बाटोभरि सेतै हिउँ, हिउँकै रुख अनि आफूले सक्नेजति हिउँलाई बोकेर उभिएका पहाडहरु । मानौँ हिउँकै संसार । जीवनको पहिलो अनुभव । मलाई लाग्यो संसारमा योभन्दा अर्को कुनै ठाउँ छैन जो यति सुन्दर होस् !
अघिल्लो हप्ता तय भएको हाम्रो कालिञ्चोकको यात्रा शुक्रबार बिहानै सुरु भयो । बिप्लवजीले फोन गर्दा साढै ६ बजिसकेको थियो । भृकुटीमण्डपमा भेट हुने कुरा भयाे ।
म पाटन बस्ने भएकाले नजिकै भए पनि प्रकाशजी नेपालटार र बिप्लवजी र दामु दाइ तीनपिप्लेबाट आउनुपर्ने थियाे । ८ बजे मात्र भृकुटीमण्डपमा भेट भयौँ ।
हल्का पानी परिरहेकाे थियाे । एक–एक कप चिया पिएपछि पानी पनि पर्न रोकिएकाले कालिञ्चोकको हाम्रो यात्रा अघि बढ्यो ।
हल्का हावा चलिरहेको थियो । बनेपा पुगेपछि पानी अलि बाक्लै पर्न थाल्यो ।
हामीसँग रेनकोट पनि थिएन । खाजा पनि खाऔँ र रेनकोट पनि किनौँला भनेर खाजाघर छिर्यौँ । खाजा खाँदै गर्दा बाइक त्यहीँ छोडेर चरीकोटसम्म बसमा जाने कुरा भयाे ।
विक्रमजीलाई फोन गरेर मैले चरीकोटको मौसम बुझ्न लगाएँ । त्यहाँको मौसम सामान्य रहेको र हल्का बादलचाहिँ रहेको जानकारी आयो । उनले बसको लागि टिकट काउन्टरको नम्बर पनि पठाए ।
तर एकैछिनमा चहकिलो घाम लाग्यो । हामी खुशी भयौँ कि अब हाम्रो यात्रा सहज हुने भयो ।
धुलिखेल कटेर ओरालो लागेपछि एकदमै बाक्लो कुहिरो लाग्यो । ४ मिटरभन्दा पर केही नदेखिने गरी लागेको कुहिरोले यात्रालाई केही असहज बनायाे । तर यसअघि कहिल्यै नलिएको अनुभव लिन पाउँदा रमाउँदै अघि लाग्यौँ ।
विपरीत दिशाबाट आएका गाडीहरु नजिकै आएपछि मात्र सानो बत्ती देखिन्थ्यो । त्यो छल्दै करिब १० मिनेट अघि बढेपछि फेरि उज्यालो घाम देख्न पाइयो ।
दोलालघाट हुँदै भोटेचौरसम्म पुग्दा पनि मौसम ठीक थियो । पुल तरेपछि उकालो लाग्यौँ ।
तर केहीछिनमै फेरि बाक्लो कुहिरोले हाम्रो बाटो छेक्न खोज्यो । बाइक नरोकीकन बिस्तारै आँखा तन्काएरै भए पनि हिँडिरह्यौँ ।
ठूलोपाखरे पुग्दा हिउँसहितको पानी पर्न थाल्याे । छेउको सानो होटलमा ओत लाग्यौँ । सानासाना नानीबाबु गाउँदै नाच्दै गरिरहेका थिए । एकैछिन भएपनि बाल्यकालको याद आयो ।
पानी परिरहेको थियो । प्लास्टिक ओढेर हामी त्यहाँबाट हिँड्यौँ । केहीछिनपछि हिउँ र पानी पर्न थाल्यो । यात्रा राेकिएन । चिसोले हात कठ्यांग्रिएका थिए । जाडो उस्तै ।
दामु दाइ र प्रकाशजी जंगलको बीचमा रहेको यात्रु प्रतीक्षालयमा बसेर हिँउ खेल्दै थिए । प्रत्यक्ष हिउँ परेको कहिल्यै नदेखेका हामीलाई एकदमै नौलो अनुभव थियो त्यो । बाइक छेउमै राखेर हिउँ खेल्दै फोटो खिच्यौँ ।
