स्थानीय निर्वाचन : आयोग तयारीलाई तीव्रता दिँदै

धनगढी । निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनको तयारी तीव्र बनाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालयले तयारी अघि बढाएको हो ।

सरकारले निर्वाचनको मिति तोकेदेखि नै निर्वाचन कार्यालयले आवश्यक कार्य अघि बढाइसकेको छ ।

प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले हालसम्म लगभग ५० प्रतिशत कार्य पूरा भइसकेको जानकारी दिए ।

निमित्त प्रमुख भट्टका अनुसार हालसम्म मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन केन्द्रको टुंगो लगाउने, निर्वाचन अधिकृत टुंगो लगाउने कार्य भइरहेका छन् ।

उनले भने, ‘अब हामी निर्वाचन अधिकृतहरूलाई तालिम प्रदान गर्नेतर्फ लागेका छौँ ।’

तालिमपछि निर्वाचन अधिकृतहरूलाई खटाइएको पालिकामा कार्यालय खोलेर बैशाख ११ र १२ गते उम्मेदवारको मनोनयनपत्र दाखिला कार्य सुरु गर्ने उनले बताए ।

त्यसैगरी, हाल निर्वाचनमा खटिने कर्मचारीहरूको विवरण टुंगो लगाउने कार्य भइरहेको आयोगले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशमा आसन्न स्थानीय तह निर्वाचनमा मतदाताको संख्या १६ लाख ३२ हजार एक सय ५० पुगेको छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा प्रदेशमा १३ लाख बढी मतदाता रहेका थिए । पाँच वर्षको अवधिमा करिब तीन लाख नयाँ मतदाता थपिएका छन् ।

प्रदेशमा महिला मतदाताको संख्या पुरुषको भन्दा अधिक रहेको जनाइएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा हाल महिला मतदाताको संख्या आठ लाख ३१ हजार चार सय ७० रहेको छ । त्यसैगरी, पुरुष मतदाता संख्या आठ लाख छ सय ६२ र अन्य मतदाता १८ जना रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या ३० हजार ८०८ ले अधिक रहेको छ । सुदूरपश्चिम प्रदेशमा दुई हजार एक सय तीनवटा मतदान केन्द्र तोकिएको छ ।

कैलालीमा ६५ हजार मतदाता बढे

पछिल्लो स्थानीय निर्वाचनको तुलनामा कैलालीमा हाल ६५ हजार एक सय ६५ मतदाता बढेका छन् । स्थानीय तहको अघिल्लो निर्वाचनमा कैलालीमा चार लाख ६० हजार मतदाता रहेका थिए । अहिले कैलालीको मतदाता संख्या बढेर पाँच लाख २५ हजार एक सय २५ पुगेको छ ।

कैलालीमा महिला मतदाताको संख्या दुई लाख ७९ हजार १० र पुरुष मतदाता संख्या दुई लाख ५६ हजार एक सय चार रहेको छ भने अन्य मतदाता संख्या ११ रहेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार एक सय ५१ मतदाता रहेका छन् ।

त्यस्तै गोदावरी नगरपालिकामा ५५ हजार ४ सय ९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९ सय ४६, टीकापुर नगरपालिकामा ५२ हजार ८ सय ६२, घोडाघोडीमा ५२ हजार ४०, गौरीगंगा नगरपालिकामा ४० हजार १८ मतदाता रहेका छन् ।

त्यसैगरी कैलारी गाउँपालिकामा ३६ हजार ७ सय ३५, जानकी गाउँपालिकामा ३५ हजार ४ सय ६, भजनी नगरपालिकामा ३३ हजार ९ सय ३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४ सय ४६ मतदाता रहेका छन् ।

यस्तै बर्दगोरिया गाउँपालिकामा २२ हजार १ सय ८१, मोहन्यालमा ११ हजार ९ सय ८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९ सय २३ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

कैलालीमा जम्मा ६ सय १९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । गोदावरीमा ६७, गौरीगंगामा ४३, घोडाघोडीमा ६०, चुरेमा २०, जानकीमा ४३, टीकापुरमा ५७, धनगढीमा १ सय ४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी बर्दगोरियामा २५, भजनीमा ४३, लम्कीचुहामा ६१, मोहन्यालमा १८ र कैलारीमा ४७ वटा मतदान केन्द्र निर्धारण भएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

कैलालीमा निर्वाचनमा खटिने जनशक्तिको विवरण तयार पार्ने कार्य भइरहेको छ । जिल्लाभरि सरकारी सेवामा छ हजार ९ सय ३४ जना कार्यरत छन् । निर्वाचनका लागि चार हजार दुई सय जनशक्ति आवश्यक पर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?