सुदूरपश्चिममा जबरजस्ती करणीविरुद्धका उजुरी बढ्न थाले

धनगढी । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन १७ गते धनगढी उपमहानगरपालिका–३ का २५ वर्षीय जयचन्द शर्मालाई गिरफ्तार गर्‍यो ।

छोरीलाई फागुन १६ गते बलात्कार गरेको भन्ने थाहा पाएपछि पीडितका बुबाले आरोपित शर्माविरुद्ध जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दर्ता गराएका थिए ।

बाजुरामा एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन ११ गते बुढीनन्दा नगरपालिका–७ लमालबाडाका १९ वर्षीय धनबहादुर रावतलाई पक्राउ गर्‍यो । पीडित किशोरीका बुबाले जिल्ला प्रहरी कार्यालय, बाजुरामा दिएको निवेदनअनुसार घरमा कोही नभएको समयमा धनबहादुरले ती किशोरीलाई बलात्कार गरेको थियो ।

दार्चुलाको नौगाड गाउँपालिका–१ का १९ वर्षीय शेरबहादुर ठगुन्नालाई फागुन १ गते प्रहरीले पक्राउ गर्‍यो । उनीमाथि एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपसहित प्रहरी कार्यालयमा निवेदन दर्ता भएको थियो ।

पीडित बालिकाले फागुन १ गते नै प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले आरोपित शेरबहादुरलाई गिरफ्तार गरेर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । ‘पीडित बालिकासँग विवाह गर्छु भन्दै आरोपित शेरबहादुरले शारीरिक सम्बन्ध राखेर गर्भवती बनाएको र पछिल्लो समयमा स्वीकार नगरी पन्छिन खोजेपछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार प्रदेशका विभिन्न जिल्लामा जबरजस्ती करणी तथा उद्योग र बलात्कारपछि हत्याका घटनामा कमी आउन सकेको छैन । प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८–०७९ को पहिलो छ महिनाको अवधिमा प्रदेशमा जबरजस्ती करणीका एक सय १४ मुद्दा दर्ता भएका छन् भने जबरजस्ती करणी उद्योगका ५९ मुद्दा दर्ता भएका छन् ।

गत आर्थिक वर्ष २०७७–७८ मा सुदूरपश्चिम प्रदेशमा जबरजस्ती करणीका दुई सय २५ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा प्रदेशमा जबरजस्ती करणी उद्योगका ८९ मुद्दा दर्ता भएका थिए । त्यस्तै, बलात्कारपछि हत्याका तीन र गर्भपतनका दुईवटा मुद्दा दर्ता भएका थिए ।

अघिल्लो आर्थिक वर्ष २०७६–०७७ मा प्रदेशमा जबरजस्ती करणीका दुई सय १२ तथा जबरजस्ती करणी उद्योगका ८९ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै, बलात्कारपछि हत्याका एक र गर्भपतनको चार मुद्दा दर्ता भएका थिए ।

प्रदेशमा बलात्कार (जबरजस्ती करणी) सँगै मानव बेचविखन तथा जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धक, तेजाव प्रयोग गरी अंगभंग, बाल यौन दुरुपयोगलगायतका हिंसाका घटनामा पनि लगातार वृद्धि आइरहेको तथ्यांकले देखाएको छ ।

चालू आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशमा मावन बेचबिखनका दुई, मानव बेचबिखन तथा जबरजस्ती करणीका चार, अपहरण तथा शरीर बन्धकका दुई र बाल यौन दुरुपयोगका पाँचवटा मुद्दा दर्ता भएका छन् ।

गत आर्थिक वर्ष २०७७–७८ मा मानव बेचबिखनका १४, बेचबिखन तथा जबरजस्ती करणीका ११, अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणीका १०, अपहरण तथा शरीर बन्धकका दुई, तेजाव प्रयोग गरी अंगभंगका दुई र बाल यौन दुरुपयोगका १९ वटा मुद्दा दर्ता भएका थिए ।

‘यौनजन्य हिंसाका घटनाहरूमा ८२ दशमलव ८९ प्रतिशत अभियुक्तहरू पीडितका चिनजानका रहेको पाइन्छ भने यौनजन्य हिंसामा पीडितमध्ये बालिकाको संख्या ६३ दशमलव ७६ प्रतिशत रहेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख (प्रहरी उपरीक्षक) विश्व अधिकारीले भने, ‘अधिकांश लैङ्गिक हिंसाका घटनामा तुलनात्मकरुपमा कम शैक्षिक योग्यता भएका वर्ग बढी पीडित र पीडक रहेको पाइएको छ ।’

