राष्ट्रिय कला संस्कृतिको धरोहर : नमूना कला संग्रहालय ‘कलाघर’

सबै सीप र कलामा पोख्त कलाघरका अध्यक्ष नेपाली बाबु सुमनलाई आफ्नो कामको प्रशंसा आफैँलाई गर्न आउँदैन । न त उनी अरुले प्रशंसा गरिदिओस् भन्ने अपेक्षा नै राख्छन् ।

उनको कला सीप र दक्षताको मूल्यांकन गरेर भर्खरै दुबईस्थित नेपाली संस्थाले आयोजना गरेको कार्यक्रममा उनले ‘मल्टी ट्यालेन्टेड अवार्ड’ प्राप्त गरे ।

 

 

कला संग्रहालयका लागि तयार पारिएका यी सबै सीप र परिकल्पना उनैको हो । साथमा साथ दिन्छन् कलाघरका अन्य कलाकारहरू ।

सामूहिक लक्ष्य प्राप्तिका लागि के–के गरे भन्दा पनि के गरेनन् भन्ने प्रश्न गर्दा हुन्छ उनीहरूलाई । कहिल्यै थाक्दैनन् उनीहरू । न भोक, न निद्रा, न त आराम न छ अल्छी । न जाडो, न गर्मी उनीहरू एकनास खटिरहेका हुन्छन् । समूहमा काम गरेर उनीहरूको मन कहिल्यै भरिँदैन ।
यहाँका कलाकारहरू नाच्ने, गाउने, अभिनय गर्ने मात्रै होइन, पञ्चेबाजादेखि मौलिक विभिन्न वाद्यवादनदेखि परिस्थितिअनुसार जस्तो काम गर्न पनि पछि हट्दैनन् । हरेक दिन नयाँ सीप र कलामा सक्रिय छन् ।

संस्कृति संरक्षण तथा प्रवद्र्धनको लागि संग्रहालय निर्माण अभियानका समूहमा दर्जनभन्दा बढी कलाकारहरू संलग्न छन् । उनीहरू मासिक तलबभत्ता वा कुनै सेवा सुविधा लिएर बसेका होइनन् । समूहमा खाए सबैले खाने र भोकै बस्नुपरे पनि सबै जना भोकै बस्ने अठोटका साथ काम गरिरहेका छन् ।

 

आफ्नो घरपरिवारबाट टाढा रहेर पनि केही गर्ने भन्ने सोच र अठोट लिएर अहोरात्र मिहिनेत गरिरहेका छन् । व्यक्तिगत जीवन छाडेर देशको समग्र कला संस्कृतिको प्रतिनिधित्व गर्ने कला संग्रहालय निर्माणमा लागि परेका छन् उनीहरू ।

उनीहरू बढी श्रममा विश्वास गर्छन् । अध्यक्ष नेपाली बाबु सुमन भन्छन्, ‘हामीले जति मिहिनेत गरेका छौँ, सोअनुसारको जनस्तरबाट माया, साथ, सम्मान र हौसला पर्याप्त मात्रामा पाइरहेका छौँ ।’

उनले नेपाली मौलिक संस्कृति र परम्परालाई जगेर्ना गर्ने सोचका साथ आफूहरू अघि बढेको बताए ।

कला निर्माण गर्दै गर्दा आर्थिक अभाव होला कि अथवा हाम्रो काम रोकिन्छ कि भन्ने चिन्ता छैन यो समूहलाई ।

‘हामी निरन्तर कला कर्ममा लागिरहनेछौँ’, उनीहरू भन्छन् । आफूलाई कला संरक्षण र संवद्र्धन गर्ने काममा यथावत राख्ने उनीहरू बताउँछन् ।

 

 

आफूहरू कलासँग जोडिएर श्रम गर्नेे बताउँदै अध्यक्ष नेपाली बाबु सुमनले कला घर निर्माण अभियान कहिल्यै नसकिने बताए ।

‘मुख्यतयाः यसलाई पाठशालाको रूपमा विकास गर्ने र देशभरका मान्छेहरू आएर अध्ययन गर्न सकोस् भन्ने हो’, उनले भने ।

सम्पूर्ण नेपाली कला संस्कृतिको जगेर्ना गर्ने सपना देखेका उनले अबको करिब दश वर्षपछि सांस्कृतिक विद्यालय पनि बनाउने सोच लिएका छन् ।

