राष्ट्रिय जनगणना–२०७८ : सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा जनसंख्या घट्यो

धनगढी । सुदूरपश्चिम प्रदेशका नौमध्ये पाँच जिल्लामा पछिल्लो दश वर्षको अवधिमा जनसंख्या घटेकोे देखिएको छ । पछिल्लो दश वर्षको अवधिमा प्रदेशका पाँच जिल्लामा जनसंख्या को वार्षिक वृद्धिदर एक दशमलव नौ प्रतिशतदेखि शून्य दशमलव १८ प्रतिशतले कमी (ऋणात्मक) भएको देखिएको छ ।

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरू अछाम, बझाङ, डोटी, बैतडी र डँडेल्धुरामा पछिल्लो दश वर्षको अवधिमा जनसंख्या वृद्धिदरमा ह्रास आएको छ ।

जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक रहेको अछाममा यो दर एक दशमलव नौ प्रतिशत रहेको छ । अछाममा २०६८ सालको जनगणनाअनुसार दुई लाख ५७ हजार ४७७ जनसंख्या रहेकोमा दश वर्षको अवधिमा अर्थात् २०७८ सालसम्म २७ हजार छ सय ६१ ले कमी आएर दुई लाख २९ हजार आठ सय १६ मा झरेको छ ।

त्यस्तै, बझाङमा जनसंख्या को वार्षिक वृद्धिदर शून्य दशमलव ३० ले ऋणात्मक रहेको छ भने डोटीमा शून्य दशमलव २८, बैतडीमा शून्य दशमलव २५ र ड“डेल्धुरामा शून्य दशमलव १८ प्रतिशत जनसंख्या वृद्धिदर ऋणात्मक रहेको छ ।

२०६८ सालको राष्ट्रिय जनगणनामा देशभरि २७ वटा जिल्लामा जनसंख्या को वार्षिक वृद्धिदर ऋणात्मक रहेको थियो भने २०७८ सालको जनगणनामा यो संख्या ३२ पुगेको छ ।

प्रदेशको बझाङ जिल्लामा २०६८ सालको जनगणनाअनुसार एक लाख ९५ हजार एक सय ५९ जनसंख्या रहेको थियो भने २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजामा जनसंख्या वृद्धिदर घटेर एक लाख ८९ हजार ९७ मा झरेको छ ।

त्यस्तै, डोटीमा २०६८ सालमा दुई लाख ११ हजार सात सय ४६ जनसंख्या रहेकोमा २०७८ सालसम्म आइपुग्दा दुई लाख पाँच हजार छ सय ८६ मा झरेको छ ।

बैतडीमा २०६८ सालको जनगणनाअनुसार दुई लाख ५० हजार आठ सय ९८ जनसंख्या रहेको थियो । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार बैतडीमा जनसंख्या वृद्धिदरमा कमी आएर दुई लाख ४४ हजार चार सयमा झरेको छ ।
ड“डेल्धुरामा पनि दश वर्षको अवधिमा दुई हजार छ सय ७४ जनसंख्या घटेको जनगणनाको प्रारम्भिक नतिजाले देखाएको छ । ड“डेल्धुरामा २०६८ सालमा एक लाख ४२ हजार ९४ जनसंख्या रहेकोमा २०७८ मा घटेर एक लाख ३९ हजार चार सय २० मा झरेको छ ।

सुदूरपश्चिम प्रदेशका प्रायः पहाडी जिल्लाहरूबाट तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बसाइ“सराइको तीव्र चाप रहेको राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाले पनि पुष्टि गरेको छ ।

कैलालीमा वार्षिक जनसंख्या वृद्धिदर एक दशमलव ५४ प्रतिशत पुगेको छ । यससँगै कैलालीको जनसंख्या चार लाख ७१ महिलासहित नौ लाख ११ हजार पुगेको छ ।