बाइक पूरै हिउँले ढाकेको थियो । हटाए पनि तुरुन्तै हिउँले छोपिहाल्थ्यो । फुरफुर फुरफुर हिउँ मात्र परिरहेको थियो । बाटोभरि हिउँ नै हिउँ । बस र सुमोले बनाएको बाटो पछ्याउँदै अघि बढ्यौँ ।
सडकमा हिउँ बाक्लो भइसकेकोले बाइकहरु चिप्लिरहेका थिए । अरु चिप्लिँदा हाँस्दै हिँडेका हामी पनि अघि बढ्न सक्ने अवस्था भएन । फोरह्वील स्कार्पियो पनि चिप्लिएर अघि बढ्न सकेका थिएनन् । बाइक राेकेर छेउमा अभियौँ ।
प्रकाशजीहरु पनि त्यहीँ आइपुग्नुभयो । बाइक चिप्लिएर नमीठो गरी लड्नुभएछ । बाहिर ओहो ! भने पनि भित्रभित्रै हाँस्यौँ ।
हिउँ पर्ने क्रम रोकिएको थिएन । हाम्रो दुर्दशा देखेर बस र स्कार्पियोमा जानेहरु रमाउँदै भिडियो र तस्बिर खिच्न आतुर थिए । हामी हैहै गरेर रमाइरहेका भान दिन्थ्यौँ । हिउँसँगको पहिलो अनुभव, त्यो पनि प्रत्यक्ष परिरहेको अवस्था हाम्रा लागि अविस्मरणीय क्षण थियो ।
बाटोमा हिउँको मात्रा बढ्दै गयो । नौलो बाटो भएकाले कहाँ गएर बस्ने भन्ने चिन्ता थियो । हामीले खाना पनि खाएका थिएनौँ ।
जाममा परेको बसको सहचालक भाइलाई सोध्यौँ । नजिकै कच्ची बाटो र पेट्रोलपम्प भएकाले बाइक डोहोर्याउँदै लैजान भन्यो । हामीले त्यही गर्यौँ ।
करिब १० मिनेट बाइक डोहोर्याएर हिँडेपछि पेट्रोलपम्प आयो । खुशी भयौँ । बाइक त्यहीँ राख्यौँ ।
छेउको होटलमा आगो बलिरहेको थियो । आगो ताप्दै चिया पियौँ । खाना त्यहीँ खाने कुरा भयो । पकाउन समय लाग्ने भएपछि होटलको दिदीले आफ्नै लागि पकाएको खाना दिनुभयो । भोकले खरिएकाले हाेला खाना सार्है मीठो भयाे ।
आगो ताप्दाताप्दै भिजेका लुगा पनि सुकिसकेका थिए । हिउँ खेल्ने हाम्रो तीव्र इच्छा पूरा गर्नु थियो । हिउँ बाहिर हिउँ परिरहेको थियो । सडक, डाँडा, पाखा, रुखबिरुवा, बारी जताततै सेतै ।
हिउँ नै हिउँको त्यो संसारलाई भिडियोकलमार्फत धेरैजनालाई देखाएँ । फेसबुकले दिएको यो प्रविधि र अवसरलाई मनमनै धन्यवाद दिएँ ।
क्यामरा लिएर सडकतिर लाग्यौँ । प्रकाशजी पोजपोजमा सेल्फी हानिरहनुभएको थियो । बिप्लवजी त्यो समय र दृश्यलाई अनेक कोणबाट क्यामरामा कैद गरिहनुभएको थियो ।
सेताम्य हिउँको गलैँचामा हामी उफ्रियौँ, नाच्यौँ, रमायौँ । त्यतिबेला लाग्यो आहा ! मेरो देश । प्रकृतिले दिएको अनुपम उपहार । कति सुन्दर छ है मेरो देश नेपाल । मैले मेरो घर, गाउँ, म हुर्केको खेलेको पाखा अनि परिवार सबैलाई सम्झिएँ ।
आलोपालो फोटो सेसन चलिरहेको थियो । हिउँ खेल्दै, एकअर्कालाई हिउँले हान्दै निकैबेर खेलिरह्यौँ । बिप्लवजी हाम्रो थरिथरिका पोजलाई क्यामरामा कैद गर्नै भ्याइनभ्याइ थियो ।
यात्रा कालिञ्चोकसम्मको थियो । बाइक त्यहीँ पेट्रोलपम्ममा राखेर मुडेसम्म जाने कुरा भयो । हामी त्यतातिर लाग्यौँ ।
