युद्धको घाउमा सपूतको ‘पिर’

यतिबेला प्रकाश सपूतको ‘पिर’ले देशमा नै हलचल ल्याएको छ । माओवादीको १० वर्षे जनयुद्धका सपना र त्यसले छोडेका घाउलाई गायक प्रकाश सपूतले कोट्ट्याइदिएपछि नेपाली सामाजिक सञ्जाल, मिडियादेखि राजनीतिक वृत्तमा समेत तरङ्ग फैलिएको छ ।

सपूतको पिर र यो तरङ्गले फेरि एक पटक साहित्य र संगीतको शक्ति कतिसम्म हुन सक्छ भनेर देखाइदिएको छ । सामान्य व्यक्तिदेखि राजनीतिक दल र मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मले यसलाई बहसको विषय बनाएर आफ्नो धारणा राखेका छन् ।

प्रकाश सपूत अहिले मात्र चर्चामा आएका नभएर यसअघि नै पाँचवटा लोकप्रिय गीत दिसकेका गायक हुन् । ‘बोल माया’देखि ‘पिर’सम्म आइपुग्दा उनका गीतले उत्तिकै चर्चा र हलचल ल्याएका छन् ।

त्यतिबेला पनि भाका चोरेका देखि अनेकौँ आरोप खप्दै आएका सपूतलाई पिरबाट भने अलि धेरै पिरोलिनुपर्‍यो छ । युट्युबबाट गीत हटाउन दबाबदेखि खुला राजनीतिमा आएर प्रतिस्पर्धा गर्न समेतका चुनौती आएका छन् ।

पक्कै पनि सपूतले सामान्य विषयलाई बाहिर ल्याएका होइनन् । वर्गीय मुक्तिका लागि भन्दै १० वर्षसम्म भूमिगत लडाइँ लडेर आएको नेकपा माओवादी पटक–पटक सत्तामा पुगिसक्यो ।

नेतृत्व तहमा पुगेकाहरू ठूला–ठूला महलमा पाँचतारेको स्वाद चाख्दै भोगविलासको जिन्दगीमा मस्त छन् । तर सत्ताको स्वाद र मोहले आफ्नो विगत बिर्सेनन् मात्र होइन आफूलाई त्यहाँसम्म पुर्‍याउने १४ हजार सहिदको सपना समेत कुल्चिए । युद्धका घाउहरू बोकेर मरेतुल्य जीवन बाँचिरहेका हजारौँ घाइते र अयोग्य ठहरिएका लडाकुहरूलाई कहिल्यै सम्झेनन् ।

आफ्नो ऊर्जाशील समय र शक्ति माओवादी युद्धलाई दिएका अधिकांश कार्यकर्ताहरू लङ्गडो भएर बाँच्न बाध्य छन् । पढ्ने र विभिन्न सीप सिकेर भविष्य कोर्ने समय माओवादी क्रान्तिका गीतमा जुत्ता बजार्दै मृत्युसँग लड्न हिँडेका उनीहरूको जीवनमा यतिबेला निराशा र पश्चात्तापबाहेक केही देखिँदैन ।

पिरमा यही कुरा देखाएका हुन् सपूतले । तर वर्षौँदेखि यो पीडालाई लत्याउँदै हिँडेका माओवादी नेता र कार्यकर्तालाई सत्य पचेन । अझ उनीहरू त सत्य नै मेट्न लागिपरे । आफ्ना कमजोरी छोप्न धम्की समेतका भाषा बोल्न पछि परेनन् ।

यो त उनीहरूका लागि पनि ठूलो शिक्षा थियो, जो अझै पनि नेताको एक वचनमा ज्यान फाल्न सडकमा उत्रिन्छन् । जो वर्षौँसम्म आफ्नो ऊर्जा तिनै नेता र नेतृत्वको स्वार्थका पछाडि खेर फालिरहेका छन् । जो आफ्नो परिवार र कलिला नानीबाबुका सपनामा नेताका भाषणको बिस्कुन सुकाइरहेका छन् । तर सत्य पचेन ।

