लमजुङको सिउँडीबार क्षेत्रमा बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु

लोकपथ
966
Shares

लमजुङ । स्थानीय प्रशासनले लमजुङको सिउँडीबार क्षेत्रमा आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

सुन्दरबजार नगरपालिका-९ को सिउँडीबारस्थित फ्युचरस्टार आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सनिज श्रेष्ठको पौडी खेल्ने क्रममा मगलबार दिउँसो मर्स्याङदी नदीमा डुबेर ज्यान गएपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालसम्मका लागि कर्फ्यु जारी गरेको हो ।

छात्राबासका वार्डेनले मंगलबार विद्यार्थीलाई नदीमा पौडी खेल्न लगेका थिए । तर, पौडी खेल्ने क्रममा कक्षा १० मा अध्ययन श्रेष्ठको निधन भएपछि आफन्तले फ्युचरस्टार स्कुलको गेट तोडफोड गरेका थिए । उनीहरूले २ वटा स्कुल बस , गाडी र भ्यान तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु जारी गर्नुपरेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचनामा भनिएको छ, कर्फ्युको क्षेत्र सुन्दरबजार नगरपालिका-७ को पूर्वदक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङदी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका-९ को मध्यमर्स्याङदी जलविद्युत आयोजना केन्द्रको विद्युत केन्द्रको आवास क्षेत्रको गेटअगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्लाभित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गरिएको छ ।

मृतकका आफन्तले विद्यालयका संस्थापक बाबुराम पौडेल र विद्यार्थीलाई पौडी खेल्न लैजाने शिक्षकलाई कारबाहीको माग गरेका छन् । तनहुँको भानु नगरपालिका-९, बाइसजाँगरका श्रेष्ठ होस्टेलमा बसेर पढ्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?