प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कोभिड–१९ निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्री, मुख्यसचिव र सचिवलाई सम्भावित तेस्रो लहरको सङ्क्रमण रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका हुन् । उनले बुस्टर डोज र भारतसँग रहेको खुला नाकामा होल्डिङ सेन्टर स्थापनालाई प्राथमिकता दिनुपर्ने बताए ।
यही पुस २२ गते ५४० मा पुष्टि भएको कोरोना भाइरस सङ्क्रमण आज एकैदिन ९६८ जनामा पुष्टि भएको छ । भारतको पन्जाव, गुजरात, उत्तरप्रदेश, बिहारलगायत प्रदेशमा सङ्क्रमणको तेस्रो लहर फैलिसकेको छ ।
तेस्रो लहर फैलिन नदिनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सङ्क्रमण फैलिन नदिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन गरे । उनले सीमामा तेस्रो लहरको सङ्क्रमणको चुनौति रहेकाले सीमा नाकामा कोरोना भाइरसको परीक्षण दर बढाउन पनि निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले भारतसँग सीमा जोडिएका नाकामा होल्डिङ सेन्टर पनि चाँडै स्थापना गर्न निर्देशन दिए ।
प्रधानमन्त्री देउवाले बुस्टर डोज लगाएपछि तेस्रो लहरको खतरा कम हुने भएकाले सबैलाई बुस्टर डोज लगाउने गरी व्यवस्थापनसमेत गर्न निर्देशन दिए ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकामा चाँडै नै होल्डिङ सेन्टर निर्माण गर्नेतर्फ लाग्नुपर्ने बताए । उनले सङ्क्रमितको पहिचान गरी आइसोलेशनमा राख्नुपर्ने बताए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले विगतको अनुभवलाई लिएर उच्च सतर्कता नअपनाए ठूलो सङ्कट व्यहोर्नु पर्ने भन्दै चाँडै नै सम्भावित तेस्रो लहरको रोकथाम र नियन्त्रणको उच्च तयारीमा लाग्नुपर्ने भनाइ राखे ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ओमिक्रोन भेरियन्टको रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले काम गरिरहेको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शैक्षिक संस्था, पार्टी प्यालेस र भीडभाड हुने ठाउँमा सतर्कता अपनाउन आवश्यक रहेको बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थलको आगमन र प्रस्थान दुवै ठाउँमा पीसीआर परीक्षण गरेर मात्रा यात्रुलाई चढाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नेपालबाहिरबाट आएका सङ्क्रमितलाई होल्डिङ सेन्टरमा राख्नुपर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया