संस्थापक सेयर बिक्रीमा राष्ट्र बैंकको अङ्कुश

सेयर खरिद वा बिक्री गर्दा केन्द्रीय बैंकको अनुमति अनिवार्य

लोकपथ
221
Shares

काठमाडौ । संस्थापक सेयर बिक्रीमा राष्ट्र बैंकले अंकुश लगाएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी समेतको नाउँमा परिपत्र जारी गर्दै राष्ट्र बैंकले संस्थापक सेयर खरिद वा बिक्रीमा कडाइ गरेको हो ।

परिपत्रमा भनिएको छ, ‘कुुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर धारण गर्ने वा गरेका सेयरधनीले सो संस्थाबाहेक अन्य कुनै बैंक तथा वित्तीय संस्थाको जतिसुकै संस्थापक सेयर खरिद वा बिक्री गर्नुपूर्व अनिवार्यरुपमा यस बैंकको स्वीकृति लिनुपर्नेछ ।’

यसअघि भने संस्थापक सेयर खरिद वा बिक्री गर्दा अनुमति लिनुपर्ने बाध्यात्मक व्यवस्था रहेको थिएन ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई प्रचलित ऐनमा भएको व्यवस्थाअनुसार उपलब्ध गराइने कर्जाको ब्याजदर (बैंकदर) सात प्रतिशत कायम गरेको छ । संशोधन हुनुअघि यस्तो बैंकदर पाँच प्रतिशतमा मात्र रहेको रहेको थियो ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर सात प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर चार प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई पाँच दशमलव पाँच प्रतिशत कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

यसअघि अर्थात् संशोधन हुनुअघि भने ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर पाँच प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर दुई प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई तीन दशमलव पाँच प्रतिशत कायम हुनुपर्ने व्यवस्था रहेको थियो ।

राष्ट्र बैंकले कुल कर्जा सापटको १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नको लागि भने २०८२ असार मसान्तसम्मको समय तोकेको छ ।

यस्तो कर्जा कायम गर्नुपर्ने समयसीमा यसअघि २०८० असार मसान्तसम्म रहेको थियो ।

यसैगरी ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्ने १० प्रतिशत कर्जाको लागि पनि राष्ट्र बैंकले २०८२ असार मसान्तसम्मको समयसीमा तोकेको छ । यस्तो कर्जा अनुपात कायम गर्नुपर्ने समयसीमा यसअघि २०८१ असार मसान्त तोकिएको थियो ।

लघु घरेलु तथा साना एवं मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्ने १५ प्रतिशत कर्जाको लागि पनि राष्ट्र बैंकले २०८२ असार मसान्तसम्मको समयसीमा तोकेका छ । यस्तो कर्जाको लागि २०८१ असार मसान्तसम्मको समयसीमा तोकिएको तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?