युद्धग्रस्त यमनमा शनिबारदेखि युद्धविराम गर्ने सहमति

लोकपथ
175
Shares

यमनका युद्धरत पक्षले शनिबार देखि पहिलो राष्ट्रव्यापी युद्धविरामका लागि आफ्नो हतियार बिसाउने सहमति गरेका छन् ।

ग्रीनविच समय अनुसार रमजानको पहिलो दिन दिउसो ४ः०० बजे लागू हुने गरी इरान समर्थित हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धन दुवैले दुई महिनाको सहमति पालना गर्न सहमत भएका छन् ।
यमनमा जारी लामो युद्धले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सयौं हजारको ज्यान लिएको छ र लाखौं लाई विस्थापित गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा विश्वकै सबैभन्दा खराब मानवीय संकट उत्पन्न भएको छ ।

पहिलेका युद्धविरामहरू निष्प्रभावी भएकाले यस सम्झौता पनि कतै उल्लङ्घन हुने हो कि भन्ने कतिपय विश्लेषकले अनुमान गरेका छन् ।

अप्रिल २०१६ मा शान्ति वार्ता अगाडिको राष्ट्रिय युद्धविराम लगभग तुरुन्तै उल्लङ्घन भयो र त्यस वर्षका शान्तिका अन्य प्रयासहरू पनि उल्लङ्गन भएका थिए । विश्वको सबैभन्दा गरिब अरब मुलुकको लागि जीवन रेखा, विद्रोहीले कब्जामा लिएको होडैडा बन्दरगाह वरिपरि शत्रुता रोक्ने सन् २०१८ को सम्झौतालाई पनि धेरै हदसम्म उपेक्षा गरिएको थियो ।

“यसपटक म आशावादी छु,” होडैडास्थित एक निजी संस्थामा काम गर्ने अस्मा जायदको भनाइ छ ।

“रमजानसँग आउने तथ्यले हामीलाई धेरै आशा दिन्छ । म १५ वर्षको छँदादेखि नै यो युद्ध सुरु भयो र मेरा सबै सपनाहरू केबल सपनामा सीमित भए ।”

यस सम्झौताअन्तर्गत यमन र यसको सिमाना पार गर्ने सबै जमीन, हवाई तथा समुद्री सैनिक परिचालन रोकिने यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्डबर्गले आफ्नो बताए ।

सम्झौता अन्तर्गत होडैडा बन्दरगाहमा इन्धन बोक्ने जहाजहरूलाई आवातजावतका लागि अनुमति दिइनेछ भने र हुथी नियन्त्रित क्षेत्र राजधानी सानाको विमानस्थलबाट निश्चित क्षेत्रीय गन्तव्यमा पुनः व्यावसायिक उडानहरू आरम्भ गरिनेछ । शान्तिवार्ताका लागि दुवै पक्षले अघि सारेका प्रमुख मागमा सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?