कैलालीमा लागुऔषधको कारोबारमा अचाक्ली वृद्धि

लोकपथ
84
Shares

धनगढी । कैलाली, चुरे गाउँपालिका–५ लिसबेलीका आइते जाग्रीलाई करिब १३ केजी अवैध लागुऔषध (चरेश) सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ ग-यो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोस्ट खानीडाँडाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घरबाट सो लागुपदार्थसहित आइतेलाई पक्राउ गरेको थियो ।

कैलालीकै धनगढी उपमहानगरपालिका–३ मिलनचोक प्रगतिटोलस्थित प्रेमा चौधरीको डेरा कोठाबाट तीन ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित वडा नम्बर २ सन्तोषीटोलका ३१ वर्षीय मनोज जोशीलाई बिहीबार नै राति प्रहरीले पक्राउ ग¥यो ।

मनोजको साथमा लागुऔषध रहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरीले उनलाई सो लागुऔषधसहित पक्राउ गरेको थियो ।

कैलालीकै धनगढी उपमहानगरपालिका–१९ फूलबारीबाट सोही वडाको पच्चीसघरका २२ वर्षीय टाइसन कुश्मी चौधरीलाई एक सय ८० मिलिग्राम खैरो हेरोइनसहित शनिबार साँझ प्रहरीले पक्राउ ग¥यो ।

बहुलिया सिमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा टाइसन कुश्मीको साथबाट सो लागुऔषध फेला परेको थियो ।

यसैगरी कैलालीको गौरीगंगा नगरपालिका–४ का २६ वर्षीया देउमती साउदलाई गत २ गते (आइतबार) लागुऔषध चरेशसहित पक्राउ ग-यो । प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्कबाट १२ ग्राम चरेशसहित पक्राउ गरेको थियो ।

कैलाली प्रहरीले चालू आर्थिक वर्ष २०७८÷७९ को छ महिनामा लागुऔषध सेवन तथा ओसारपसारमा संलग्न एक सय दुई जनालाई पक्राउ गरिसकेको छ । कैलाली प्रहरीको तथ्यांकअनुसार यस अवधिमा गाँजा, चरेस, ब्राउनसुगर, नाइट्रोभेट, स्पास्मोप्रक्सोमन, फेनार्गन, ट्रमाडोल, कोरेक्सलगायतका लागुऔषध दुव्र्यसनीका ८२ वटा मुद्दा दर्ता भएको जनाएको छ ।

कैलालीमा लागुपदार्थ ब्राउनसुगर ओसारपसार तथा सेवनमा महिलाको पनि संलग्नता रहेको पाइएको छ । प्रहरी कार्यालय, कैलालीको तथ्यांकअनुसार लागुऔषधका दर्ता भएका ८२ वटा मुद्दामध्ये छवटा मुद्दामा महिलाको पनि संलग्नता रहेको पाइएको छ ।

‘लागुपदार्थ ओसारपसारमा महिलाको संलग्नता पनि बढ्दै जानुले नियन्त्रणमा थप चुनौती देखिन्छ’, कैलाली प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विश्व अधिकारीले भने, ‘महिलाहरूले आफनो संवेदनशील अंगमा लागुपदार्थ लुकाइछिपाइ ओसारपसार गरिरहेको पाइएको छ । भारतसँग जोडिएको खुला नाकाका कारण महिलाहरूको चेकजाँच गर्न हामीसँग आवश्यकताअनुसार महिला प्रहरी जनशक्ति पनि छैन । त्यसैले नियन्त्रण तथा रोकथाममा थप चुनौती भइरहेको छ ।

कैलालीमा आर्थिक वर्ष २०७४÷७५ मा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका ७१ वटा लागुऔषधसम्बन्धी मुद्दामा एक सय आठ जनालाई पक्राउ गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएका ८७ मुद्दामा एक सय १७ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांक उल्लेख छ ।

त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा दर्ता भएका ९८ मुद्दामा एक सय ६१ जना पक्राउ परेका थिए । भने गत आर्थिक वर्ष २०७७/०७८ मा लागुऔषधका ९१ मुद्दा दर्ता भएका थिए । ती घटनामा एक सय ३२ जना पक्राउ गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

सहरी क्षेत्रमा लागुऔषध सेवनकर्ताको संख्या अधिक
सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसहित पहाडी सात जिल्लामा पनि लागुपदार्थ ओसारपसार तथा सेवनकर्ता बढ्दै गएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरीले गरेको एक अनुसन्धानअनुसार सहरी क्षेत्रमा लागुपदार्थ दुव्र्यशनीको संख्या अधिक रहेको छ ।

पछिल्लो छ महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशभरि दुई सय ५२ जना लागुऔषध दुव्र्यशनी पक्राउ परेका छन् । यीमध्ये कैलालीमा एक सय दुई जना दुव्र्यशनी पक्राउ परेका छन्् भने कञ्चनपुरमा एक सय ३१ जना पक्राउ परेका छन् ।

त्यस्तै, प्रदेशको डोटीमा एक, दार्चुलामा चार, डँडेल्धुरामा तीन, बाजुरामा छ र बझाङमा पाँच जना पक्राउ परेका छन् ।

