रसुवागढी नाकाबाट आयात बढाउन चिनियाँ पक्ष सहमत

लोकपथ
105
Shares

रसुवा । रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणका कारण घट्दै आएको आयात वृद्धि गराई नेपाली बजारको माग पूरा गराउन नेपालका तर्फबाट भएको प्रयास फलदायी भएको छ । नौ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताएका छन् ।

चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि यहाँका व्यापारी र व्यवसायीलगायत सबैमा उत्साह बढेको छ । कोरोना सङ्क्रमणपश्चात् सीमाक्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भएपनि चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन वटा ठूला कन्टेनरबाट आयात सुरू गरेको थियो ।

अहिले दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनरमार्फत व्यवसायी सामग्रीसहित रसुवागढी आउन थालेपछि यताका २८ वटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने आशा पलाएको व्यवसायीले बताएका छन् । पहिलो चरणको कोरोना मन्थर भएपश्चात् पहिलो चरणमा तीन, छ हुँदै नौवटा कन्टेनरद्वारा सामग्री आयात भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?