चार वर्षपछि फलामे साङ्लोबाट मुक्त जागेश्वरको कथा

काठमाडौं । ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ भनेझैँ १२ वर्षदेखि मानसिक सन्तुनल गुमाएका जागेश्वर ठाकुरको जीवन पुनः सामान्य अवस्थामा फर्किएको छ ।

उनकी श्रीमती सुदामा देवीको मुहारमा खुशी फर्किएको छ । ठाकुर दम्पतीका चार छोरी र दुई छोरा गरी ६ जना सन्तान छन् । चार छोरीको विवाह भइसकेको छ । साथमा भएका दुई छोरामध्ये एक बोल्न नसक्ने छन् ।

१२ वर्षअघि उनको स्वास्थ्यमा समस्या देखिनुभन्दा अघिसम्म ठाकुर नाम चलेका मिस्त्री थिए । काठको काममा उनको सीपको निकै चर्चा थियो । उनको कला र सीपलाई देखेर सबै अचम्ममा पर्थे ।

काठमाडौंमा बसेर मिस्त्रीको काम गरेरै उनले मनग्य कमाउँथे । तर त्यो एक दिनले उनलाई कल्पनै गर्न नसकिने अवस्थामा पु¥यायो । त्यो दिन बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं. १८ स्थित उनको गाउँ मोतिसरमा एक दिन ठूलो मेला लागेको थियो । मेलाकै बीचमा उनलाई के भयो थाहा छैन । एक्कासि उनलाई मानसिक समस्या देखिन थाल्यो ।

उनी अचानक उग्र स्वभावका हुन थाले । एकदमै रिसाउने भएकाले मान्छेहरुलाई पिट्न, लखेट्न थाले । घरकै परिवारका सदस्यहरु पनि नजिक हुनै डराउँथे । छरछिमेक सबैलाई नोक्सान पु¥याउन थाले ।

जागेश्वरको उपचार गराउँदा गराउँदै ७ कट्ठा जमीन र गरगहना बेचेर सकियो । वीरगञ्ज, भरतपुर, काठमाडौं, भारतलगायतका ठाउँमा लगेर उपचारमा खर्च गर्दा एक ठाउँमा घडेरी र बसेको घरबाहेक सबै सकिएको छ उनको ।

कमाएर खुवाउने श्रीमानको मानसिक अवस्था ठीक नभएपछि सुदामा देवीले गाउँघरमा ज्याला मजदुरी गरेर छोराछोरी हुर्काउनुका साथै आफ्नो जीवनयापन गर्दै आएकी छिन् । श्रीमानको उपचारमा कतैबाट सहयोग भए जीवनमा सुुखका दिन आउने आशमा थिइन् उनी ।

हेर्दा गाईवस्तु बाँध्ने गोठजस्तै देखिने खपडाले छाएको सानो घरभित्र खाँबोमा उनलाई फलामे साङ्लोले बाँधेर राखिएको थियो । बिनाकपडा नांगो शरिरमा उनलाई बाँधेर ४ वर्षसम्म राखियो । त्यो कारुणिक दृश्य देख्दा जो–कोहीको आँखा रसाउँथ्यो ।

जागेश्वर ठाकुरलाई आफ्नै परिवारजनले साङ्लोले बाधेर राखेका थिए । तर त्यसो गर्नु उनीहरुको बाध्यता थियो । बाँधेर नराखे स्थानीय, छरछिमेकलगायत परिवारका सदस्यहरुलाई समेत दुःख दिएर अत्याउँथे ।

उनी मानिसलाई देख्दा गाली गर्ने मात्रै हैन, एक्लै पनि कराइरहन्थे । राति पनि नसुती गाली गर्ने, कराउने र गीत गाउने गर्थे । परिवारका सदस्यले लगेर दिएको खाना कहिले खान्थे, कहिले रिसाएर घोप्ट्याइदिन्थे ।

ढोका बन्द गरेर खाटमुनि लुक्ने अनि ४/५ दिन त्यसै बस्थे । तोडफोड गरेर बाहिर निकाल्नुपथ्र्याे । औषधि खाँदासम्म ठीक हुन्थे, औषधि खान छोडेपछि भागिहाल्थे ।

नजिक कसैलाई देखेको अवस्थामा गाली गर्ने, कुट्न खोज्ने र एक्लै बसेर बरबराइरहने उनलाई परिवारले राम्रोसँग औषधि खुवाउन सक्ने अवस्था थिएन । तर उनी मानव सेवा आश्रममा आएपछि सबैको माया र प्रेमले विस्तारै साधारण अवस्थामा फर्किए ।

उनको सो अवस्थाबारेमा स्थानीय व्यक्तिहरु र विभिन्न समाचारहरुबाट जानकारी प्राप्त भएपछि मानवसेवा आश्रम वीरगञ्ज शाखाले २०७८ जेठ २२ गते उद्धार गरी मानसिक स्वास्थ्यको उपचार सुरु गरेको थियो ।

टिम त्यहाँ पुगेर उनको फलामको साङ्लोलाई हथौडाले काटेर बाहिर निकाली उद्धार गरे । सोही वडाका वडाध्यक्ष र प्रहरीको उपस्थितिमा उनको उद्वार गरिएको थियो ।

जागेश्वरले अवस्था ठीक भएर आफैँले घरमा जाने इच्छा बताए । अब आफैँ काम गरेर खान सक्ने भनेपछि पारिवारिक पुनर्मिलन गराउन उनलाई आश्रमको टिम स्वयं उनको घरमा पुगेर पारिवारिक पुनर्मिलन गराएको मानवसेवा आश्रम प्रदेश २ का संयोजक एवं केन्द्रीय सदस्य देवेस गुप्ताले बताए ।

मानव सेवा आश्रम तथा मधेश प्रदेशकै वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. भरत कुमार गोईतको नियमित उपचारसेवापछि उनी निको भए । उपचारको ८ महिनापछि उनी साधारण अवस्थामा घर फर्किएका छन् ।

बुढेसकालमा छोराको दुर्दशा हेरिरहेकी जागेश्वरकी आमा चनमती छोरा निको भएर घर फर्किएपछि अहिले आनन्दको स्वास फेरिरहेकी छिन् । मानवसेवा आश्रमको उद्धारपछि फलामे साङ्लो मुक्त बनेका जागेश्वरको उपचारपश्चात पारिवारिक पुनर्मिलन भयो । ४ वर्षपछि फलामे साङ्लो मुक्त भएका उनका परिवार मानव सेवा आश्रमप्रति आभारी छन् ।

अहिले उनी सामान्य जीवनशैलीमा आफ्नै घरमा छन् । मानसिक सन्तुलन गुमाएर साङ्लोमा बाधिनु परेको जागेश्वरको जीवन पुरानै सुखद लयमा फर्किएको छ । वर्षौँदेखि हराइरहेको ठाकुर परिवारको खुसी फेरि फर्किएको छ ।

यसरी मानवसेवा आश्रमले विसं २०६९ सालदेखि जागेश्वरजस्ता मानसिक सन्तुलन गुमाएकाहरु, घरपरिवार र आफन्तविहीन सडकपेटी र सार्वजनिक स्थलमा रहन बाध्य असहायलगायतलाई सहयोग गरिरहेको छ । परिवार हुँदाहुँदै पनि घरपरिवारले नै अमानवीय रुपमा थुनेर वा बाँधेर राखिएकाहरुको पनि उद्धार गर्दै आइरहेको छ ।

हालसम्म मानवसेवा आश्रमको संरक्षणमा १६ सय बढी सहयोगापेक्षी व्यक्तिहरु आश्रित छन् । १० वर्षको अन्तरमा करिब सात हजारको उद्धार गरीसकिएको छ । मानवसेवा आश्रम नितान्त मुठ्ठीदानबाट सञ्चालित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?