जाडोभरि तिलको लड्डु खादाँ के–के फाइदा गर्छ

लोकपथ
793
Shares

डा. हेमराज कोइराला I

मकर सङ्क्रान्तिमा तिलको लड्डु, तरुल, घिउ, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदि खाने चलन छ। त्यसमा पनि तिलको लड्डु त मकर सङ्क्रान्तिको विशेष पहिचान दिने खानेकुरा नै हो।

मकर सङ्क्रान्तिमा तिलको लड्डु खाने चलन लगभग सबै संस्कृति र जाति जनजातिहरूका बीचमा विद्यमान छ ।

सङ्क्रान्तिका दिनमा मात्र तिलको लड्डु खाएर अक्सर हामी यो पर्वलाई बिदाइ गर्दछौँ । तर योग, प्राकृतिक चिकित्सा एवं आयुर्वेदजस्ता पूर्वीय आयुर्विज्ञानले मकर सङ्क्रान्तिमा मात्र नभएर जाडोभरि नै तिलको लड्डु खानको लागि निर्दिष्ट गरेको छ र पर्वकै रूपमा मनाएर तिलको लड्डु खाने प्रचलन हाम्रो संस्कृतिमा समावेश गरिदिएको छ।

यसरी जाडो मौसममा तिलको लड्डु खानुको निम्नलिखित फाइदाहरू छन् :

१. पेटको लागि गुणकारीः

तिलको लड्डुको सेवन पेटको लागि गुणकारी खानेकुरा हो। यसको सेवनले पाचन क्षमतालाई सशक्त पार्दछ भने अपच, अजीर्ण, ग्याँस बन्ने समस्या, कब्जियत, अम्लपित्त, आदिलाई पनि निवारण गरी पेटलाई सफा राख्न मदत गर्छ ।

२. चिसोको प्रभाव कम गर्नेः

चिसोको मौसममा तिलको लड्डु खानाले शरीरलाई पर्याप्त मात्रामा क्यालोरी प्रदान गरी न्यानो बनाई राख्दछ। तिलको सेवनले चिसोको दुष्प्रभावबाट पनि शरीरलाई बचाउने गर्दछ। चिसोको एलर्जी भएकाहरूलाई पनि तिलको सेवनले फाइदा पुर्‍याउँदछ।

३. महिनावारी ठीक पार्न सहयोगीः

तिलको लड्डुको सेवनले महिलाहरूको महिनावारी ठीक समयमा नहुने, महिनावारी हुँदा अत्यधिक रगत बग्ने, तल्लो पेट दुख्नेजस्ता मासिक धर्मसम्बन्धी गडबडीलाई पनि ठीक पार्न मदत गर्छ।

४. रक्त अल्पतालाई निको पार्नेः

तिलमा उच्च मात्रामा फलाम र रगत बनाउने भिटामिनहरू पाइने हुँदा रक्त अल्पताका समस्या झेलिरहेकाहरूलाई पनि तिलको सेवनले विशेष फाइदा पुर्‍याउँछ।

५. उच्च पोषकः

तिल, सक्खर, चाकु, कुराउनी र सुख्खा फलफूलहरूको प्रयोग गरेर बनाइने हुनाले तिलको लड्डु असाध्यै पौष्टिक हुन्छ। १०० ग्राम तिलमा २३ दशमलव ४ ग्राम कार्बोहाइड्रेट, ४९ दशमलव ७ ग्राम तेल र १७ दशमलव ७ ग्राम प्रोटिन पाइन्छ। यी तीनै पोषक तत्त्वबाट शरीरले लगभग ५७३ किलो क्यालोरी पोषण पाउँदछ। यसै गरी तिलमा उच्च मात्रामा विद्यमान खनिज र भिटामिनहरूले पनि शरीरलाई भरपुर पोषण प्रदान गर्दछ।

६. छाला, नङ र केशको लागि लाभदायकः

तिलमा उच्च मात्रामा खनिज, भिटामिन एवं एण्टि अक्सिडेन्ट पाइने हुँदा यसको सेवनले छाला, नङ र केशको लागि अत्यन्त लाभ पुर्‍याउदछ।

७. हाड जोर्नीको लागि राम्रोः

हाड जोर्नीको समस्याको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक मानिएको छ किनकि तिलमा प्रशस्त मात्रामा हड्डी बन्न आवश्यक तत्त्वहरू मौजुद रहेको छ। राति दुधसँग तिलको लड्डु खाने गर्नाले आस्टियो पिनिया,आस्टियो पोरोसिस एवं आस्टियो मलेसियाजस्ता समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।

८. रुघा मर्की दम खोकीका लागी राम्रोः

दमका बिरामीहरूको लागि पनि तिलको लड्डुको सेवन अत्यन्त लाभदायक छ। जाडो बढेसँगै वायुमण्डलमा आर्द्रता बढ्ने र चिसोको कारणले श्वास नलीहरू साँगुरिने हुँदा श्वास प्रश्वासमा समस्या बढ्न सक्छ। खोकी लाग्ने, कफ आउनेजस्ता समस्याबाट मुक्ति पाउन पनि दैनिक एक वा दुईवटा लड्डु खाइरहनुपर्ने हुन्छ।

९. नातागतलाई भगाउँछः

नातागत झेलिरहेकाहरूको लागि पनि तिलको सेवन अत्यन्त लाभदायक छ। तिल, गुड र कुराउनी मिलाएर बनाइएको तिलको लड्डु उच्च पौष्टिकता र क्यालोरीले युक्त भएकाले नातागत भएका बिरामीले खानै पर्ने खानेकुरा हो ।

१०. मुटुका लागि राम्रोः

तिलमा मुटुको लागि आवश्यक पौष्टिक तत्त्वहरू जस्तो पोलिअनस्याचूरेटेड फ्याट, म्याग्नेसियम, एन्टिअक्सिडेन्टहरू, भिटामिनहरू र फाइबर आदि प्रचुर मात्रामा पाइने हुँदा यसको नियमित सेवनले प्लाक निर्माण रोकी मुटुलाई बलियो बनाउँदछ।

लेखक योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय, भरतपुर–१ चितवनका निर्देशक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?