किन संकटमा धकेलियो नेपालको अर्थतन्त्र ?

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटतर्फ धकेलिँदै गएको छ । अर्थतन्त्रका मुख्य सूचकहरू नै धरासायी अवस्थामा पुगेको छ । चालू आर्थिक वर्षको सुरुवातदेखि नै बैंकिङ क्षेत्रमा देखिएको लगानीयोग्य रकम (तरलता) अभाव अझै समाधान हुन सकेको छैन । व्यापारघाटा बढिरहेको छ भने शोधनान्तर घाटा बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । रेमिट्यान्स पनि घटिरहेको अवस्था छ ।

यता आयात भने दिनहुँ बढिरहेको छ । विलासिताका वस्तु खरिदमा नेपालीले ठूलो रकम खर्च गरिरहेका छन् । जसले गर्दा मुलक दिनप्रतिदिन परनिर्भरतातर्फ धकेलिरहेको छ । आयात दिनहुँ बढ्ने तर रेमिट्यान्स घट्नाले मुलुकमा विदेशी मुद्राको सञ्चिति घटिरहेको अवस्था छ । जसको कारण मुलुकको अर्थतन्त्र नै गम्भीर मोडतर्फ धकिलिरहेको अर्थविद् बताउँछन् ।

मूल्यवृद्धि दिनप्रतिदिन आकासिँदै गइरहेको छ । दैनिक उपभोग्य वस्तुको अचाक्ली मूल्यवृद्धि हुँदा जनता थप मारमा पर्न थालेका छन् ।

रेमिट्यान्स घट्दा विदेशी मुद्रा सञ्चितिमा दबाब

पछिल्लो समय विप्रेषण आप्रवाह (रेमिट्यास) घट्दै गइरहेको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैदेशिक रोजगारीमा जानेको संख्या बढे पनि रेमिट्यान्स भने घटिरहेको छ । विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा मुलुकको अर्थतन्त्र नै संकटतर्फ धकेलिरहेको छ ।

त्यसो त विदेशी मुद्राको सञ्चितिमा दबाब पर्नुको अन्य कारणहरूमा आयात बढ्नु, विलासिताको वस्तुप्रति नेपालीको आकर्षण बढ्नु, व्यापारघाटा बढ्नु र मुलुकको परनिर्भरता बढ्दै जानु पनि रहेका छन् ।

आयात बढ्यो

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ८ महिनामा गत साउनदेखि फागुन मसान्तसम्म नेपालले १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ । यस अवधिमा १ खर्ब ४७ अर्ब रुपैयाँबराबरको मात्र वस्तु निर्यात गरेको छ ।

यसरी हेर्दा नेपालको व्यापारघाटा ११ खर्ब ६० अर्बभन्दा बढी पुगिसकेको छ । गत आर्थिक वर्षको तुलनामा मुलुकको व्यापारघाटा ३४ दशमलव ५० प्रतिशत बढेको छ ।

विभागका निर्देशक तथा सूचना अधिकारी पुण्य विक्रम खड्काका अनुसार आयात भएका वस्तुहरूको सूचीमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ र कच्चा खाने तेल रहेको छ । पछिल्लो समय नेपालीहरूले विलासिताका वस्तुको प्रयोग गर्ने क्रम बढिरहेको देखिन्छ । नेपालीहरूले मोबाइल, कम्युटर, मोटरसाइकल तथा स्कुटर, कारलगायतका वस्तुमा ठूलो रकम खर्च गरिरहेका छन् । आयात बढ्ने तर निर्यातमा प्रगति गर्न नसक्दा नेपालमा विदेशी मुद्रा सञ्चिति घटिरहेको हो ।

विदेशिने बढे

कोरोनाको संक्रमण दर घट्दै गएपछि नेपालबाट विदेशिनेको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पछिल्लो ८ महिनामा करिब ५ लाख पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा मात्रै झन्डै साढे ४ लाख नेपाली रोजगारका लागि विदेशिएका थिए । विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालका अनुसार चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ४ लाख ४० हजार नेपाली रोजगारीको लागि विभिन्न मुलुकतर्फ गएका छन् । कोरोना महामारीको त्रास घटेसँगै यस वर्ष रोजगारीका लागि विदेशजानेको संख्या बढेको विभागले जनाएको छ ।

गत आर्थिक वर्षमा करिब डेढ लाखको हाराहारीमा नेपाली मात्र रोजगारीका लागि विदेश गएका थिए । भुसालका अनुसार जनगणना २०७८ को तथ्यांकलाई आधार मान्ने हो भने हाल २१ लाख नेपाली देशबाहिर छन् । जसमध्ये सबैभन्दा धेरै साउदी अरबियामा एक लाख ५० हजार नेपाली कार्यरत छन् ।

अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक

आर्थिक वर्ष २०७८÷७९ को सात महिनाको अवधिमा रेमिट्यान्स ४ दशमलव ९ प्रतिशतले घटेर ५ खर्ब ४० अर्ब १२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १० दशमलव ९ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष विदेशीको संख्यामा उल्लेख्य वृद्धि भएको छ । तर रेमिट्यान्स भने घटेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साता महिनाको अवधिमा चालू खाता ४ खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ घाटामा रहेको छ । त्यस्तै, शोधनान्तर स्थिति २ खर्ब ४७ अर्ब ३ करोड रुपैयाँले घाटामा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति माघ मसान्तमा ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ कायम भएको थियो । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको थियो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा माघ मसान्तमा १० खर्ब २४ अर्ब ६० करोड रुपैयाँ सञ्चिति रहेको थियो ।

के भन्छन् अर्थविद् ?

