फोक्सोलाई बलियो बनाउने केही योग आसन

लोकपथ
195
Shares

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुने हुनाले कोरोना भाइरसको सङ्क्रमण हुन नदिन र भएमा के गर्ने भन्ने विषयमा चिकित्सा विज्ञान, आयुर्वेद र योगले विभिन्न उपायहरू सुल्झाइरहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण अहिले बढी रहेको अवस्थामा यो भाइरसले जति खेर पनि सङ्क्रमित बनाउन सक्ने सम्भावना देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण भएमा यसको बढी असर फोक्सोमा देखिने गरेको छ । त्यसैले यो भाइरसको सङ्क्रमण भएमा फोक्सोलाई जोगाउनु नै मुख्य उपाय मानिन्छ । यदि फोक्सोलाई स्वस्थ बनाउन सकियो भने यसको सङ्क्रमणको असर पनि कम हुने देखिएको छ ।

फोक्सोलाई स्वस्थ बनाउन खानपान र फोक्सोसँग सम्बन्धित विभिन्न किसिमका कसरतहरू नियमित गर्ने हो भने यसलाई बलियो बनाउन सकिन्छ । फोक्सोमा कुनै किसिमको इन्फेक्सन भएको खण्डमा यसले दम, ब्रोन्काइटिस, टिबी जस्ता विभिन्न किसिमका रोगहरू निम्त्याउने गर्छ । त्यसैले योगमा फोक्सोलाई बलियो र स्वस्थ बनाउने धेरै किसिमका आसनहरू रहेका छन् । जसको नियमित अभ्यासले फोक्सोलाई बलियो बनाउन मद्दत गर्छ ।

अनुलोम विलोम
फोक्सोलाई बलियो बनाइ शरीरमा अक्सिजनको मात्रा बढाउनका लागि अनुलोम विलोम प्राणायाम धेरै नै सहयोगी सिद्ध आसन मानिन्छ । प्राणायामको यो प्रक्रिया गर्नाले छाला सम्बन्धी विभिन्न किसिमका समस्याहरू हट्टै जान्छ भने मधुमेहका बिमारीहरूको शरीरमा रहेको चिनीको मात्रालाई नियन्त्रण गर्न यो प्रक्रियाले सहयोग गर्छ ।

अनुलोम विलोम गर्ने तरिका

– कुनै पनि चकला, म्याटमा पद्मासन वा सिद्धासनमा बस्ने ।

– दाहिने हातको बुढी औँलाले नाकको दायाँ प्वाललाई थिचेर देब्रे प्वालको सहयोगमा श्वासलाई बिस्तारै लामो समय लगाएर तान्ने ।

– केही बेर रोकेर राखेपछि श्वास तानेको बायाँ नाकको प्वाललाई माझी औँलाले थिच्ने र दायाँ नाकको प्वाल थिचेको बुढी औँलालाई खुकुलो बनाएर सोही प्वालबाट अगाडी लिएको श्वासलाई बिस्तारै बाहिर फ्याँक्ने ।

– माझी औँलाले बायाँ नाकको प्वाल थिचिरहने र दायाँ नाकबाट श्वास फ्याकेपछि सोही प्वालबाट बिस्तारै श्वास लिने । केही बेर रोकेर राखेर दायाँ नाकको प्वाललाई बुढी औँलाले थिचेर बायाँ नाकको प्वाल थिचेको माझी औँलालाई हटाएर उक्त प्वालबाट श्वासलाई बाहिर फ्याँक्ने ।

– जुन नाकको प्वालबाट श्वास फ्याँकिएको हो सोही प्वालबाट श्वास लिने र अर्को प्वालबाट छोड्ने गर्नुपर्छ । यसलाई एक प्रक्रिया भनिन्छ ।

– यो प्रक्रियालाई बिस्तारै ५–१०–१५–२० मिनेट गर्दै एक घण्टासम्म पुर्याउन सकिन्छ ।

भुजंगासन
फोक्सो र मुटुमा बन्द भएको नशाहरू खोल्नका लागि भुजंगासन धेरै नै सहयोग सिद्ध मानिन्छ । यो आसन नियमित रूपमा गर्दा फोक्सोलाई बलियो बनाउँछ साथै मिर्गौला, कलेजोलाई पनि स्वस्थ बनाउन मद्दत गर्छ ।

भुजंगासन गर्ने तरिका

– समतल वा सफा जमिनमा तन्ना, म्याट वा गुन्द्री ओछ्याएर पेटको बलमा सुत्ने र केही बेर आराम गर्ने ।

– दुवै हत्केलालाई जमिनमा टेकेर शरीरको माथिल्लो भागलाई उठाउने ।

– यसरी शरीरको आधा भागलाई उठाउँदा श्वासलाई तान्ने र केही समय रोकेर सोही आसनमा बस्ने ।

– श्वासलाई छोड्दै पहिलाकै अवस्थामा आउने । यो प्रक्रिया दैनिक १० पटक गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?