टिकटकमा विकृति : कता जाँदै छन् नयाँ पुस्ता ?

भर्खरै मात्र एउटा बच्चाले कसैलाई गाली गरिरहेको टिकटक भिडियो टिकटकदेखि फेसबुकसम्ममा भाइरल बन्यो।

भिडियोमा बच्चाको आक्रोश र सुन्दै अचम्म लाग्नेगरी उसले बोलेका अश्लिल र तुच्छ शब्दहरु सुनिन्छ । वरिपरि तामाङ भाषा बोल्दै केही महिलाहरु उक्त बालकको गालीलाई सुनेर हाँसिरहेको आवाज आउँछ ।

उनीहरुको हाँसोले बालकलाई अझै हौसला दिएझैँ हुन्छ । केहीले भने त्यस्तो भन्नु हुँदैन भनेको सुनिन्छ ।

असाधारण कुरा त के भने बच्चालाई त्यस्तो अराजक शब्द बोल्न सिकाउने अभिभावक कस्तो ? बच्चालाई हुर्काएको वातावरण कस्तो ? अझै बच्चाले बोलेको असभ्य शब्दहरुको भिडियो खिच्ने र सार्वजनिक गर्ने मान्छेको मानसिकता कस्तो हो ?

अझ यस्तो किसिमका असभ्य गालीका शब्दमा हाउभाउ गर्दै थुप्रैले आफ्नो टिकटक बनाएका छन् भने कतिले आफ्ना कलिला बच्चाको भिडियो राखेर टिकटक बनाएका छन् ।

त्यस्तै अर्को एउटा बालकले पनि त्यसरी नै नेपाली समाजमा अपाच्य मानिने या भनौँ अश्लिल शब्द बोल्दै गरेको भिडियो टिकटकमा भाइरल बन्यो । त्यो आवाजमा पनि धेरैले टिकटक बनाएका छन् ।

यी भिडियोले मलाई निकैबेर भावविहीन बनायो । हाम्रो समाज, हाम्रो भविष्य कतातिर जाँदै छ र हामीले हाम्रा सन्तानलाई कस्तो किसिमको वातावरणमा हुर्काइरहेका छौँ भन्ने कुराको नमूना हुन्, यस्ता भिडियो ।

बिनाअकाउन्ट पनि हेर्न मिल्ने टिकटकबाट उक्त भिडियो कति जना बालबालिकाको कानसम्म पुग्यो होला ? भिडियोबाट जाने सन्देश के होला ? सम्हाल्नै नसकिनेझैँ देखिने बालकको आक्रोशको असर पछि कस्तो होला ? बालकको मानसिकतामा पछि गएर कस्तो असर पर्छ होला ? यी र यस्ता प्रश्न मेरो मनमा उठिरहे ।

पछिल्लो समय कुनै पनि प्रकारको संवेदनशीलतालाई ध्यान नदिई व्यक्तिका अनावश्यक कुराहरु यसरी धमाधम टिकटकमा आउन थालेका छन् । यस्ता कैयौँ भिडियोहरुले गर्दा टिकटक कोही दोस्रो व्यक्तिको अगाडि हेर्नसक्ने अवस्थाका छैनन् ।

पछिल्लो समयमा टिकटक, फेसबुकलगायत सामाजिक सञ्जाल र अन्य गेमका कारणले बालबालिकाका अभिभावक समेत हैरानीमा छन् । भनेको नमान्ने, घमण्ड गर्ने, टिकटक र मोबाइलमै अलमलिनेजस्ता समस्या एकातिर छन् भने अर्कातिर उनीहरु बिस्तारै असामाजिक बन्दै गएको समेत देख्न सकिन्छ ।

‘घरमा श्रीमानका साथीहरु आएको बेला छोरालाई नमस्कार गर बाबु भनेको मरिगए नमानेर म त मरेजस्तै भएँ’ एकदिन छिमेकी दिदीले भनिन्, ‘हैन, अहिलेका बच्चाहरूलाई नमस्कार गर्न पनि कति सिकाउनुपर्ने हो ?’ सधैँ टिकटकमा झुण्डिरहने ९ वर्षका उनका छोरा केही सुने नसुनेझैँ गरेर बस्छ ।

