क्यानडामा अहिलेसम्मकै ठूलो प्रहरी दमन : प्रदर्शनकारीलाई भुइँमा फालेर पिठ्युँपछाडि हात बाँधियो

लोकपथ
1.2k
Shares

काठमाडौं । क्यानडाको राजधानी सहर ओटावास्थित संसद भवनअगाडिको मुख्य प्रदर्शन क्षेत्रलाई क्यानडा प्रहरीले खाली गरेको छ । सरकारले ल्याएको कोभिडसम्बन्धी प्रावधानलाई लिएर प्रदर्शनकारीले तीन सातादेखि प्रदर्शन गरेका थिए ।

१७० भन्दाबढी प्रदर्शनकारी र ३८ ट्रकहरु पक्राउ परेका छन् । प्रदर्शनकारी हटाउन खटिएका प्रहरीहरुमध्ये कोही घोडामा चढेका थिए । उनीहरुले विरोध गर्ने केही प्रदर्शनकारीहरूलाई भुइँमा फ्याँकिदिएका थिए । उनीहरुका हातहरू पिठ्युँपछाडि बाँधिएका थिए ।

प्रदर्शनकारीविरुद्धको कारबाही ओटावामा जारी रहेको प्रहरीले जनाएको छ । आन्दोलन नसकिएसम्म कारबाही जारी राखिने अन्तरिम प्रहरी प्रमुख स्टीभ बेलले बताए ।

केही प्रदर्शनकारीलाई प्रदर्शन क्षेत्रको मुटु मानिएको पार्लियामेन्ट हिलबाट वरपरका क्षेत्रहरुमा पुगेको बेलले बताए । ती क्षेत्रहरुबाट पनि प्रदर्शनकारीलाई हटाइने उनले बताए ।

यसलाई क्यानडाको इतिहासमै अहिलेसम्मकै ठूलो प्रहरी कारबाही बताइएको छ । प्रदर्शनकारीलाई हटाउन प्रहरीले खुर्सानीको धुलो प्रयोग गरेको प्रहरीले पुष्टि गरेको छ ।

‘प्रदर्शनकारीको आक्रमक स्वभाव रोक्न तपाईहरुले रसायनिक उत्तेजक पदार्थ प्रयोग गरेको देख्न सक्नु हुनेछ,’ प्रहरीले भनेको छ ।

आफ्नै शैलीको फ्रिडम कन्भोयमाथिको दमन सुरु हुने वित्तिकै लाठी बोकेका सयौं प्रहरी प्रदर्शनकारीको जमघटको केन्द्र बनेको ओटावा झरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?