जीवनको ४५ वसन्तपछि रहर पछ्याएका नारायण न्यौपाने

काठमाडौं । भनिन्छ, खाने मुखलाई जुंगाले छेक्दैन । चर्चित यो नेपाली उखानलाई सार्थक तुल्याएका छन् नारायण न्यौपानेले ।

उमेरले पाँच दशक कटाइसकेका न्यौपाने एक कुशल फोटोग्राफर हुन् ।

रोचक कुरा त के छ भने फोटोग्राफीमा उनलाई सानै उमेरबाट नै रुचि थियो । तर पनि उनले आफ्नो समय त्यता दिन सकेका थिएनन् । जीवनको ४५ वसन्त पार गरिसकेपछि मात्रै उनले आफ्नो रुचिको क्षेत्र फोटोग्राफीमा पूरा समय दिन थाले ।

५६ वर्षीय न्यौपानेलाई चराचुरुङ्गी र डाँडापाखा विशेष मनपर्छ । कहिले टौदमा टहल्लिरहेका भेटिन्छन् त कहिले शिवपुरीका डाँडाहरूमा मनमोहक दृश्य कैद गरिरहेका हुन्छन् उनी ।

रहरको आगो निभाउने प्रयास

मानिसको जीवनको ४५-५० वर्षपछिको उमेर सबै व्यवसायबाट रिटायर्ड भएर घरपरिवार र आफूलाई नै दिने समय हो ।

तर, आफ्नो जीवनको आराम गर्ने समयमा नारायण क्यामरा र ट्राइपड बोकेर डाँडापाखा जान्छन्, मनोरम दृश्यहरूलाई आफ्नो क्यामरामा कैद गर्छन् अनि घर फर्कन्छन् ।

ठाउँ–ठाउँमा घुमेर फोटो खिच्दा नै भित्री मनलाई आनन्द मिल्ने बताउँछन् उनी ।

पेसााले उनी व्यापारी हुन् । इन्द्रचोकमा २०४५ सालदेखि सारीको पसल छ उनको । उनले आफ्नो रहरलाई पछ्याउने अठोट लिएसँगै हाल उनको पसल श्रीमती र छोरीले सम्हालेका छन् ।

रहर हुँदाहुँदै पनि नारायणले आफ्नो ४५ वर्षसम्मको उमेर व्यवसायलाई दिएका थिए । तर फोटोग्राफीका लागि मनमा बलेको आगोले उनलाई ४५ वर्षको उमेरमा पनि छाडेन ।

अन्ततः उनले फोटोग्राफीलाई नै आफ्नो पूरा समय दिए । यसले उनलाई खुशी मात्र दिएन देशदेखि विदेशसम्म चर्चित समेत बनायो ।

अनि मोडियो यात्रा

हरेक मानिसका केही न केही गर्ने सपना हुन्छन् । कति त्यसमै लाग्छन् र पूरा गर्छन् र पूरा गर्छन् भने कोही अन्तै मोडिन्छन् । न्यौपाने पनि आफ्नो सपनाबाट नबिच्किएका होइनन् । तर अरु कामले आर्थिक लाभ भए पनि आत्मिक सन्तुष्टि भने उनले पाएका थिएनन् ।

जीवनको हरबखत आफ्नो रहरलाई पूरा गर्न नसक्ने हो कि भन्ने चिन्ताले दिनरात पिरल्थ्यो उनलाई । जब उनी ४५ वर्षका भए उनलाई लाग्यो कि, ‘अब म मेरो जीवनको रिटायर्ड समयमा छु, मैले अब पनि मेरो रहरलाई नपछ्याए कहिले पनि पूरा हुँदैन ।’

त्यसपछि उनले घरको सल्लाहले नै आफ्नो पसल छोरी र श्रीमतीलाई जिम्मा लगाएर ग्राहकहरुलाई सारी देखाउने गरेको हातमा ट्राइपड र क्यामरा बोकेर रहरको पछाडि दौडिए ।

 

पहिलो क्यामरासँगै सपनाको यात्रा

‘क्यानोन एक्स एक्स ५० पावरसर्ट’ उनको पहिलो औपचारिक क्यामरा हो । उक्त पावरसर्ट उनले ४० हजार रुपैयाँमा किनेका थिए । लेन्सकेप र वाइल्ड खिच्न सक्ने क्यानोन एक्स एक्सको जुम क्यापासिटी १२०० हुन्छ ।

