गाउँछ’, उनी भन्छन्, ‘तर केही समय हल्ला भए पनि लामो रेसको घोडा भनेको सिकेको मान्छे नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?