साथीहरु गइसकेपछि श्रीमानले उनलाई बेस्सरी झपारे रे । तिमीले गर्दा बच्चाले संस्कार सिकेन भनेर ।

‘मैले पनि भने तपाईँ पनि त सँगै हुनुहुन्छ किन नसिकाएको त ?’, उनले भनिन्, ‘बच्चाले राम्रो काम गर्दा ‘मेरो छोराछोरी’ भन्ने, अलिकति तलमाथि भए श्रीमतीलाई दोष दिँदै ‘तिमीले गर्दा’ भन्ने ?’ उनले आक्रोश पोखिन् ।

बिहान उठेदेखि ननिदाउन्जेलसम्म छोरा टिकटकमै झुण्डिएको देखेर आजित छन्, यी दम्पती ।

त्यस्तै एउटा मिटिङमा जाँदा एकजना पत्रकार दाइले भनेका थिए, ‘छोरी सधैँ मोबाइल र टिकटकमा मात्रै घोत्लिने भएर स्कुलले पढाइ बिग्रिएको कम्प्लेन पठाको छ के गर्ने होला ?’

उनको चिन्ता त्यति मात्रै होइन श्रीमतीलाई भनेर मोबाइल खोस्न लगाएको चार÷पाँच दिनसम्म त छोरीले केही खाँदै खाइनन् । कक्षा ८ मा पढ्ने १३ वर्षकी छोरीमा टिकटकले पारेको मानसिक असर र भविष्यलाई लिएर उनको पनि श्रीमतीसँग बेला–बेलामा मनमुटाव भइरहने उनले सुनाए ।

अहिले धेरै अभिभावकको समस्या र चिन्ता यस्तै नै छ । आफ्ना बालबालिकाहरुको व्यवहार रुखो र असामान्य बन्दै गएपछि अभिभावकको मनमा चिन्ता त पस्ने नै भयो । बालबालिका मात्रै होइन पछिल्लो समय युवा, प्रौढ, वृद्ध सबै नै टिकटकको लतमा फसेका छन् ।

छोराछोरी कोठाबाट ननिस्कने, जतिबेला पनि टिकटकको दुनियाँमै रमाइरहने, खान बोलाउँदा समयमा भान्सामा आए भने ठूलै गुन लगाएकोझैँ ठान्नुपर्ने अवस्था अहिले धेरै बाबुआमाले झेलिरहेका छन् ।

कतिपय सन्तान बाबुआमाको बिग्रँदो सम्बन्धले तनावमा छन् । पतिपत्नीबीच कामचलाउ सम्बन्ध अघि बढिरहेकामध्ये पनि धेरैजसो सन्तानका कारण तनावमा छन् । टिकटकले संसारमा धेरैलाई अवसरको ढोका खोल्दै जाँदा हाम्रा कतिपय भावनात्मक सम्बन्धका ढोका भने बन्द गरिरहेको छ ।

२०२१ मा सबैभन्दा बढी डाउनलोड भएको एप टिकटक अहिले अधिकांश एन्ड्रोइड र एपल फोन युजरको मोबाइलमा हुन्छ नै । यसको बारेमा नजानेको वा यसलाई नचिनेको सायदै कोही होलान् ।

नेपालका ग्रामीण क्षेत्रमा जहाँ इन्टरनेटको सहजता छैन, त्यहाँका मानिसहरु मोबाइल डाटाबाट टिकटक चलाउने गर्छन् । उनीहरुले प्रतिदिन कति खर्च गर्छन् ? विदेशी भूमिबाट दुःख गरेर हाम्रा परिवारका सदस्यले पठाएका रेमिट्यान्सबाट आएका पैसाको कति हिस्सा टिकटकमा खर्च भइरहेको छ ? यस्ता कुराको हेक्का कसैले राखेको पाइँदैन ।