एकीकृत लगनशीलता र परिश्रमप्रति जनस्तरबाट पनि सकारात्मक प्रतिक्रिया पाएको उनले बताए । आर्थिक तथा सामाजिक रूपमा प्रशस्तै हौसला प्राप्त भएको अनुभव उनीहरूले गरेका छन् ।

विश्वमै छुट्टै पहिचान बोकेको नेपालको लोपोन्मुख कला संस्कृति संरक्षण र प्रवद्र्धन गर्नु नयाँ पुस्ताको कर्तव्य हो । यसै कर्तव्य पूरा गर्नका लागि नै कला घर सिन्धुलीको स्थापना भयो ।

 

 

यसरी सुरु भयो ‘कलाघर’ सिन्धुली

२०७३ देखि नै जिल्लाका कला गतिविधिमा सक्रिय थियो परिवर्तन जागरण क्लब । सोही क्लबद्वारा सञ्चालित प्रगतिशील प्रतिभा केन्द्रले २०७५ को सुरुदेखि नै कलाघर निर्माणको अवधारणा तय गरेको थियो ।

सांस्कृतिक पाटोअन्तर्गत राष्ट्रलाई कुन रूपमा सहयोग गर्न सकिन्छ भनेर सोच्दै गर्दा नमूना कलाघर निर्माण अभियान सुरु भएको बताउँछन् ।

त्यतिबेलादेखि नै जिल्ला तथा जिल्लाबाहिर विभिन्न सांस्कृतिक कार्यक्रममा क्रियाशील समूहले चित्रकला, लोपोन्मुख सामग्री, विभिन्न सूचना सामग्रीलगायतका माध्यमबाट प्रदर्शन कार्य गर्दै आयो ।

२०७६ जेठ ६ गते कमलामाई नगरपालिकामा सामाजिक संस्थाको रूपमा ‘कलाघर सिन्धुली’को दर्ता भयो । सो कलाघर जिल्लामा मात्र नभएर समग्र देशका प्रतिनिधिमूलक कला संस्कृतिको खोजीकार्य तथा लोपोन्मुख कलाको संकलनमा क्रियाशील हुँदै आयो ।

संस्कृतिको प्रचारसँगै जनचेतनामूलक कार्यक्रम समेतमा निरन्तर सक्रिय हुन थाले । अर्थपूर्ण नवीन कला निर्माण तथा प्रदर्शन कार्यमा संलग्न हुँदै जनस्तरमा समेत लोकप्रियता बढ्न थाल्यो ।

 

 

जीवीकोपार्जनमा नै धौधौ पर्ने नाजुक अवस्था पार गर्दै समूहको अहोरात्र मिहिनेतले कला घर एउटा उचाइमा पुगिसकेको छ । कलायात्रामा मौलिक कला प्रदर्शन गर्दै नयाँ आयामसहित उदाएको सिन्धुली कलाघरले अहिले आफ्नै पहिचान बनाइसकेको छ ।

 

नमूना कला संग्रहालय : कलाघर

नमूना कलाघर निर्माण अभियानमा लागेका कलाघरका कलाकारहरू अहिले राष्ट्रिय कला संग्रहालय निर्माणका लागि परिश्रम गरिरहेका छन् । अनुमानित ६ करोडको भौतिक संरचना र ६ करोडको कला (कलात्मक सामग्री) गरी जम्मा १२ करोडको लागतमा निर्माणसम्पन्न गर्ने योजना बनेको छ ।

समग्र कला क्षेत्रलाई प्रतिनिधिमूलक ढंगबाट समावेश गराउँदै पर्यटन प्रवद्र्धन गर्ने यस अभियानको उद्देश्य छ । जसका अध्यक्ष एवं व्यवस्थापक नेपाली बाबु सुमनका अनुसार कला संग्रहालयलाई सांस्कृतिक विद्यालयको रूपमा विकास गराउने लक्ष्य रहेको छ ।

लोपोन्मुख दोहोरी, खैँजडी, रोधी र नेपाली संस्कृतिका यावत जातजातिका वाद्यवादनहरू, संस्कार, भेषभूषा आदि समेट्ने गरी यस सिन्धुली कला घरले रोधी घर, वाद्यवादन संग्रहालय आदिको व्यवस्थापन गर्दै छ । समूहले विभिन्न जातजातिका बाजाहरूको संकलन गरेको छ । त्यसैको संग्रह गर्न एक वाद्यघर निर्माण हुँदै गरेको छ ।

 

 