सपूतको यो गीत गीत मात्र नभएर एउटा ठूलो अभियानको ऐना हो । १४ हजार सहिदको रगत, खेर गएका हजारौँका जवानीको टुक्रिएको हृदय हो । भेदभाव र गरिबीले थिचिएका लाखौँ सपनाको प्रतिबिम्ब हो र रित्तिएका कोख अनि सिन्दुरसँगै पुछिएका कलिला भविष्यको दस्ताबेज पनि ।

यो कुरा त नेकपा माओवादीले एक पटक मात्र होइन बारबार सम्झनुपर्थ्यो । उनीहरूलाई नै सम्झिएर बिहानीको थालनी हुनुपर्थ्यो, जसले उनीहरूलाई जीवनको सुनौलो सगरमाथाको स्वाद चखाएका थिए । तर हुँदै भएन । आफैँले टेकेको खुट्टा पनि कसैले सम्झाइदिनुपर्‍यो ।

गीतले माओवादी युद्धका घाउ मात्र नभएर खोलो तरेपछि लौरो बिर्सिने प्रवृत्तिलाई समेत व्यङ्ग्य गरेको छ । देशका लागि लडेकाहरूलाई अनेकौँ दुःख पर्दा पनि मुख बङ्ग्याएर हिँड्ने नेपाली नेपाली राजनीतिको प्रवृत्तिलाई औँल्याएको छ ।

गीतमा प्रयोग भएका प्रत्यक शब्द मन छुने भए पनि दृश्यपक्ष झनै बलियो बनेको छ । सानोभन्दा सानो कुरालाई पनि दृश्यमा राम्ररी केलाइएको देख्न सकिन्छ । भिडियोमा थुप्रै ठाउँमा मन भकानिन्छ । आँशु झर्छन् । हामी सामान्य दर्शकलाई त त्यो अवस्थामा पुर्‍याउने गीतले युद्धको घाउ नै बोकेर वर्षौँदेखि पिल्सिएकाहरूलाई कहाँ पुर्‍यायो होला ?

आफ्नो ऊर्जाशील समय पार्टीको लागि दिएका अधिकांशलाई परिवार पाल्ने समस्याले पिरोलेको छ । सीप नहुँदा भनेजस्तो काम नपाएपछि धेरै परदेशिन बाध्य छन् भने कतिपय समाजले तल्लो स्तरको ठानेको काम गर्नदेखि देहव्यापार गर्न समेत बाध्य भएको कुरा गीतमा देखाइएको छ । पात्र फरक भए पनि घटना सबै यथार्थ भएको कुरा सपूतले बताइसकेका पनि छन् ।

परदेशीएकी श्रीमतीले तीन महिनासम्म सम्पर्क नगर्दा पिरको भारी बोकेर हिँडेका पात्रलाई झन् ठूलो बज्र पर्छ जहाँ परिवर्तनका लागि ज्यानकै दाउ लगाएर सँगै युद्ध लडेकी युवती शरीर नै बेच्ने अवस्थामा भेटिन्छिन् ।

राज्य भएर पनि गरिब जनताका लागि राज्यविहीनताको अवस्था भएको भाव गीतमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । नेता र टाठाबाठाहरूकै हालिमुहाली हुँदा जनताले दुःख पाउनुपरेको छ । सोझा र गरिब जनताका लागि देश पनि केवल चार किल्लाको माटो मात्र भएको र त्यो पनि टाठाबाठाको मात्रै भएको तितो सत्य गीतका पात्रले सानी छोरीलाई बताएका छन् ।

गीत सामान्य हुँदै होइन । विषयवस्तु उठानदेखि प्रस्तुति समेतमा गहिराइ भएकाले नै यति धेरै चर्चा पायो । जसलाई जहाँ छुनु थियो मज्जाले नै छोएको छ । जहाँ घोच्नु थियो मज्जाले नै घोचेको छ । बाहिर विरोध र समर्थनका जति धेरै आवाज आए यी सबै गीतको सफलताका उपज र नतिजा हुन् ।

हरेक सिर्जनाले एउटा भाव र उद्देश्य बोकेका हुन्छन् । त्यो भाव दर्शक र श्रोतामा पुग्नु र त्यसले प्रतिक्रिया दिनु नै त्यो सिर्जनाको सफलता हो । त्यसैले स्याबासीसँगै गीत हटाउन धम्की आउनु पनि गीतको सफलता हो । पिरबाट सपूत सफल भइसके ।

भिडियाे हेर्नुहाेस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?