प्रहरीको तथ्यांकअनुसार पक्राउ पर्नेमा नौ जना महिला रहेका छन् । प्रदेशमा लागुऔषध ओसारपसार तथा दुव्र्यशनमा २० देखि २९ उमेरसमूहका महिला तथा पुरुषको संख्या अधिक रहेको अध्ययनले देखाएको छ ।

पछिल्लो छ महिनाको अवधिमा लागुऔषध ओसारपसार र दुव्र्यशनका घटनामा २० देखि २९ उमेरसमूहका एक सय ६३ जना पक्राउ परेका छन्् ।

त्यस्तै, लागुऔषध दुव्र्यशनमा लिप्त रहेका ३० देखि ३९ वर्ष उमेरसमूहका ५३ जना ४० वर्ष उमेरमाथिका १९ जना रहेका छन्् भने १० देखि १९ वर्ष उमेरसमूहका १८ जना रहेका छन् ।

लागुऔषध दुव्र्यशनीहरू अधिकांश किसान परिवारका

प्रहरी अनुसन्धानले भन्छ, लागुऔषध सेवन तथा ओसारपसारमा पक्राउ परेका अधिकांश दुव्र्यशनीहरू कृषि पेसामा रहेका परिवारका सदस्य रहेका छन्् ।

लागुऔषध दुव्र्यशनका घटनामा प्रहरीले पक्राउ गरेका अभियुक्तहरूमध्ये दुई सय १४ जनाको परिवार कृषि पेसामा संलग्न छन् ।

त्यस्तै, २२ जनाका अभिभावकको पेशा व्यापार र १४ जनाको अभिभावकको पेसा जागिर रहेको छ । कैलाली प्रहरीप्रमुख एसपी अधिकारी भन्छन्, ‘कृषि पेसामा रहेका अभिभावकहरू खेतबारीमै व्यस्त हुन्छन् । छोराछोरीले के गरिरहेका छन् ? कता गइरहेका छन् ? भन्नेबारे ध्यान दिने समय हुँदैन । त्यसैले कृषि पेसामा संलग्न भएका अभिभावकका सन्तान बढी कुलतमा फस्ने गरेका छन् ।

उनले छोराछोरीलाई लागुऔषधमा संलग्न हुन नदिन अभिभावकको मुख्य जिम्मेवारी रहने बताए । ‘आफनो छोराछोरीलाई कुलतमा फस्न नदिन अभिभावकहरूकै प्रमुख जिम्मेवारी हो । उनीहरू के गरिरहेका छन् । उनीहरूको संगत कस्तो छ भन्नेबारे अभिभावकहरूले निगरानी गरिरहनुपर्छ ।’

अनपढभन्दा पढेलेखेका दुव्र्यशनी अधिक

लागुऔषध दुव्र्यशनीमा पढेलेखेका पुरुष तथा महिलाको संलग्नता बढी रहेको प्रहरी अध्ययनले देखाएको छ । पछिल्लो छ महिनामा प्रदेशभरिमा दुई सय ५२ जना लागुऔषध दुव्र्यशनीमा पक्राउ परेकामध्ये अधिकांश पढेलेखेका व्यक्तिहरूको संलग्नता रहेको छ ।

प्रहरीका अनुसार लागुऔषध दुव्र्यशनीमा ३० जना अनपढ व्यक्तिहरू पक्राउ परेका छन् । सो अध्ययनअनुसार सबैभन्दा बढी कक्षा दशसम्म अध्ययन गरेका युवा तथा युवती बढी पक्राउ परेका छन् । प्रहरी तथ्यांकअनुसार कक्षा दशसम्म पढेका एक सय १३ जना पक्राउ परेका छन् । कक्षा १० देखि १२ सम्म अध्ययन गरेका ९२ जना रहेका छन् भने सोभन्दा माथिका १८ जना रहेका छन् ।

प्रहरी प्रमुख अधिकारी भन्छन्, ‘एसएलसी पास गरिसकेका युवाहरू बढी कुलतमा फस्ने सम्भावना बढी रहन्छ । यस्तो अवस्थामा अभिभावहरूले उसलाई कुनै न कुन काम गराएर व्यस्त बनाएमा कुलतमा फस्नबाट सन्तानलाई जोगाउन सकिन्छ ।’

उनले खुला नाकाका कारण लागुपदार्थ ओसारपसार नियन्त्रणमा चुनौति रहेको बताए । ‘कैलाली र कञ्चनपुर खुल्ला नाका भएको जिल्ला हो । यही कारण ओसारपसार नियन्त्रणमा चुनौती रहेको छ । हामीसँग खुला नाकामा चेकजाँच गर्ने जनशक्तिको पनि कमी छ’, उनले भने, ‘लागुऔषधको सेवन तथा ओसार पसारमा कमी ल्याउन विद्यालयदेखि प्रदेशभरि नै जनचेतनाका कार्यक्रम अघि बढाउनुपर्नेछ । यसका साथै जनप्रतिनिधि, राजनीतिक दल, संघ÷संस्था, नागरिक समाजले पनि आ–आफ्नो भूमिका निर्वाह गर्दा यसमा कमी ल्याउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?