नेपालको अर्थतन्त्र चुनौतीको मोडमा पुगेको अर्थविद्हरू बताउँछन् । अर्थतन्त्रका मुख्य सूचकहरू नकारात्मक छन् । बैंकहरूसँग लगानीयोग्य रकमको अभाव, बढ्दो व्यापारघाटा, शोधनान्तर घाटा, सरकारी रकम खर्च हुन नसक्नु, रेमिट्यान्स आप्रवाह घट्दै गइरहेको कारण पनि अर्थतन्त्र संकटतर्फ धकेलिँदै गएको छ ।

अर्थविद् डा. चन्द्रमणि अधिकारी भन्छन्– ‘नेपालको अर्थतन्त्रका प्रमुख सूचकहरू नकारात्मक हुँदै गएका छन् ।’

विदेशी मुद्राको सञ्चिति घट्दै गएकोमा अधिकारी चिन्ता व्यक्त गर्छन् ।

‘यही गतिमा सञ्चिति घट्दै गएमा अबको पाँच÷सात महिनामा शून्यमा पुग्नेछ’, उनले भने, ‘व्यापारघाटा पनि बढ्दो छ । सरकारी खर्च हुन सकेको छैन । बैंकहरूसँग लगानी गर्ने रकमको अभाव छ । त्यसकारणले गर्दा हामीले सम्हालिएर हिँड्नुपर्ने अवस्था आएको छ ।’

यी कुराहरूलाई सुधार गर्दै लैजान उपयुक्त रणनीति अपनाएर सुल्झाउनुपर्ने उनको तर्क छ । अनावश्यक र विलासिता वस्तुतर्फ नेपालीहरूको आकर्षण बढिरहेको छ । यस्तो अवस्थामा अनावश्यक खर्चमा मितव्ययिता अपनाउनुपर्ने उनको सुझाव छ ।

नेपाल श्रीलंका बाटोमा गई नसकेको पनि उनले प्रस्ट्याए । तर अहिलेको अवस्थामा सम्हालिएनौँ भने नेपाल पनि त्यही बाटोमा नजाला भन्न सकिने अवस्था नरहेको उनले बताए ।

‘हाम्रो अर्थतन्त्रको चरित्र अलिक फरक छ । त्यसैले श्रीलंकाको जस्तो स्थितिमा पुगिसकेका छैनौँ तर संयमित भएनौँ भनेचाहिँ यसै भन्न सकिन्न’, उनले भने ।

वैदेशिक मुद्रामा किन कमी आयो ? विप्रेषण घट्नुको कारण के हो ? यी कुरा पत्ता लगाएर रेमिट्यान्स भित्र्याउन आवश्यक प्रोत्साहन दिएर त्यसलाई सहजीकरण गरेर विप्रेषण बैंकमार्फत नै आउने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

वैदेशिक लगानी प्रतिबद्धता आए पनि किन कार्यान्वयन भएनन् सो पत्ता लगाएर त्यसलाई भित्र्याउन पहल गर्नुपर्ने उनी बताउँछन् ।

अहिले मुलुकमा सरकारी रकम खर्च हुन नसक्दा पनि अर्थतन्त्रलाई प्रभाव पारेको बताउँदै सरकारी रकम खर्च गर्न सके त्यो पैसा बजारमा जाने, वैदेशिक प्रतिबद्धता पनि आउने र सरकारी खर्च बैंकहरूमा पनि पुग्ने हुँदा तरलता संकटलाई समेत टेवा पुग्ने उनको तर्क छ ।

अर्थतन्त्रलाई मजबुत बनाउन आयातलाई प्रतिस्थापन गर्ने खालको उपाय अपनाउनुपर्ने उनी बताउँछन् । नेपाल कृषिमा आधारित मुलुक भएकाले कृषिका लागि आवश्यक पर्ने वस्तु, औषधिजन्य सामग्रीलगायत अत्यावश्यक मात्र भित्र्याएर अनावश्यक वस्तुलाई प्रतिबन्ध लगाउन सकेमा अर्थतन्त्रलाई बिस्तारै गतिमा ल्याउन सकिने उनले बताए ।

संकटकै बेला गभर्नर निष्काशित

अर्थतन्त्र धरासायी अवस्थामा रहेको बेला सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निष्काशित गरेको छ । देशमा आर्थिक संकट सिर्जना हुनुमा गभर्नरको कमजोरी रहेको निष्कर्षमा निकाल्दै सरकारले गभर्नरलाई निलम्बन गरेको बताएको छ । देश आर्थिक संकटको बाटोमा धकेलिएको बेला राष्ट्र बैंक नेतृत्वविहीन हुँदा थप समस्यामा पर्ने विज्ञहरू बताउँछन् ।

अर्थतन्त्रलाई विद्यमान संकटको अवस्थाबाट सुधार गर्न पछिल्लो समय राष्ट्र बैंकले विभिन्न नीतिगत व्यवस्था गरिरहेको थियो । अर्थतन्त्रमा थोरै भए पनि सुधारका संकेतहरू देखिन थालेको बेला सरकारले उक्त कदम चालेको राजनीतिज्ञ र अर्थविदहरूले बताएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?