खुला सीमा, लागुऔषध तथा मदिरा सेवन बलात्कारको प्रमुख कारण रहेको प्रहरीको निष्कर्ष रहेको छ ।

‘खुला सिमाना भएका कारण अत्यधिक मात्रामा सहजरूपले लागुऔषध आयात, खुले आम मदिरा बिक्रीवितरणलगायतले प्रदेशमा बलात्कारलगायतका आपराधिक क्रियाकलापहरू बढ्दै गएका छन्’, उनले भने ।

उनले प्रदेशमा अशिक्षा, गरिबीको संख्या समेत अत्याधिक रहेका कारण पनि बलात्कारलगायत जघन्य अपराधहरू बढेको बताए । आधुनिक संस्कृतिको प्रभाव तथा सञ्चारका माध्यमहरू (टेलिभिजन, मोबाइल, इन्टरनेट)को दुरुपयोगले पनि महिला हिंसाका अपराधहरूमा दिनानुदिन बढ्दै गएको उनले बताए । उनले कानुनको जानकारीको अभाव, लैङ्गिक प्राथमिकता, सामाजिक मान्यता, आर्थिक परनिर्भरता, शिक्षा र रोजगारीमा महिलाको न्यून पहुँच, नीति, निर्माण, सञ्चार, कानुनी क्षेत्रमा महिलाको न्यून प्रतिनिधित्वलगायतका कारण पनि महिला हिंसाका घटना बढी रहेको उनले बताए ।

उनले स्कुल सम्पर्क, पर्चा पम्पलेट वितरण, गाउँका खुला स्थानमा अन्तरक्रिया, महिनामा मुद्दा चल्ने इकाइमा कार्यरत प्रहरी कर्मचारीलाई सरकारी वकिलले अनुसन्धान तथा अभियोजनसम्बन्धी अनुशिक्षण गर्ने, फोरेन्सिक ल्याबबाट संकलन, प्याकेजिङलगायतका बारेमा अनुशिक्षणलगायतका गतिविधि अघि बढाउनुपर्ने बताए ।

आज ११२औँ नारी दिवस

आज मार्च ८ तारिख अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ ।

आज संसारभरि नै विभिन्न कार्यक्रम गरी ११२ औँ नारी दिवस मनाइँदै छ । संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले सन् १९०८ को महिला कपडा तथा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरी १९०९ मा पहिलो पटक नारी दिवसको आयोजना गरेको थियो ।

सन् १९१७ मा रसियाको महिलाहरूले महिला दिवसमा गाँस र कपासको लागि हड्तालमा जाने निर्णय गरे । त्यतिबेला रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो तर बाँकी धेरैजसो देशहरूमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो । जुलियन क्यालेन्डरअनुसार सन् १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरीमा पर्थ्याे तर ग्रेगेरियन क्यालेन्डरअनुसार त्यस दिन ८ मार्च पर्न आउथ्यो । धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलनमा रहेकोले ८ मार्चलाई महिला दिवसको रुपमा मनाउन थालिएको हो ।

नेपालमा भने विसं २०१६ सालदेखि यो दिवस मनाउन सुरु गरिएको हो । यस पटकको महिला दिवस ‘सााजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने मूल नाराका साथ मनाइँदै छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सूचना जारी गर्दै दिवसलाई साझा अभियानका रुपमा मनाउन आग्रह गरेको छ । ‘महिलाहरूको आर्थिक सामाजिक तथा व्यवस्थापकीय रुपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्ने उद्देश्यले संघीय सरकारका सबै निकायहरू, सातवटै प्रदेश सरकार, जिल्ला समन्वय समिति महासंघ, नगरपालिका महासंघ, गाउँपालिका महासंघ, ७७ वटै जिल्ला समन्वय समिति, सात सय ५३ स्थानीय तह एवं त्यसका वडाहरू, नागरिक समाज, सामाजिक शैक्षिक तथा निजी संघसंस्थाहरू तथा सबै सरोकारवाला निकायहरूलाई दिवस भव्य, सभ्य र व्यवस्थित रुपले मनाउन आह्वान गरिन्छ’, मन्त्रालयले आह्वान गरेको पत्रमा भनिएको छ ।