घाम लागिसकेको थियो । हिउँ नै हिउँको बाटोमा हिउँको संसार हेर्दै तस्बिर कैद गर्दै अघि बढ्यौँ ।
प्रकाशजीले फेसबुक लाइभ पनि गर्दै हुनुहुन्थ्यो । मैले पनि त्यहाँको प्रकृति वर्णन गरेँ । साँच्चै त्यो वर्णनयोग्य थियो । साह्रै सुन्दर । मैले कल्पना गरेभन्दा नि सुन्दर । कुनै अर्कै संसारमा पुगेझैँ लाग्यो । नढाँटी भन्नुपर्दा मैले कल्पना गरेको स्वर्ग नै भेटेँ मैले ।
कवि भूपि शेरचनको कविता याद आयो । प्रकाशजीले वाचन गरेर सुनाइहाल्नुभयो ।
हिउँ परेको रातमा
जुन, धरतीलाई भेट्न
हिमकणहरूको साथमा
मुस्कुराउँदै ओरालो झर्छ,
र धरतीलाई सर्वाङ्ग हाँसेको पाएर
झन् बढी मुस्कुराए
आकाशमा फर्कने गर्छ
साँच्चै कविले भनेझैँ त्यहाँको धरती सर्वाङ्ग हाँसेको थियो । स्वर्गकै एउटा टुक्राजस्तो उज्यालो थियो । सेताम्मे हिउँसँगै यात्रा गरिरहेका सबै रमाइरहेका थिए ।
मुडे पुगेपछि त्यो दिनको हाम्रो यात्रा रोकियो । त्यहीँ बास बसियो । बाहिर एकदमै चिसो थियो । आगो तापेर भित्रै बस्यौँ ।
बाटो हिँड्नेहरु हिउँमा चिप्लिरहेको दृश्य देखिन्थ्यो । बच्चाहरु हिउँमा रमाइरहेका थिए । हिउँले सवारीसाधन बाटोमै रोकिएपछि अलपत्र परेका यात्रुले मुडे भरिभराउ थियो । नजिकै घर हुनेहरु झोला बोकेर यात्रा गरिरहेका थिए । घुम्न जानेहरुलाई हिउँसँगको रमाइलो पुगेकै थिएन ।
हामीलाई आगो छोड्न मन लागेन । खाना पनि त्यहीँ खायौँ र सुत्ने कोठामा गयौँ ।
भाेलिपल्ट बिहान उठ्दा ७ बजिसकेको थियो । बाथरुम जाँदा धारामा पानी थिएन । चिसोले धारो समेत जाम भएछ । स्कुल पढ्दा युवराज थापा सरले सोलुखुम्बुको बारेमा बताउँदा भनेको कुरा याद आयो । साँच्चै धाराको पानी आइस बन्दोरहेछ ।
मुडेमा खाजा खाएर हामी कालिञ्चोकतर्फको यात्रा सुरु गर्यौँ । बसहरु चलेका थिएनन् । बाटोमा हिँड्नेहरुको ताँती थियो । बिहानीको घामले सेतो हिउँ परेका डाँडाहरु झन् चम्किरहेका थिए । खाली आँखाले हेर्नसक्ने अवस्था थिएन । सबैले झैँ हामीले पनि चस्मा लगायाैँ ।
केही माथि पुगेपछि एउटा बस भेटियो । हिउँमा पांग्रा चिप्लिएर अघि बढ्न सकेको थिएन । केहीबेर अघि मात्र हामीले रोक्न खोज्दा नसुनीकन गएको त्यही गाडी थियो । अब त्यसलाई पनि हिँउँले भरिएको बाटो छिचोल्न ओइट (भार) चाहिएछ । हामी चढ्यौँ । थोरै ब्याक गरेर बस अघि बढ्यो ।
एक गियरमा बिस्तारै बस ओरालो लाग्यो । बाहिरी दृश्य कल्पनाभन्दा धेरै मनमाेहक थियाे । केही हिन्दी चलचित्रमा हेरेका दृश्य याद दिलायाे ।
बीच–बीचमा आएका समस्या छिचोल्दै घामले टल्किएका हिमाली डाँडाहरुसँग रमाउँदै चरीकोट पुग्यौँ ।