त्यस्तै, कञ्चनपुरको वार्षिक जनसंख्या वृद्धिदर एक दशमलव ३२ प्रतिशत रहेको छ । यससँगै कञ्चनपुरको जनसंख्या पाँच लाख १७ हजार नाघेको छ ।
प्रदेशको हिमाली जिल्ला भए पनि बाजुरा र दार्चुलामा भने जनसंख्या वृद्धिदर घनात्मक रहेको जनगणनाको प्रारम्भिक नतिजाले देखाएको छ । बाजुरामा वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव २९ प्रतिशत तथा दार्चुलामा शून्य दशमलव १३ प्रतिशत घनात्मक रहेको छ ।

प्रदेशको कैलाली, कञ्चनपुर, बाजुरा र दार्चुलामा २०६८ को तुलनामा २०७८ मा जनसंख्या वृद्धि भएको छ । कैलालीमा २०६८ को तुलनामा जनसंख्या वृद्धिदर एक दशमलव ५४ प्रतिशत रहेको छ । यस आधारमा कैलालीको जनसंख्या नौ लाख ११ हजार एक सय ५५ पुगेको छ ।

तराईकै जिल्ला रहेको कञ्चनपुरको जनसंख्या वृद्धिदर एक दशमलव ३२ रहेको छ । यसआधारमा सो जिल्लाको जनसंख्या पाँच लाख १७ हजार छ सय ४५ पुगेको छ ।

हिमाली जिल्ला मानिएको प्रदेशको बाजुराको जनसंख्या वृद्धिदर शून्य दशमलव २९ र दार्चुलाकोे शून्य दशमलव १३ रहेको छ । प्रारम्भिक नतिजामा बाजुराको जनसंख्या एक लाख ३८ हजार नौ सय ९८ र दार्चुलाको एक लाख ३५ हजार ५६ पुगेको छ ।

समग्रमा भने सुदूरपश्चिम प्रदेशको जनसंख्या २०६८ सालदेखि २०७८ सालसम्मको अवधिमा छ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, पछिल्लो दश वर्षको अवधिमा प्रदेशमा जनघनत्व (प्रतिवर्गकिलोमिटर मानिसको बसोबास)मा वृद्धि भएको छ भने सहरी क्षेत्रमा मानिसको बसोबासमा पनि वृद्धि भएको छ ।

केन्द्रीय तथ्यांक विभागद्वारा सार्वजनिक गरिएको राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख नाघेको छ ।

२०६८ सालको जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार रहेको थियो । प्रारम्भिक नतिजाअनुसार जनसंख्याका दृष्टिले सुदूरपश्चिम प्रदेश पाँचौँ स्थानमा रहेको छ । सुदूरपश्चिम प्रदेशमा मुलुकको कुल जनसंख्या (दुई करोड ९१ लाख ९२ हजार चार सय ८०) मध्ये नौ दशमलव २९ प्रतिशत मानिस बसोबास गर्दछन्् ।

प्रारम्भिक नतिजाअनुसार मधेश प्रदेशमा सबैभन्दा बढी जनसंख्या पुगेको छ । मधेश प्रदेशमा २० दशमलव ९९ प्रतिशत मानिस (६१ लाख २६ लाख)को बसोबास रहेको छ । भने, सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच दशमलव ८१ प्रतिशत (१६ लाख ९४ हजार) जनसंख्याको बसोबास रहेको छ ।

प्रदेशको औसत परिवार आकारमा कमी आयो
सुदूरपश्चिम प्रदेशमा पछिल्लो दश वर्षको अवधिमा औसत परिवार आकारमा कमी आएको छ ।

राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना, २०७८ प्रारम्भिक नतिजामा दश वर्षको अवधिमा शून्य दशमलव ७५ ले घटेको देखिएको छ ।

