बाँसुरी बनाएरै महिनामा लाखभन्दा बढी कमाउँछन् प्रेम

एउटा राम्रो बाँसुरीवादक बन्ने सपना बुनेर शास्त्रीय बाँसुरीवादन सिक्न थालेका प्रेम मगरातीलाई अहिले बाँसुरी बनाउनै भ्याइनभ्याइ छ ।

उनलाई नेपालबाट मात्र नभई विदेशबाट समेत बाँसुरीको अर्डर आउँछ । तिनै आफ्ना ग्राहकहरुको मागलाई पूरा गर्न सुरीला बाँसुरी बनाउनु नै उनको दैनिकी बनेको छ ।

काठमाडौंबाट दक्षिणकालीतर्फ २० किलोमिटर बाटो हिँडेपछि फर्पिङ फुटबल ग्राउन्ड र बसपार्क आउँछ । फर्पिङ बसपार्कबाट दक्षिणकाली मन्दिरतर्फ जाँदा करिब १ सय ५० मिटरको दूरीमा उनको घर छ । त्यही घरमा बाँसुरी बनाइरहेको अवस्थामा भेटिन्छन् बाँसुरीवादक तथा उत्पादक प्रेम के मगराती ।

बसपार्कबाट बज्रयोगिनी मन्दिर जाने बाटोमै ‘प्रेम के फ्लुट एन्ड फ्लुट लेसन’ लेखेको उनको पसल पनि छ । घरमा नभएको बेला उनलाई भेट्न त्यही पसलमा गए हुन्छ । बाँसुरी बनाउने आधाजसो काम घरमा सकेरे फाइनल गर्न पसलमा लैजान्छन् ।

सानैदेखि सिर्जनशील उनी बाँसुरी बजाउन जति सिक्थे त्यति नै त्यसको बारेमा सोच्थे । हरेक समय केही नयाँ काम गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो उनलाई ।

१०–१२ वर्षको उमेरदेखि नै बाँसुरी बजाउँदै आएका मगरातीले एसएलसी सकेपछि २०५७ बाट बाँसुरीको औपचारिक कक्षा सुरु गरे । कमलादीको सुरसुधा संगीत विद्यालयमा वरिष्ठ बाँसुरीवादक जीवन आलेसँग ४ महिनाजति सिके ।

उनी कप्युटरको कक्षा पनि लिँदै थिए । त्यही समयमा सुरसुधा बन्द भएको खबर पाए । गुरुसँग पनि सम्पर्क हुन सकेन । अनि आफ्नो पढाइतिर ध्यान दिए ।

यसबीचमा पनि उनले बाँसुरी बजाउन भने छोडेनन् । पाँच/छ वर्ष घरमा आफैँ बजाउने अभ्यास गरिरहे । उनीभित्र रहेको बाँसुरी सिक्ने भोक झन् बढ्दै थियो । बुझ्दै जाँदा शास्त्रीय संगीत सिक्नुपर्छ जस्तो लाग्यो ।

‘बजाउने अभ्यास गर्दैगर्दा गुरुसँग सिक्नै पर्छ जस्तो लाग्यो’, उनले भने, ‘पछि फेरि ६२ सालबाट वरिष्ठ बाँसुरीवादक जीवन आलेसँग ६ वर्षसम्म शास्त्रीय संगीतको कक्षा लिए । त्यही क्रममा उनले इलाहावादबाट संगीत प्रभाकर समेत गरे ।

बाँसुरी बेचेरै महिनाको लाख आम्दानी

सुरुमा राम्रो बाँसुरीवादक बन्ने सपना लिएर आएको भए पनि मगराती बिस्तारै बाँसुरी बनाउनतिर ढल्किए । अहिले उनले यसैलाई व्यवसाय बनाएका छन् ।

‘शास्त्रीय संगीत सिकुन्जेल बाँसुरीवाधक हुन्छुजस्तो लागेको थियो, तर अहिले आएर पर्फमेन्समा भन्दा फ्लुट टिचिङ र मेकिङमा नै बिजी हुन्छु’, उनले भने ।

 