जहाँ दुई सयवटा लोकबाजाहरू संग्रह गर्ने काममा केही मात्रामा निर्माण र संकलन गरिसकेका छन् । यसका साथै विभिन्न रुखका जराहरूबाट अर्मूत कलाकृतिहरू दुई सयवटा भन्दा बढी निर्माणसम्पन्न छन् ।

नेपालको विभिन्न जातजातिको पहिचान हुनेगरी ४५ भन्दा बढी चित्रकलाहरू निर्माण गरिएको छ । जहाँ विभिन्न जातजातिको पहिचान र परम्परा पनि देखिने गरी चित्र कोरिएका छन् ।

लोपोन्मुख कला संस्कृति र परम्पराको संरक्षणसँगै नेपाली संस्कृतिको विश्व बजारीकरण गर्नु पनि यस संस्थाको उद्देश्य हो । संस्थाको संग्रहालय बनाउने, सम्पूर्ण कलाका पाटाहरू एकै छानामुनि समेट्ने कार्यहरू सँगसँगै अन्य अपेक्षित उपलब्धिहरू छन् ।

हाल त्यही सोचलाई मूर्त रूप दिन सदस्यहरू योजना पूरा नभइन्जेलसम्म एकै भएर, एकै ठाउँमा रहेर, कोही आफ्नो व्यक्तिगत जीवन नबाँचीकन सामूहिक कार्यमा अघि बढिरहेका छन् ।

 

 

अभियानको पूर्वाद्र्धमै कोरोना भाइरस देखा परे पनि उक्त जोखिमलाई झन् काम गर्ने मौकाको रूपमा लिएर निरन्तर अगाडि बढे । अबको तीन वर्षसम्ममा संग्रहालय पूर्णरूपमा तयार हुने आकलन गरिएको छ ।

हालसम्म कलाघरले विभिन्न स्थानहरूबाट आर्थिक सहयोग प्राप्त गरिसकेका छन् । तर पर्याप्त रकम भने उठ्न सकेको छैन । सरकारी तथा व्यक्तिगत र वैदेशिक सहयोगहरू जुटाएर नै हालसम्म कलाघरले आफ्ना कार्यहरू सञ्चालन गरिरहेका छन् ।

केही महिनापहिले सम्पन्न गरिएको सुनकोशी मरिन डाइभर्सनको ठूलो राष्ट्रिय आयोजनाको समुद्घाटन समारोह कार्यक्रम गर्न पाएको कलाघर समूहले तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट डेढ लाख रुपैयाँ हात पारेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पनि कलाघर परिवारले सम्मान पत्र प्राप्त गरिसकेका छन् ।

राष्ट्रियस्तरको संरक्षण र संवद्र्धनको कार्यमा लागेको समूहले कतैबाट केही आशा नराखे पनि पछि राष्ट्रलाई नै हस्तान्तरण गर्न तयार रहेको बताएका छन् ।

ऐतिहासिक सिन्धुलीगढीबाट नजिकै निर्माण गर्न लागिएको लक्षित कला संग्रहालय निर्माण गर्न तीन रोपनी क्षेत्रफलको जग्गा संस्थाले नै खरिद गरेको छ र अन्य दुई रोपनी जग्गा सामुदायिक वन तथा गाउँ भेलाबाट पारित गरिएको छ । तर हाललाई भने संग्रहालय, प्रयोगमा नआएको विद्यालयको स्वरूपमा स्थापित छ ।

जहाँ करिब सोह्र लाखभन्दा बढीका कलाकृतिहरू संकलन गरेर राखिएको छ । सिन्धुली कलाघरको लागि अनुमानित तीन करोड ५० लाख रुपैयाँको भौतिक संरचना निर्माण र तीन करोड ५० लाख रुपैयाँको कला निर्माण गरी अनुमानित सात करोडको लागतको योजना तयार पारिएको छ ।

नेपाली संस्कृति र परम्पराको जगेर्नाका लागि स्थापना भएको यस समूहले भौतिक उपस्थितिको कार्यक्रमहरू मात्र आयोजना नगरी अन्य चलचित्रात्मक प्रस्तुतिहरू पनि तयार पारिराखेका छन् । जसमा नेपाली मौलिक परम्परा र संस्कृति झल्किने विभिन्न प्रस्तुतिहरू देखाइन्छ ।

 

 

