काबुल विमानस्थलमा अभिभावकबाट छुटेका बालक पाँच महिनापछि यसरी परे फेला

लोकपथ
1.5k
Shares

काबुल । काबुलमा यही अगस्टमा आफ्ना अभिभावकबाट छुटेका दुई वर्षीय बालकको पाँच महिनापछि परिवारसँग मिलन भएको छ । १५ अगस्टमा तालिवानले अफगान सत्ता कब्जामा लिएपछि प्रायः अफगानी देश छोड्न खोजिरहेका थिए ।

देश छोडेर हजारौं मानिस विमानस्थल जाने क्रममा भिडभाड बढेपछि दुई महिनाका बालक सोहिल अहमादीलाई काबुल विमानस्थलको तारबारबाट एक जना अमेरिकी सेनालाई हातमा समाउन दिइएको थियो ।

अमेरिक दूतावासमा सुरक्षाकर्मीको रुपमा काम गरेका उनका बाबु भिर्जा अली अहमद, आमा सुराया र उनीहरुका अरु चार जना काबुल छोड्ने अमेरिकी विमानको एउटा उडानमा चढिसकेका उनीहरुले सोहिल देखेनन् । सोहिलको खोजी भयो, तर भेटिएनन् । विमान अमेरिकातर्फ उडिहाल्यो । छोरा कहाँ छुटे उनीहरुलाई केही थाहा भएन ।

हराएको सानो बालकका कारण उनीहरु महिनौं तड्पिएर बाँचे । तर, रोयर्टसको एउटा समाचारमा हराएका ती बालकबारे एउटा विवरण सार्वजनिक भयो ।

सोहिलबारे परिवारको खोजी भन्ने शीर्षकमा रोयर्टसको समाचार विवरणपछि यही नोभेम्बरमा ती बालक २९ वर्षीय ट्याक्सी ड्राइभर हमिद साफीको घरमा फेला परेका थिए ।

विमानस्थलको एउटा मैदानमा रोइरहेका अवस्थामा साफीले बालकलाई देखेका थिए ।

बालकका परिवार खोज्ने क्रममा उनले सोहिललाई आफ्नो घरमा लगे । लामो खोजी गरे । बालकको जिम्मा लिने कोही भेटाएनन् । त्यसपछि सोहिललाई आफ्नै सन्तानझैँ गरेर पाल्ने निधो गरे ।

श्रीमतीसँग सल्लाह गरेर उनले बालकको नाम मोहमद अबेद राखे । आफ्ना सन्तानसहित सोहिलको तस्बिर पनि आफ्नो फेसबुक पेजमा राखे ।

आफ्नो नाति जिवितै फेला परेको थाहा पाएपछि उनका हजुरबुबा क्वासेम रजवी उत्तरपूर्वी प्रान्त बादक्सानबाट लामो यात्रा गरेर साफीको घर पुगे । तर, साफीले सोहिललाई दिन मानेनन् । बरु आफू र आफ्नो परिवारलाई पनि अमेरिका लगिनुपर्ने माग गरे ।

४९ दिन लामो वार्ता तथा छलफलपछि तालिबान प्रहरीले दुई परिवारबीचको समस्या समाधान गर्‍यो । सहमतिबमोजिम शनिबार साफीले हजुरबुबालाई बालक फिर्ता गरिदिए ।

आफ्नो सन्तान पाँच महिनापछि फेला परेकोमा उनका आमाबाबु निकै खुसी छन्, यद्यपि उनीहरु अमेरिकामा नै छन् ।

‘उनीहरु अहिले नाचगान गरेर रमाएका छन्,’ उनका हजुरबुबाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?