पनौतीको १२ वर्षे मकर मेला

लोकपथ
468
Shares

पनौतीमा परापूर्वकालदेखि १२ वर्षमा माघ महिनामा एक पटक मकर मेला मनाइन्छ। मेलामा नेपाल  र भारतका लाखौं भक्तजनहरू दर्सनार्थ  पुग्छन् र पुण्यमाता र रोशी नदीको संगममा पवित्र स्नान गर्छन्। पुण्यमाता (पुण्यमती), रोशी (लीलावती) र रुद्रावती (अदृश्य नदी) को त्रिवेणीमा मेला लाग्छ। मकर संक्रान्तिको दिनमा सूर्य मकर राशिमा प्रवेश गरेसँगै मेला सुरु हुन्छ । माघ महिनाको पहिलो दिन शनिबार (जनवरी १५) बाट औपचारिक रुपमा यस वर्षको मकर मेला सुरु भएको हो । मकर मेला यस वर्ष माघ महिनाभरी माघ २९ गते (फेब्रुअरी १२) सम्म मनाइन्छ।

त्रिवेणीमा स्नान गरेपछि भक्तजनहरूले पनौती नगरको रक्षक बासुकी नागको पूजा गर्छन् र  गोरखनाथ मन्दिरमा जल अर्पण गर्छन्। त्यसपछि भक्तजनहरू इन्द्रेश्वर मन्दिर प्रांगणमा इन्द्रेश्वर महादेवको पूजा गर्न आउँछन्।

जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीले मकर मेला स्थगित गरेतापनि २५ जनाभन्दा कम भेला भइ मकर स्नान गर्न पाउने निर्णय गरेको छ ।समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।  हाल व्याप्त कोभिड महामारी बीच पनि श्रद्धालु भक्तजनहरु मेला भर्न प्रत्येक दिन त्रिवेणी पुगिरहेका छन्।

 

यो पर्व इन्द्रले आफ्नो पापबाट मुक्ति पाएको कथाको वरिपरि घुमेको भएपनि मेलाको बारेमा विभिन्न किम्वदन्तीहरु प्रचलित छन्।

किम्वदन्ती ०१

किम्वदन्ती अनुसार एक पटक स्वर्गका राजा इन्द्रलाई निको नहुने रोग लागेको थियो । इन्द्रले उपचारको खोजीमा भगवान शिवलाई प्रसन्न पार्न र रोगबाट छुटकारा पाउन त्रिवेणी घाटमा १२ वर्षसम्म तपस्या गरे । भगवान शिव प्रकट भए र उनले रुद्रावती नदीमा अमृत खन्याए । उनले इन्द्रलाई नदीमा नुहाउन भने र उनी निको भए । हरेक १२ वर्षमा नदीमा अमृत बगेर सबै रोग निको हुन्छ भन्ने आम विश्वास रहेको छ ।

किम्वदन्ती ०२

अर्को प्रचलित किम्वदन्ती अनुसार  भगवान इन्द्रले नदीमा नुहाउने र अहिल्याको विरुद्धमा गरेका पापहरू धोएका थिए । ब्रह्माण्डको सृष्टिकर्ता भगवान ब्रह्माकी छोरी अहिल्या एक सुन्दर महिला थिइन् जसलाई सबैले विवाह गर्न चाहन्थे। तर, ब्रह्माले आफ्नी छोरीको विवाह गौतम ऋषिसँग गरे । यद्यपि, भगवान इन्द्र अहिल्यालाई पाउने इच्छा राख्थे र प्रयासरत थिए। इन्द्रले गौतम ऋषि घरमा नभएको मौका छोपी उनैको भेष धारण गरेर अहिल्यालाई भेट्न गए र गलत काम गरेका थिए। गौतम ऋषिले  फर्किएपछि आफ्नी श्रीमतीलाई पर- पुरुषले सम्भोग गरेको पाए । त्यसपछि ऋषिले आफ्नो कमण्डलुबाट पवित्र जल फ्याँक्दै इन्द्रलाई उनको कुकर्मको लागि श्राप दिए कि उनको पुरै शरीर अब योनिले ढाकिने छ।  ऋषिले आफ्नी पत्नी अहिल्यालाई पनि ढुङ्गा बन्ने श्राप दिए ।

इन्द्रकी पत्नी इन्द्रायणीले यो थाहा पाएर गुरु बृहस्पतिसँग मद्दत मागेकी थिइन्, गुरु बृहस्पतिले उनलाई पनौतीमा पद्मावती र लीलावती नदीको संगममा गएर भगवान शिव र देवी पार्वतीको कृपाको लागि ध्यान तपस्या गर्न सल्लाह दिए।

इन्द्र र इन्द्रायणी दम्पतीले १२ वर्षसम्म तपस्या गरेपछि शिव र पार्वती भगवान उनीहरुको अगाडि प्रकट भए । उनीहरुको व्यथा सुनेर देवी पार्वती रुद्रावती नदीमा परिणत भइन् र पुण्यमती र लीलावती नदीमा मिसिएर पनौतीमा तीन नदीको संगम बनाइन् र शिव र पार्वतीले भगवान इन्द्रलाई नदीमा नुहाएर आफ्नो पाप पखाल्न र श्रापबाट मुक्त हुन आदेश दिए। त्यसैले भक्तजनहरू यसै किम्वादंतिका आधारमा पवित्र त्रिवेणीमा डुब्न र पाप पखालिने विश्वास र आस्थाका साथ् त्रिवेणीमा पुग्छन्।

 

किम्वदन्ती ०३

अर्को किम्वदन्ती आनुसार पनौती मकर मेलाको महत्व नागसँग जोडिएको छ । मकर मेलामा शिव मन्दिरमा दर्शन गर्न टौदहबाट नागहरू आएर पुरै एक महिना बस्ने बताइन्छ । पनौतीलाई नागको सहर पनि भनिन्छ र हरेक १२ वर्षमा भक्तजन नागको पूजा गर्न पनौती पुग्छन् ।

अहिले पनि इन्द्रेश्वर महादेव मन्दिर वरिपरि भक्तजनहरूले यी नागहरूलाई देख्ने गरेको बताइन्छ।

काठमाडौंको रत्नपार्कबाट करिब दुई घण्टा लोकल बसको यात्रामा पनौती पुग्न सकिन्छ। अरनिको राजमार्ग हुँदै पनौती पुगिने भएकोले राजमार्ग अन्तर्गत पर्ने विभिन्न स्टपहरूबाट पनि बस चढ्न सकिन्छ ।

माइक्रोबस, ट्याक्सी वा बस रिजर्भ गरेर अथवा निजी कार, जीप वा दुई पाङ्ग्रे सवारी साधनबाट पनि काठमाडौंको रत्नपार्कबाट करिब दुई घण्टाको यात्रामा पनौती पुग्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?