प्रेम अनि प्रेमका परिभाषा

लोकपथ
238
Shares

विष्णु प्रसाद न्यौपाने । प्रेम यो शब्द कति प्रिय छ मिठो छ । यसका धेरै आयाम छन्, धेरै रुप छन्। काल्पनिक माया, सांसारिक माया, पारिवारिक माया, माटोको माया, आफ्नो माया, प्राणीको माया, संपत्तिको माया, आफ्नाको माया, पराईको माया, आमाको माया, सन्तानको माया, राजाको माया, प्रजाको माया, बहुरुपि छ माया, देखावटी माया, छुपारुस्तम माया, साँचो माया, झुटो माया, दृष्य माया, अदृष्य माया। माया, प्रेम, आशक्ति,यौन,आकर्षण, अनुराग यी फरक फरक प्रसंगमा फरक फरक अर्थ राख्दछन्।

यौन आकर्षण नहुँदो हो भने प्रेमले यति महत्व पाउने थिएन सायद। हुनत यौन आकर्षण बिनाका आदर्श,त्यागी प्रेमिल जोडिहरु ईतिहासमा अमर रहेको पनि देखिन्छ। प्रेम लाई सांसारिक दुनियामा बाँधेर राखेको चैँ यौनले नै हो।तसर्थ यिनिहरुबीचको सन्तुलित सम्बन्धले नै प्रेमको उचित परिभाषा दिन्छ भन्ने लाग्छ मलाई र जीवन लाई पनि सन्तुलित गराउँछ भन्ने लाग्छ।विवाह अघिको माया, विवाहपछिको माया, जवानीको माया अनि बुढेसकालको माया,यी आयामहरु पनि मायाका फरक आयाम हुन् भन्ने लाग्छ।

अर्थात् मैले मायाका फरक फरक आयामको कुरा यहाँ राख्नुको मतलब हो जीवन त फरक फरक समयमा फरक ढंगले चल्छ। जीन्दगिका फरक फरक गौँडाहरुमा मायाका नि फरक फरक आयामहरु आउँछन् तसर्थ मायालाई एकै किसिमले हेरियो या परिभाषित गरियो भने त्यो परिभाषा पनि अपुरो हुन्छ र त्यसरी मायालाई एकै किसिमले मात्र बुझ्दा जिन्दगी पनि अपुरो नै हुन्छ जस्तो लाग्छ मलाई। भाषा संस्कृति अर्थात राष्ट्रियता प्रतिको प्रेम कहिले काहि यस्तो नसालु हुन्छ नि सन्तान, आमा अनि मायालुको माया पनि फिका भइदिन्छ। यसरी माया पनि रेलेटिभ चिज रैछ। समय सन्दर्भ, ठाउँ हेरेर यसको तौर तरिका अनि मुल्य फरक पर्दो रहेछ। देश काल परिस्थिति, वर्ग समुदाय, जातजाति,अनि चेतनाको स्तर र उमेर समुहले पनि प्रेम भावमा फरक पार्दो रहेछ।

जति नै भने पनि जति नै विद्वान भएपनि, ज्यान दिन्छु भने पनि आखिर न जोख्न सकिन्छ, न देख्न सकिन्छ तसर्थ कस्को कम कस्को बढी, कस्को साँचो कस्को झुटो यो भने छुट्याउन गारो छ। जस्ट फिलिङ, फिलिङ न हो कसरी थाहा पाउने यद्यपि बोलि व्यवहारले फरक चै पार्छ तर बोली व्यवहार पनि माथी उल्लेख गरेका उमेर, समुदाय, समुहअनुसार फरक हुन्छ। कसैले नबोली माया गर्ला, कसैले झगडा गर्दै माया गर्ला, आखिर माया त माया न हो, तसर्थ माया आफैँमा पवित्र र प्रिय शब्द हो यसको जोख तौल गर्नु या मापन को लेपन लाउनु त्यति उपयुक्त हो भन्ने मलाई लाग्दैन।

कसैको लागि एक शब्द अमुल्य होला भने कसैको लागि मौनता प्रिय लाग्ला। तसर्थ हामी एकै हौँ , मानव त्यस मानेमा तर विल्कुल फरक छौँ हामी सबै फरक फरक छौँ, दृष्टिकोणमा, बोली व्यवहारमा तसर्थ आफुलाई माया गरौँ आफ्नो दुनियालाई माया गरौँ, हामी जो प्रेमिल संसारमा जन्मेका छौँ। प्रकृतिले हामीलाई माया गर्न सिकाएको छ प्राकृतिक रुपमा न कि विकृत रुपमा। यो प्रकृति, झरना, नागवेली नदि, ताल तलैया, फुलहरु, चराचुरुङ्गी, चखेवा जोडी, यी सबै प्रेम प्रतिक हुन् झैँ लाग्छ मलाई। हाम्रा धार्मिक ग्रन्थ हुन् या मठ मन्दिर , साहित्य हुन् या दन्त्य कथा सबैमा कतै न कतै प्रेम जोडिएको छ या भनौँ प्रेम गाथा गाएकै छन् गीत संगीतको आविष्कार त प्रेमले नै गरे झैँ लाग्छ मलाई।

यो प्रेमिल दुनियाँलाई अगाध, असिम माया छ मेरो। सबैलाई प्रेमी भएर बाँच्ने शुभकामना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?