टीयूका सरोकारवालाले निकाले गणितको लफडा

काठमाडौं । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको बैठकले गरेको निर्णयप्रति त्रिवि गणित केन्द्रीय विभाग र नेपाल गणित समाजले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गत जेठ १८ गते बसेको बैठकले गरेको निर्णय सच्याउनु पर्ने आफूहरुको माग रहेको नेपाल गणित समाजका अध्यक्ष प्रा.डा. टंकनाथ धमलाले बताए । 

१८ गतेको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरि प्रस्ताव गरिएको प्रायोगिक गणित हटाउने  र जीव विज्ञान समुहका विद्यार्थीहरुले पुरानो संरचना अनुसार पढ्दै आएको गणित विषय पनि अबको संरचना अनुसार पढ्न नपाउने गरि समुहीकरण गर्ने निर्णय गरेको थियो । 

तर, डा.धमलाले सो निर्णयले विद्यार्थीहरु माथि ठूलो अन्याय हुने र विज्ञान तथा प्रविधिको विकासमा आघात पुग्ने बताए । 

 त्रिवि केन्द्रीय गणित विभागका प्रमुख प्रा.डा. केदारनाथ उप्रेतीले अवको पाठ्यक्रम विज्ञान, प्रविधि मैत्री भएमा मात्र देश  विकासको सहि मार्गमा अघि बढ्न सक्ने बताउँदै भने, ‘अन्यथा विकास र समृद्धि हाम्रा लागि मृगतृष्ण मात्र हुनेछ तर अहिले आएको पाठ्यक्रममा त्यस अनुरुप नआएको तथा प्रविधिको यो समयमा विज्ञान तथा प्रविधिको आधार स्तम्भ तथा मेरुदण्डको रुपमा रहेको साथै विश्वका प्राय मुलुकहरुमा विद्यालय तहको पाठ्यक्रममा अनिवार्य समावेश हुने गणित विषय हाम्रो देशमा भने समावेश नगरिनु दुर्भाग्यपूर्ण छ।’

यसैगरी नेपाल गणित समाजका केन्द्रीय सदस्य तथा  गणित केन्द्रीय विभागका उप प्राध्यापक जीवन काफ्लेले  त्रिभुवन विश्वविद्यालयका कृषि तथा वन विज्ञान, कम्प्युटर विज्ञान जस्ता विषयहरुमा प्रवेश पाउन कम्तिमा क्रमशः ५० र १०० पूर्णाङ्कको गणित अनिवार्य रुपमा पास गरेको हुनुपर्ने बताउमँदै भने, ‘कृषि तथा वन विज्ञान कार्यक्रममा  भर्ना हुन आउने विद्यार्थी नै जीव विज्ञान समुहका हुन्छन् । पोखरा, काठमाडौं, पुर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयहरुमा इन्जिनियरिङ तथा सूचना प्रविधि कार्यक्रमहरुमा प्रवेश पाउन कम्तिमा १०० पूर्णाङ्कको गणित उत्तिर्ण गरेको हुन पर्ने प्रस्ट व्यवस्था हुँदाहुँदै पनि यो व्यवस्थाले गर्दा जीव विज्ञान समुहका विद्यार्थीहरुले उक्त विश्वविद्यालयहरुमा माथि उल्लिखित कार्यक्रमहरु अध्ययन गर्न नपाउने भएका छन् ।’

यस्तै  व्यवस्थापन विषय समुहका विद्यार्थीहरुले अर्थशास्त्र र वाणिज्य गणित मध्ये एकमात्र रोज्नु पर्ने बाध्यता रहने पनि उनको भनाई छ । 

त्रि.वि. को  बीएस्सी (सीएसआईटी)मा प्रवेश पाउने ५० प्र्रतिशत भन्दा बढी विद्यार्थीहरु जीव विज्ञान अन्र्तगत १०० पूर्णाङ्कको गणित पढेको हुनेमा पाठ्यक्रमको यो व्यवस्थाले उक्त समुहका विद्यार्थीहरु भविष्यमा यो कार्यक्रमको लागि अयोग्य हुने अवस्था रहेको त्रि.वि. कम्प्युटर विज्ञान केन्द्रीय विभागका प्रमुख नवराज पौडेलले बताए । 

डाक्टर, इन्जिनियर, पाईलट, कृषि विज्ञ लगायतका विशिष्ट प्राविधिक विषयमा आफ्नो भविश्य खोज्ने विद्यार्थीहरुलार्य सोही क्षेत्रका विषयहरु नै जीवनउपयोगी हुन्छन् । तर यो पाठ्यक्रमले  यी समुहका विद्यार्थीहरुका लागि जीवनउपयोगी नरहने त्रिचन्द्र क्याम्पसकाका उप प्राध्यापक चेतनाथ तिवारीले बताए । 

यसबारे मन्त्री पोखरेलको ध्यानाकर्षण गराउँदै त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभाग र नेपाल गणित समाजले ज्ञापनपत्र बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?