चरीकोटमा चहकिलो घाम लागेको थियो । भोक लागेकाले सबैभन्दा पहिले खाना खानतिर लाग्यौँ ।
चरीकोट होटलमा मीठो सत्कारका साथ हामीले खाना खायौँ । अघिल्लै दिनदेखि बिजुलीको लाइन बिग्रिएकोले इन्भटरबाट केहीछिन मोबाइल चार्ज गरियो ।
तर मेरोचाहिँ मोबाइलले इन्भटर चार्ज गरिदिएछ । ११ प्रतिशत थियो ६ प्रतिशतमा झरेछ । अब मोबाइल चलाउन नपाइने भयो । मैले नवराजजीलाई आज अफिस आउन नसक्ने जानकारी दिएर मोबाइल अफ गरिदिएँ ।
हाम्रो अन्तिम गन्तव्य कालिञ्चोक थियो । जसरी पनि कालिञ्चोकमाताको दर्शनसँगै त्यहाँको रमणीय दृश्यमा डुब्नु थियो । बाेलेरोसँग कुरा गर्यौँ । सुरुमा २५ सय भने पनि एक हजार रुपैयाँमा देउरालीसम्म गयौँ ।
चरीकोटमा चर्को घाम लागे पनि उकालो जाँदै गर्दा देउराली नपुग्दै हामीलाई फेरि हिउँले छोप्यो । बिप्लवजी र म अब माथि जान नसक्ने भन्दै त्यहीँ रोकिने कुरा गर्दै थियौँ । प्रकाशजी र दामु दाइ अर्को बाेलेरो चढिसक्नुभएछ ।
हिउँ परिरहेको थियो । देउरालीबाट पांग्रामा चेन लगाएका बोलेरो मात्र जाने रहेछन् । परव्यक्ति आठ सय रुपैयाँमा फिक्स गरेर हामी उकालो लाग्यौँ ।
बाटो सजिलो थिएन । गुरुजी एकदम रमाइलो हुनुहुन्थ्यो । हिउँले हिलाम्य भएको कच्ची अनि उकालो घुम्ती बाटोमा गाडी चलाउन सहज थिएन । घरिघरि मज्जाले उफार्थ्याे । हामी अतालिन्थ्यिौँ । बिस्तारै दाजु बिस्तारै ! म डराएँ ।
‘जो डरगया वो मरगया, बाटो यस्तै छ, परे खुट्टामा नपरे भित्तामा ।’ लामो समय त्यहीँ गाडी चलाएका गुरुजीमा जोस र अनुभव दुवै थियो । उनी आफ्नै रफ्तारमा थिए ।
हिउँको मात्रा बढ्दै गयो । जंगलको बाटो । गाडीको आाफ्नै रफ्तार थियो । गीतहरु बजिरहेका थिए । बुलेरोको झ्यालबाट बाहिरका दृश्य उस्तै लोभलाग्दा थिए । सेतै थियो जंगल । हिउँ बोकेका रुखहरुको दृश्य त झनै मन आह्लादित बनाउने खालका थिए ।
बाटो जस्तो भए पनि एक किसिमले रमाइरहेका थियौँ । निकै माथि पुगेपछि थाहा भयो, बोलेरोको पछिल्लो देब्रे टायरमा लगाएको चेन झरेछ । गुरुजी चिन्तित भए । हामीलाई पनि तनाव भयो । बाक्लो हिउँलाई छिचोल्ने साहारा थियो त्यही चेन ।
‘नडराउनु भाइहरु म छु’ गुरुजीले भन्नुभयाे । ढुक्क भयाैँ ।
कुरी भिलेज आइपुग्नै लागेको थियो । अगाडि देखिएको ठाडो घुम्ती देखाउँदै गुरुजीले त्यहीँबाट फर्किने कुरा गर्नुभयो । कुरीको गेट नजिकै देखिएको थियो । हामीले हुन्छ भन्यौँ ।
गाडीबाट ओर्लियौँ । धेरै उचाइ र बाक्लो हिउँ परेकोले केहीछिन मलाई गाह्रो हाेलाजस्तो भयो । तर एकछिनमा ठीक भइहाल्यो ।
करिब पाँच मिनेट हिँडेपछि कुरी भिलेज पुग्यौँ । हल्का हुस्सुले ढाकेको कुरी बजार एकैछिनमा घाम लागेर छ्याङ्ग भयो । कुरी भिलेज साच्चै हेर्नलायक थियाे ।