उनीसँग हाल ‘क्यानन ९० डी’ क्यामरा छ । जसको बजार मूल्य २ लाखभन्दा बढी रहेको छ ।

आफू भर्खरै सिक्दै गरेको मान्छे भएकाले उनलाई क्यानोन एक्स एक्स क्यामरा नै राम्रो थियो । त्यसअघि उनले रिलवाला क्यामराले पनि आफ्नो परिवार, साथीभाइ र घुमघामका रमाइला पलहरूलाई क्यामरामा कैद गर्नेगरेका थिए ।

तर, क्यामरा किनेपछि बल्ल उनको प्यासनले जीवन्त रूप पायो । क्यामरा किन्दा उनी फोटोग्राफीको भित्री कुरामा भिजिसकेका थिएनन् । आफूलाई मनमोहक लागेका कुराहरू कैद गर्थे ।

समय बित्दै जाँदा उनले ‘नेप्लिज इन फोटोग्राफी’ नामक ग्रुपमा एउटा फोटो पोस्ट गरेका थिए, जहाँ स्वयम्भूमा एउटा बाँदरले पानी खाइरहेको थियो ।

उक्त फोटोले केही समयमै १ हजारभन्दा बढी रियाक्ट पायो । आफूले खिचेको फोटो अरुले मन पराएपछि उनलाई थप खुशीको साथै हौसला मिल्यो । त्यसपछि उनी तस्बिर खिचेर सामाजिक सञ्जालमार्फत आफ्नो कला अरुलाई देखाउन थाले ।

फोटोहरू खिच्ने क्रममा उनको धेरै प्रोफेसनल फोटोग्राफरहरूसँग भेट भयो । उनीहरूबाट उनले प्रोफेसनल फोटोग्राफी गर्न थाले । आफ्नो फोटो खिच्ने कलामा पनि उनले धेरै परिवर्तन ल्याए ।

पहिले अटोमोडमा तस्बिर खिच्ने नारायण बिस्तारै म्यानुअलमा खिच्न थाले । अपार्चर सटरस्पिडहरूबारे ज्ञान बटुल्न थाले । नतिजास्वरूप अहिले उनी विशेष चरचचुरुङ्गीहरूको उत्कृष्ट तस्बिर खिच्छन् ।

घरको मेमोरिजहरू पनि धेरै कैद गरेका छन् नारायणले । छोरीको सानो बेलाको तस्बिर अझै पनि उनले सम्हालेर राखका छन् । त्यो बेला फोटोको धेरै मतलब नभए पनि आज र अझै १५–२० वर्षपछि त्यसको महत्व निकै हुने उनी बताउँछन् ।

हुन पनि हो कहिलेकाहीँ सामाजिक सञ्जालको वालमा स्क्रोल गर्दै गर्दा काठमाडौँको रानी पोखरीको होस् वा कुनै ठाउँका तस्बिर देख्दा हामीलाई छुट्टै महसुस हुन्छ । पुराना तस्बिर देख्दा हामीलाई निकै अचम्म लाग्छ । पहिले समय कस्तो थियो भन्ने तस्बिरले झल्काउँछ ।

भन्ने गरिएको छ नि, ‘अ पिक्चर इज वोर्थ अ थाउजेन्ड वड्र्स’ । उनलाई पनि अहिले आफ्ना छोरीहरूको सानोबेलाको तस्बिर हेर्दा त्यस्तै लाग्दो हो । झलझली ती दिनहरू मस्तिस्कमा खेल्दो हो ।

‘ती फोटोहरू मैले आफ्नो रहरका कारण खिचेको हुँ । अहिले बेला–बेला हेर्छु निकै रमाइलो लाग्छ’, उनले भने, ‘छोरी अहिले ठूला भइसके पनि ती तस्बिरहरू हेर्दा सोही दिनहरू ताजा भएर आउँछ’, उनले भने ।

उनले पहिले देखेको र अहिलेको प्रकृतिमा धेरै भिन्नता महसुस गरेका छन् ।

‘मैले अहिलेको प्रकृति पनि देखेको छु । तर पहिलेको प्रकृतिमा निकै मनोरम दृश्यहरू थिए, चराचुरुङ्गीहरू थिए’, उनी भन्छन्, ‘तिनीहरू अहिले मेरो आँखामा मात्रै कैद छ क्यामरामा भने कैद गर्न सकिनँ ।’

पछिल्लो समय उनी वाइडलाइफ फोटोग्राफीमा रुचि राख्छन् । प्रकृतिको मनोरम दृश्यमा रम्छन् । एउटा चराको तस्बिर कैद गर्नकै लागि उनी एकैठाउँमा घण्टौँ बिताउँछन् । जीवनको आराम गर्ने समयमा उनी डाँडापाखा चढ्छन् । यसो गर्दा नै आफूलाई आनन्द लाग्ने उनी बताउँछन् ।