२०६८ सालको जनगणनाअनुसार सुदूरपश्चिम प्रदेशमा औसत परिवार आकार पाँच दशमलव ४३ रहेको थियो भने २०७८ सालमा चार दशमलव ६८ मा झरेको छ । यो राष्ट्रिय औसत परिवार आकारभन्दा शून्य दशमलव ३६ ले बढी हो ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा नै औसत परिवार आकार संख्या पछिल्लो दश वर्षमा घटेको छ । प्रदेशका जिल्लाहरूमा औसत परिवार आकार चार दशमलव ३७ देखि पाँच दशमलव आठ जना रहेको छ ।

प्रारम्भिक नतिजाअनुसार २०७८ सालको जनगणनामा नेपालमा औसत परिवार आकार चार दशमलव ३२ जना रहेको छ । २०६८ सालको जनगणनामा यो संख्या चार दशमलव ८८ रहेको थियो ।

सुदूरपश्चिमका १५ प्रतिशतभन्दा बढी व्यक्ति विदेशमा

राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजाअनुसार सुदूरपश्चिम प्रदेशका १५ प्रतिशतभन्दा बढी मानिस विदेशमा रहेको पाइएको छ ।

जनगणनाको प्रारम्भिक नतिजामा सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार दुई सय ५० पुगेको छ । यसमध्ये तीन लाख ४६ हजार आठ सय ३६ जना परिवारमा अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरिरहेको देखिएको छ ।

प्रदेशबाट विदेशमा बसोबास गर्नेहरूमा महिलाको तुलनामा पुरुषको संख्या अधिक रहेको छ । विदेश बसोबास गरिरहेका कुल जनसंख्या मध्ये ७३ प्रतिशत पुरुष रहेका छन्् । प्रारम्भिक नतिजामा दुई लाख ५३ हजार एक सय ६९ पुरुष र ९३ हजार छ सय ६७ महिलाको विदेशमा बसोबास रहेको देखिएको छ ।

सो नतिजामा सबैभन्दा बढी सहरी क्षेत्रका व्यक्तिहरूको विदेशमा बसोबास रहेको देखिन्छ । नेपालभरिमा २१ लाख ६९ हजार चार सय ७८ व्यक्तिको विदेशमा बसोबास रहेकोमा सहरी क्षेत्रका १४ लाख ५० हजार पाँच सय ६३ जना रहेका छन् ।

भौगोलिक क्षेत्रका आधारमा तराईका व्यक्तिको बसोबास विदेश बढी रहेको तथ्यांक छ । तराई क्षेत्रका ४९ दशमलव १३, पहाडका ४५ दशमलव ४० र हिमालका पाँच दशमलव ४७ प्रतिशत रहेको उल्लेख छ ।

लैङ्गिक अनुपात सबैभन्दा कम
सुदूरपश्चिम प्रदेशमा लैङ्गिक अनुपात पनि सबैभन्दा कम रहेको छ । प्रारम्भिक नतिजामा सबैभन्दा लैङ्गिक अनुपात मधेश प्रदेशमा रहेको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा रहेको छ ।

मधेश प्रदेशमा लैङ्गिक अनुपात एक सय दशमलव ९९ रहेको छ भने सुदूरपश्चिम प्रदेशमा ९० दशमलव ५० रहेको छ । २०६८ को जनगणनामा प्रदेशमा लैङ्गिक अनुपात ९१ दशमलव २५ रहेको थियो ।

६२ प्रतिशतभन्दा बढी जनसंख्या सहरमा

सुदूरपश्चिम प्रदेशमा कुल जनसंख्याको ६२ प्रतिशतभन्दा बढी व्यक्तिहरूको बसोबास सहरी क्षेत्रमा रहेको छ ।

प्रारम्भिक नतिजामा २७ लाख ११ हजार दुई सय ७० जनसंख्या रहेकोमा १६ लाख ८८ हजार पाँच सय ७१ जनाको बसोबास सहरी क्षेत्रमा रहेको छ ।

प्रदेशमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने ३७ दशमलव ७२ प्रतिशत जनसंख्या रहेको छ । ग्रामीण क्षेत्रमा १० लाख २२ हजार छ सय ९९ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?