अर्कै संसार पुगेझैँ लाग्यो । अनि लाग्यो, हाम्रा पुर्खाले त्यसै यो देशलाई स्वर्गको टुक्रा भनेका होइनरहेछन् ।
बिप्लवजी, प्रकाशजी र दामु दाइ मोबाइल र क्यामेरामा तस्बिरहरु कैद गर्दै हुनुहुन्थ्यो । मेरो भने आँखा र मन दुवै अघाइसकेका थिएनन् ।
अरुले वर्णन गरेको र खिचेका तस्बिरभन्दा निकै सुन्दर र मनमोहक लाग्यो कुरी भिलेज । एकैखालका वुड हाउस हिउँसँगै चम्किरहेका थिए । तलतलका बस्तीहरु पनि उस्तै मुस्कुराइरहेका ।
मान्छेहरु कोही जाँदै त कोही फर्किरहेका । बच्चाहरु हिउँमा चिप्लिरहेका । हामी त्यहीँ मिसियौँ ।
२ः३० बजे त्यहाँ पुगे पनि हिउँ परेका कारण मान्छेहरुको भिड कम थियो । फर्किँदै गरेका एक जना दाइले केबुलकार बन्द हुनलाग्यो छिटो जानुस् भनेपछि त्यतातिर हतारियौँ ।
मेरो जुत्ता चिप्लो भएकाले म अलिक पछि थिएँ । हिउँमा चिप्लिएर बेस्सरी लडेँ । हात नै भाँचिएझैँ लागेको थियो । तर धन्न भाँचिएन छ ।
केबुलकार पुग्दा बन्द भइसकेको रहेछ । खोल्नका लागि निकैबेर अनुरोध गर्यौँ । तर अघिल्लो दिनदेखि बिजुली गएकोले जेनेरेटरबाट चलाउनुपर्ने र मान्छे पनि कम भएकाले उनीहरुले नखोल्ने कुरा गरे ।
हाम्रो उद्देश्य घुम्नु मात्र थिएन । कालिञ्चोक भगवतीको दर्शन गर्न भनेर काठमाडौँदेखि पुगेका थियौँ । त्यही इच्छा पूरा नहुने भएपछि यात्राका रमाइला पलहरु पनि खल्लो लाग्यो ।
त्यसै पनि फर्किन एक दिन ढिला भइसकेको थियो । निराश भयौँ ।
अरु पनि धेरै थिए कालिञ्चोक जान नपाएर निराश भएकाहरु ।
झिनो आशा लिएर सबै जनाले फेरि एकपल्ट केबुलकार खोल्न अनुरोध गर्यौँ । केही सीप लागेन । छेउकै होटलमा कालोचिया पिएर हामी फर्किने निर्णयमा पुग्यौँ ।
गेटनेर बाेलेरोको लाइन थियो । सबै रिजर्ब रहेछन् । बुलेरोको पछाडि बसेरै भए पनि चरीकोट झर्ने भयौँ ।
सबैमा त्यो जोस थिएन, जुन जोस त्यहाँ पुग्दा मुहारमा देखिएको थियो । गाडीमा सबै कालिञ्चोक दर्शन गर्न जान नपाएकाहरु थिए । सबैकाे गुनासाे त्यही रह्याे, कालिञ्चाेककाे दर्शन गर्न पाइएन ।
‘हामी यहाँसम्म आउनु नै भगवानको दर्शन हो नि, भगवानले बुझ्नुहुनेछ’, मैले सबैलाई थमथमाउँदै भनेँ ।
कालिञ्चोक भगवतीको दर्शन गर्ने चाहना अधुराे रह्याे । बिप्लवजीले फेरि एक पटक कालिञ्चोक दर्शन गर्न आउने वाचा गर्नुभयो ।
त्यहीँबाट फेरि एक पटक कालिञ्चोक भगवतीलाई ढोग्यौँ ।
फेरि एक पल्ट कालिञ्चोक भगवतीको दर्शनसँगै उहाँको सुन्दर काखमा अवस्थित प्रकृतिको मनोरम कलासँग रम्न आउने वाचा गर्यौँ । स्वर्गको एक टुक्रा कुरी भिलेज छोड्दै थियौँ । गाडी बिस्तारै गुड्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया