काठमाडौं । अफगानिस्तानमा चरम मानवीय संकट बढ्दै गएपछि भारतले सहयोग गर्न लागेको छ।
काबुलको शिक्षा, स्वास्थ्य र कृषि उत्पादनमा सुधार ल्याउन भन्दै भारतले यसअघि एक अर्ब अमेरिकी डलर सहायता प्रतिबद्धता वयक्त गरेको थियो। यद्यपि पछिल्लो समय कोरोना महामारीसँगै चिसो बढेपछि मानवीय संकट उत्पन्न भएको हो।
यस्तो अवस्थामा संकटग्रस्त अफगानिस्तानलाई भारतले ५० हजार मेट्रिक टन गहुँ र औषधिजन्य सामग्री पठाउने भएको छ। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार गहुँ पठाउने प्रक्रिया र त्यसको तरिकाबारे भारत र पाकिस्तानका अधिकारीबीच सहमति भइसकेको छ। भारत र पाकिस्तानबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध छ।
तर, अफगानिस्तानमा खाद्यान्न पठाउने विषयमा पाकिस्तानले भारतलाई बाटो प्रयोग गर्न दिने भएको हो। भारतले आफ्ना वा अफगानिस्तानका ट्रकमा खाद्यान्न पठाउन चाहेको भए पनि पाकिस्तान राष्ट्रसंघको झण्डा प्रयोग गरेर मात्रै बाटो दिने बताएपछि अन्ततः आफगानिस्तानका ट्रकको प्रयोग गरेर गहुँ लगिने सहमति बनेको हो।
यसअघि भारतले अफगानिस्तानलाई ३.६ टन स्वास्थ्य सामग्री र कोभिडविरुद्धको खोप पाँच लाख मात्रा उपलब्ध गराएको थियो। भारत र पाकिस्तान दुवैले तालिवान नियन्त्रित अफगानिस्तान सरकारलाई मान्यता दिएका छैनन्। तर, पाकिस्तान तालिवानप्रति ‘सफ्ट’ व्यवहार राख्छ।
उसले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गर्दै आएको छ। तालिवानप्रति संशकित र उसलाई आतंकवादीको सहयोगी ठान्ने भारतले पनि त्यहाँका नागरिकको जीवन रक्षाका लागि सहयोग गर्न तत्परता देखाएको हो।
यसअघि नेपालले पनि अफगानिस्तानका नागरिकका लागि स्वास्थ्य सामग्रीका साथै लुगाकपडा र भाडावर्तन पठाएको थियो। अमेरिकाले पनि अफगानिस्तानलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन लागेको हो।
तालिबानले अफगानिस्तानमा अगस्ट १५ मा कब्जा गरेपछि मुलुकमा मानवीय संकट सिर्जना भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया