भारतको गणतन्त्र दिवसमा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा शुभकामना

लोकपथ
91
Shares

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् ।

भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीको अमृत महोत्सव’का रूपमा मनाइन लागेकामा राष्ट्रपति भण्डारीले बधाई तथा शुभकामना व्यक्त गरेकी हुन् ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज पठाएको सन्देशमा उनको सुस्वास्थ्य र सुखको कामनाका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्री देउवाले सामाजिक, आर्थिक विकासमा भारतले हासिल गरेको उल्लेखनीय उपलब्धि तथा प्रविधि र नवप्रवर्तनमा गरेको प्रभावकारी प्रगतिको प्रशंसा गरेका छन् । प्रधानमन्त्रीले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुँदै जाने विश्वास पनि व्यक्त गरेका छन् ।

त्यसैगरी परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी डा एस जयशङ्करलाई पठाएको सन्देशमा उनका साथै भारतका जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। मन्त्री खड्काले दुई देशबीचको न्यानो र मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि सन्देशमा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?