उनले बाँसुरी बनाउन कसैसँग सिकेका होइनन् । बजाउन सिक्ने क्रममा नेपालमा भनेजस्तो बाँसुरी पाइँदैन थियो । त्यही अभावलाई टाल्ने क्रममा सुरुमा उनले आफ्नै लागि मात्र बाँसुरी बनाउने प्रयास गरेका हुन् । तर बनाउँदै गर्दा गुरुको हौसला र साथीभाइहरुको सहयोगले आफूलाई थप ऊर्जा मिलेको उनी बताउँछन् ।

‘बाँसुरी बजाउन सिक्दै गर्दा भनेजस्तो बाँसुरी नेपालमा नपाएपछि सुरुमा उनले आफ्नै लागि बाँसुरी बनाएको थिएँ’, उनले भने, ‘तर मैले बनाएको बाँसुरी राम्रो हुनथालेपछि अरुले पनि माग्न थाल्नुभयो, गुरुको हौसला र साथीभाइको सहयोगले अनि ०६४/६५ पछि व्यावसायिकरुपमै उत्पादन गर्न थालेँ ।’

१५ वर्षदेखि व्यावसायिक रुपमा बाँसुरीको उत्पादन गर्दै आएका प्रेम कुमार मगराती यो पेसामा सन्तुष्ट छन् । बाँसुरी बजाएर स्टेजहरुमा बजाउने सपना यहीँबाटै पूरा भएको उनी बताउँछन् ।

सानो–ठूलो गरेर उनले अहिले २९ वटा आकारको बाँसुरी बनाउँछन् । सबैभन्दा सानो २४ सेमीदेखि ठूलो १ सय दुई सेमीसम्मका बाँसुरी छन् उनीसँग । आफूले बनाएको बाँसुरीलाई उनले ‘प्रेम के फ्लुट’ भनेर नाम पनि दिएका छन् ।

उनले बनाएका बाँसुरी अहिले नेपालमा मात्र नभएर विदेशमा पनि बिक्री हुन्छन् । उनीसँग अहिले १५ सय देखि २० हजारसम्म पर्ने बाँसुरी छन् । बाँसुरी बेचेरै महिनाको एक लाखको हाराहरीमा आम्दानी गर्नेगरेको उनले बताए ।

बाँसुरीमा हामी आत्मनिर्भर भइसक्यौँ

आफूले बाँसुरी सिक्दाका सुरुवाती दिन सम्झिँदा प्रेम मगरातीलाई नेपालमा भनेजस्तो बाँसुरी नपाइने समस्या ताजै लाग्छ । त्यो समय राम्रो बाँसुरीका लागि इन्डियाकै भर पर्नुपर्ने अवस्था थियो । तर अहिले त्यो समस्या टरेको उनको बुझाइ छ ।

‘पहिलाको जस्तो बाँसुरीकै लागि इन्डिया जानुपर्ने अवस्था छैन’, उनी भन्छन्, ‘क्वालिटीका हिसाबले पनि इन्डियन बाँसुरीसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छौँ हामी ।’

नेपालमा अरु पनि धेरैले बाँसुरीको व्यावसायिक उत्पादन गर्नेगरेको मगरातीले बताए । तर पनि बाँसुरी बनाउने बाँस भने आसामबाट ल्याउनु पर्दा कहिलेकाहीँ समस्या हुनेगरेको उनको अनुभव छ ।

सिकाउँदै पनि

काठमाडौँको दक्षिणकाली फर्पिङमा स्थायी घर भएका मगराती बाँसुरी बनाउने मात्र नभएर सिकाउँदै पनि आएका छन् । विभिन्न विद्यालय, बाल आश्रमदेखि घरमै पनि बाँसुरी सिकाउँदै आएको बताउँछन् उनी ।

‘त्यस्तो धेरै खत्रा त होइन, आफूले गुरुहरुबाट सिकेको र जानेको कुरा सिकाउँदै पनि आएको छु’ उनले भने, ‘नेपाली र विदेशी गरेर करिब ३ सयको हाराहारीलाई मैले बाँसुरी बजाउन सिकाएको छु ।’

गीतमा बजाउनेदेखि स्टेजसम्बन्धी सम्पूर्ण कार्यक्रमहरु काठमाडौं र सहरबजारमा हुने भएकाले पनि आफू स्थानीयस्तरमा सिकाउन र बनाउने काममा लागेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?