१० करोड मानिसमा कोभिडको दीर्घकालिन लक्षण : अध्ययन

लोकपथ
559
Shares

काठमाडौं । कोभिड १९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट विश्वको ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको एउटा नयाँ अध्ययन अनुसार कोभिडबाट संक्रमितमध्ये ४० प्रतिशत मानिसहरु कोभिडको दीर्धकालीन असरबाट प्रभावित भएका छन् । अर्थात विश्वको १० करोड जनसंख्या कोभिडपछिको समस्याबाट प्रभावित छ ।

अनुसन्धानकर्ताहरुले १७ देशका विभिन्न ४० अध्ययनहरुलाई विश्लेषण गरेका थिए । कोभिड भएर अस्पताल भर्ना भएका व्यक्तिमा दीर्घकालिन कोभिडको सम्भावना ५७ प्रतिशत देखिएको थियो ।

‘कोभिडबाट संकमित विश्वका कूल २३ करोड ३७ लाखमध्ये १० करोड जना कोभिडपछिको दीर्घकालिन समस्याबाट पीडित छन्,’ अनुसन्धानकर्ताहरुले भनेका छन् ।

कोभिडपछिको दीर्घकालिन समस्याले विभिन्न देशको स्वास्थ्य प्रणालीमा दबाब दिनसक्ने उनीहरुले सजग गराएका छन् ।

कोभिड संक्रमितमध्ये ४९ प्रतिशत महिला र ३७ प्रतिशत पुरुषमा यस्तो समस्या देखिएको छ । अध्ययनअनुसार एशियामा ४९ प्रतिशत, युरोपमा ४४ प्रतिशत र उत्तर अमेरिकामा ३९ प्रतिशतमा कोभिडपछि दीर्घकालिन समस्या देखिएको छ । कोभिड भएको दुई सातापछि पनि एक महिना वा सो भन्दा लामो समयसम्म कोभिडजस्तै लक्षण देखिनुलाई दीर्घकालिन कोभिड मानिन्छ । कम्जोरी, सास फेर्न कठिनाई हुनु, पीडा, चिन्ता तथा डिप्रेसन दीर्घकालिन कोभिडका लक्षण हुन् । अनुसन्धानकर्ताहरुले गरेको अध्ययन पीएलओएस मेडिसिन जर्नलमा प्रकाशित छ ।

यसैबीच, सेप्टेम्बरमा गरिएको एउटा अध्ययनमा तीन कोभिड बिरामीमध्ये एक जनामा तीनदेखि ६ महिनासम्म कोभिडको लक्षण देखिएको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?