यस्तो हुनेछ कला संग्रहालय

नेपालको नक्सांकन किल्लाभित्र ‘कलाघर’ नामाकंनको आकारमा रहने कला घरभित्र दर्र्जनभन्दा बढी आदिवासी जनजातिहरूको संस्कृति, मौलिक पहिचानसहितको घरहरू रहनेछ । ऐतिहासिक, धार्मिक तथा भौगोलिक पर्यटकीय स्थलहरूको २ सयभन्दा बढी क्यानभाष चित्र रहने बताइएको छ ।

नेपाली लोपोन्मुख मौलिक लोकबाजाहरूको अवलोकन तथा अध्ययनको लागि बाजाघर हुनेछ । मौलिक लोक तथा दोहोरी भाकाहरूको बारेमा जानकारी तथा गाउनको लागि रोधीघर हुने भनिएको छ । विभिन्न जातिविशेष मौलिक झाँकी नृत्यहरू अवलोकन तथा अध्ययनको लागि नाचघर हुनेछ ।

नेपाली साहित्यिक स्रस्टाहरूको सिर्जना अवलोकन तथा अध्ययनको लागि पुस्तकालय घर हुनेछ । काठ, जरा, बाँस तथा ढुंगाबाट बनेका प्रतिबिम्बात्मक आकर्षक २ सयभन्दा बढी कलाहरू रहनेछ । नेपालका प्रमुख पर्यटकीय महत्वपूर्ण धार्मिक स्थलहरूको कलात्मक नमूना मूर्ति स्तम्भहरू रहनेछ ।

 

 

राष्ट्रको निम्ति योगदान दिने राष्ट्रिय विभूति, सहि द तथा अन्य महापुरुषहरूको सालिक रहनेछ । कला, सिर्जनात्मक क्षेत्रमा अतुलनीय योगदान गर्ने स्वर्गीय स्रष्टा सर्जकहरूको सालिक रहनेछ । नेपाली मौलिक कला, संस्कृति विशेष सूचना जानकारी तथा अवलोकनको लागि वृत्तचित्र घर रहनेछ ।

नेपालमा पाइने अमूल्य जडीबुटी तथा बनस्पतिको अवलोकनको लागि जडीबुटी घर हुनेछ । नेपालमा पाइने दुर्लभ जीवजन्तुको जानकारी तथा आकर्षक मूर्तिकलाहरू रहनेछ । परम्परागत घरेलु कृषि सामग्रीहरूको संरक्षण र प्रदर्शनका लागि घरेलु कृषि सामग्रीहरूको घर रहने समेत बताइएको छ ।

देशको भू–भागअनुसार गरिने कृषि कार्यहरूको पहिचान झल्कने कलात्मक मूर्तिकलाहरू रहनेछ । कलात्मक सगरमाथासहितको राष्ट्रिय झण्डा र गोर्खालीको पहिचान ठूलो खुकुरी हुनेछ । सिन्धुलीको पहिचान नेपालको मौलिक फल जुनार र राष्ट्रिय फुल लालीगँरासको बगँैचा रहनेछ ।

त्यसैगरी वीर नेपालीहरूले अंग्रेजलाई परास्त पारेको स्थान सिन्धुलीगढीको नमूना रहनेछ । नेपालको नक्सांकन कला घरको पर्खालमा देशको सम्पूर्ण पक्षको प्रतिनिधित्व गर्ने ज्ञानवद्र्धक सचेतनामूलक ४ सयभन्दा बढी कलात्मक चित्रहरू कोरिनेछ । नेपाली कला संस्कृतिसम्बन्धी प्रशिक्षण, शैक्षिक भ्रमण तथा अध्ययन अध्यापनको लागि पाठशाला घर हुने कला संग्रहालय निर्माणका उद्देश्यमा उल्लेख छ ।

 

 

‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई’ गीतका सर्जक स्वर्गीय कृष्णविक्रम थापाको सालिक हुनेछ । नेपाली परम्परागत मौलिक खेलहरूको अवलोकन अध्ययन तथा प्रशिक्षणको लागि खेल मैदान हुनेछ ।

देशका पर्यटकीय तथा महत्वपूर्ण कला संस्कृति स्थानहरूको अवलोकनको लागि सूचनाघर हुनेछ । कोसेलीघरसहित विभिन्न कार्यक्रमको प्रदर्शन तथा नाटक मञ्चनको लागि नाटकघर रहनेछ ।

यसका साथै कला घर निर्माणमा सहयोग गर्ने सहयोगी दाताहरूको सम्मानार्थ तस्बिरसहितको अभिलेखघर हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?