‘एक त डाँडापाखा जाँदा स्वच्छ हावापानी अर्को शरीरलाई व्यायाम पनि हुन्छ आफ्नो प्यासन पनि पूरा हुन्छ’, उनी भन्छन् ।

यो फोटो उनले खिचेका हजारौँ फोटोमध्ये सबैभन्दा मनपर्ने तस्बिर हो ।

यो तस्बिर उनलाई खास लाग्नुको कारण भने कीर्तिपुरको उमामहेश्वर मन्दिर र स्वयम्भूनाथ एउटै फ्रेममा अटेको छ । यस्तो तस्बिर विरलै देख्न सकिन्छ ।

केही तिता अनि मीठा अनुभव

फोटो खिच्न जाने क्रमका उनीसँग धेरै तितामीठा अनुभवहरू छन् । फोटो खिच्ने क्रममा कतै टाढा गएको बेला बादल लागेर भनेजस्तो फोटो खिच्न नपाएको देखि कपडा नै च्यातिएको किस्सा छन् उनीसँग ।

एक दिन सधैँजसो उनी चोभारतिर जाँदै थिए । चोभार नपुग्दै बन्दै गरेको फास्ट् ट्रयाकमा बाइकमा जाँदै गर्दा पानी परिरहेको थियो । उक्त हिलो छिछोल्दा बाइक ३ ठाउँमा लडेको थियो । ठूलो दुर्घटना नभएर चिप्लिएर लड्दा उनको पाइन्ट समेत च्यातिएको कुरा उनले हँस्यौली पारामा सुनाए ।

उनीहरू आफ्नो गन्तव्यमा पुगे । धेरै बेरसम्म पनि उनले आफ्नो पाइन्ट च्यातिएको भेउ पाएनन् । साथीहरूले पनि पाइन्ट च्यातिएको थाहा पाएका थिएनन् ।

पछि हेर्दा पाइन्ट त पूरै च्यातिएको रहेछ । हाँस्दै साथीहरूलाई सुनाउँदा साथीहरूले त ग्रन्जको डिजाइन नै त्यस्तो होला भन्ने सोचेका रहेछन् । निकै रमाइलो किस्सा भएकाले उनले उक्त दिनको फोटो खिचेर आफ्नो फेसबुक प्रोफाइलमा राखेका छन् ।

राम्रो फोटो खिच्न ठूलै क्यामरा चाहिन्छ भन्ने छैन

कुनै पनि मानिसलाई भित्री मनबाट गर्छु भन्ने भए आफ्नो रहरलाई पछ्याउन कुनै कुराले नछेक्ने उनी बताउँछन् ।

‘फोटोग्राफी सिक्दै गरेका धेरै भाइबहिनीले भनेको सुनेको छु, मसँग ठूलो क्यामरा नै छैन नत्र म पनि राम्रो राम्रो फोटो खिच्थेँ । तर त्यो यथार्थ होइन । मोबाइल र सानो क्यामराबाट पनि निकै राम्रो फोटो खिच्न सकिन्छ’, उनी भन्छन् ।

राम्रो फोटो खिच्न डाँडापाखा वा अन्य कुनै पर्यटकीय ठाउँमा नै जानुपर्छ भन्ने नभएको पनि उनी बताउँछन् । आफूले फोटोग्राफीको महत्व बुझे पाइला–पाइलामा फोटो र कथा भेटिने उनको अनुभव छ ।

घरको ढोकामा लगाउने ताल्चादेखि एचडीएमआई केबललगायत घरको कोठामा माकुराले बनाएको जालोको समेत फोटो खिचेर आफ्नो कलेक्सनमा राख्ने गरेका छन् उनले ।

कहिलेकाहीँ आफूसँग क्यामरा साथमा नबोकेको बेला कुनै मुभ्मेन्ट क्यापचर गर्न नसक्दा निकै दुःख लाग्ने गरेको पनि उनी बताउँछन् ।

फोटोग्राफी गर्न मन भएका वा फोटोग्राफीलाई नै आफ्ना प्यासन बनाउनेहरूका लागि एक उदाहरणका पात्र हुन् नारायण । उमेरको हद नाघे पनि आफू समर्पित भएर लागे हरेक कुरा सम्भव छ भन्ने कुरामा उनी विश्वास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?