फाइनान्स कम्पनीहरूमा औसतमा ७ प्रतिशत कर्जा खराब : नेपाल फाइनान्समा सबैभन्दा उच्च

लोकपथ
182
Shares

काठमाडौ । फाइनान्स कम्पनीहरूमा औसतमा सात दशमलव शून्य पाँच प्रतिशत कर्जा खराब देखिएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार फाइनान्स कम्पनीहरूमा औसतमा उक्त अनुपातमा कर्जा खराब देखिएको हो ।

सञ्चालनमा रहेका मध्ये केही समस्याग्रस्त अवस्थाबाट मुक्त भई सुधारको चरणमा रहेको र ती संस्थाहरूमा खराब कर्जा उच्च हुँदा वाणिज्य बैंक र विकास बैंकहरूको तुलनामा फाइनान्समा औसतमा खराब कर्जा उच्च देखिएको हो’, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भने ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा वाणिज्य बैंक र विकास बैंकहरूमा भने क्रमशः औसतमा एक दशमलव आठ र एक दशमलव ४२ प्रतिशत कर्जा खराब देखिएको उनको भनाइ छ ।

‘यद्यपि पछिल्लो समय फाइनान्सहरूमा पनि खराब कर्जाको अनुपात गत आवको तुलनामा घट्दै गएको छ’, उनले भने ।

फाइनान्स कम्पनीहरू स्वयंले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार सबैभन्दा बढी खराब कर्जा नेपाल फाइनान्समा देखिएको छ भने सबैभन्दा कम खराब कर्जा श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्समा कम्पनीमा देखिएको छ ।

चालू आवको दोस्रो त्रैमासमा नेपाल फाइनान्समा १९ दशमलव शून्य तीन प्रतिशत कर्जा खराब देखिँदा श्री इन्भेष्टमेन्टमा शून्य दशमलव ८५ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः ४१ दशमलव शून्य सात र शून्य दशमलव ७० प्रतिशत रहेको थियो ।

चालू आवको दोस्रो त्रैमासमा गोर्खाज, जानकी र गुडविल फाइनान्समा भने क्रमशः आठ दशमलव १७, पाँच दशमलव ३१ र तीन दशमलव ७१ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात चार दशमलव ४२, सात दशमलव ९३ र एक दशमलव ३८ प्रतिशत रहेको थियो ।

यसैगरी बेस्ट, प्रोग्रेसिभ र समृद्धि फाइनान्समा चालू आवको दोस्रो त्रैमासमा क्रमशः तीन दशमलव ६८, तीन दशमलव ६४ र दुई दशमलव ९० प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः २७ दशमलव २२, चार दशमलव शून्य तीन र ३१ दशमलव ९३ प्रतिशत रहेको थियो ।

मल्टीपर्पस, सेन्ट्रल र पोखरा फाइनान्समा भने चालू आवको दोस्रो त्रैमासमा क्रमशः दुई दशमलव ३०, एक दशमलव ६१ र एक दशमलव ५३ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः दुई दशमलव शून्य नौ, तीन दशमलव ३२ र एक दशमलव ३२ प्रतिशत रहेको थियो ।

यसैगरी मञ्जुश्री, आईसीएफसी र गुह्ेश्वरी मर्चेन्ट फाइनान्समा भने चालू आवको दोस्रो त्रैमासमा क्रमश एक दशमलव ३०, एक दशमलव शून्य छ र शून्य दशमलव ८९ प्रतिशत कर्जा खराब देखिएको छ ।

गत आवको सोही अवधिमा भने यी फाइनान्सहरूमा यस्तो कर्जाको अनुपात क्रमशः तीन दशमलव शून्य एक, शून्य दशमलव ७६ र एक दशमलव ७५ प्रतिशत रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?