यस्तै दिवसको पूर्वसन्ध्यामा कञ्चनपुरको भीमदत्त नगरपालिकामा ४० जना किशोरीलाई साइकल वितरण गरिएको छ । नगरपालिकाले विभिन्न संघसंस्थाहरूको सहकार्यमा नगर क्षेत्रभित्रका ८ वटा विद्यालयमा अध्ययनरत गरिब, विपन्न, दलित तथा जेहनदार ४० जना किशोरीहरूलाई साइकल वितरण गरेको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।

नगरपालिकाले विद्यालयहरूसँग छात्राहरूले २० वर्षअघि विवाह तथा विद्यालय छोड्न नपाउने सम्झौता समेत गरेको बताइएको छ । नगरपालिकाले युएनडीपी, निड्स नेपाल, ग्रीन–वे, एनसेल, एनएमबी बैंक, आईएमई–पे, काठमाडौँ साइकल सिटी र साइकल सिटी नेटवर्क नेपाललगायतका संघसंस्थाहरूको साझेदारीमा साइकल वितरण गरेका हो ।

साइकलको प्रयोग मानव स्वास्थ्य, वातावरण र आर्थिक तीनवटै कुराले फाइदाजनक रहेकोले किशोरीहरूको विद्यालय अध्ययनलाई निरन्तरतासँगै वातावरण स्वच्छता, आर्थिक बचत र स्वस्थ जीवनशैलीका लागि साइक्लिङको प्रचारलगायतका क्षेत्रमा टेवा पु¥याउने उद्देश्यका साथ साइकल वितरण गरिएको सहयोगी संस्थाहरूले जनाएका छन् ।

भीमदत्त नगरपालिकाले निःशुल्क साइकल उपलब्ध गराएपछि विद्यालय आवागमनमा निक्कै सहज हुने लाभग्राही किशोरीहरूको भनाइ छ ।

कार्यस्थलमा हुने हिंसाबारे छलफल

कार्यस्थलमा हुने हिंसाबारे महिला पत्रकारहरूबीच छलफल तथा भोगाइबारे अन्तरक्रिया गरिएको छ । ११२औँ नारी दिवसको पूर्वसन्ध्यामा धनगढीस्थित महिला पत्रकारहरूको उपस्थितिमा सो अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिकी सदस्य उन्नति चौधरीले कार्यस्थलमा हुने हिंसाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

‘हरेक कार्यालयमा कार्यरत महिला कुनै न कुनै बहानमा कार्यस्थलमा हिंसा खेप्न बाध्य छन’, उनले भनिन् ‘बोलाइ, लेखाइ, चित्र, विभिन्न बहानामा शरीरका अंग छुने, लामो समयसम्म हेरिरहनेलगायतका विभिन्न माध्यमबाट कार्यस्थलमा महिलामाथि हिंसा हुने गरेको छ ।’

उनले कार्यस्थलमा भोग्नुपरेको हिंसाबारे महिला तथा युवतीले उजुरी कसलाई गर्ने भन्नेबारे जानकारी नहुँदा ती हिंसाहरू बाहिर आउन नसकेको बताइन् ।

मर्निङ बेलका प्रकाशक रमा भट्टराईले महिला तथा युवतीले घरदेखि कार्यस्थलमा मात्र नभई बस, फिल्म हललगायतका भिडभाडमा पनि हिंसा खेप्नुपरिरहेको बताइन् ।

उनले भनिन्, ‘बसभित्र कोचाकोच हुन्छ । पुरुषले महिलाका अंगमा छुने गर्छन, फिल्महल तथा भिडभाडमा पनि त्यस्तै घटना दोहोरिन्छन् । कार्यस्थलमा महिला मात्र नभई पुरुष पनि हिंसामा पर्नेगरेका छन् ।’

उनले कानुनको प्रभावकारी कार्यान्वयन र पीडितले समयमै सम्बन्धित निकायमा उजुरी दिएमा यस्ता घटनामा कमी आउने बताइन् ।

कार्यक्रममा दिनेश एफएमकी प्रबन्धक अमिता कुँवर, पश्चिम टुडेका प्रशासन प्रमुख भुवन जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य राम दहित, नेपाल पत्रकार महासंघ कैलाली सदस्य शंकर बोहरालगायत विभिन्न सञ्चारमाध्यममा आबद्ध महिला पत्रकारको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?