टिकटकमा आइरहेको विकृतिलाई लिएर थुप्रै आलोचनाहरु हुनेगरेका छन् । पछिल्लो समय टिकटकमा आवश्यकभन्दा धेरै विकृतिपना र अश्लीलपना देखापरिरहेका छन् । चर्चामा आउने र भाइरल हुने बहानामा अश्लिल र अवान्छित भिडियोहरु सार्वजनिक भइरहेका छन् ।

यसले धेरै मानिसहरुको चरित्र हत्या गराएको छ । यसैमा माध्यमबाट क्षणिक रुपमा भाइरल भएका छन् । यी माध्यमहरुले जति लोकप्रियता कमाएका छन्, त्यति नै आलोचना पनि पाएको छ ।

प्रयोगकर्ताको प्राइभेसीलाई लिएर टिकटक धेरै नै आलोचित भइरहेको छ । धेरै देशहरुले टिकटक एपलाई ब्याण्ड गरिसकेका छन् ।

कोभिड १९ र यसले निम्त्याएको लकडाउनका कारण टिकटकलाई धेरैले प्रयोग गर्न थालेको एक अध्ययनले देखाएको छ । परिवार र समाजभन्दा टाढाको संसारमा रहेका मान्छेका रुपमा बनाइसकेका छन् ।

बदनामी हुने र लोकप्रिय हुने धेरै मानिसहरु छन् । जसले पनि टिकटक प्रयोग गर्न सक्ने, जो पनि भाइरल हुनसक्ने भएका कारण पनि टिकटक प्रयोगकर्ताहरु बढिरहेको देखिन्छ ।

यस्ता प्रविधिले फड्को मारेसँगै जानेको, सुनेको, देखेको, सोचेको, टाढाको, नजिकको, नातेदारको या सार्वजनिक व्यक्तित्वको सबैका कुरा टिकटकमा आउन थाले । सुन्न र देख्नै नपर्ने कुराहरू पनि बाध्य भएर सुन्नु र हेर्नुपर्ने भयो ।

पछिल्लो समय टिकटक भिडियोलगायतका सामाजिक सञ्जालले साथीहरू के गरिरहेका छन्, आफन्तहरू कता छन्, के गर्दै छन् लगायतका जानकारी मात्र दिइरहेको छैन, साथमा रहेकाहरू आफूसँग दूरी कायम गर्दा कति खुसीसँग समय बिताइरहेका छन् भन्ने कुराको महसुस पनि गराइरहेको छ ।

उटै घरमा बस्नेहरू मात्र नभएर एउटै कोठा र ओछ्यानमा रहेकाहरू पनि टिकटकलगायत सामाजिक सञ्जालका कारण टाढा हुन थालेका छन् । दिनप्रतिदिन हेर्दाहेर्दै मानिसलाई यस्ता किसिमका सामाजिक सञ्जालले छरपष्ट बनाइरहेको छ ।

मार्निङवाकदेखि भान्सा हुँदै मान्छे मरेका, श्राद्ध गरेकादेखि काजकिरियासम्मका भिडियोहरू आउन थालेका छन् अहिले टिकटकमै । जति अश्लिल र असामान्य व्यवहारका भिडियोहरू दिन सक्यो त्यति दर्शक र फलोअर्स बढ्ने देखिइरहेको छ अहिले ।

मान्छेका व्यक्तिगत कुरा अब व्यक्तिगत रहेनन् । सबै कुरा छरपस्ट गरेपछि समाज कता जान्छ ?
हाम्रो यात्रा कता जाँदै छ ? हामी सबैले आ–आफ्नो ठाउँबाट मनन गर्नुपर्ने बेला आएको छ । संविधानले हामीलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ, उत्तरदायीचाहिँ नागरिक आफैँ बन्ने हो ।

हरेक मानिसका व्यक्तिगत र सार्वजनिक सीमाहरू हुन्छन् । व्यक्तिगत जीवन बाँचिरहेका मानिसका पनि सार्वजनिक रूपमा गर्न मिल्ने–नमिल्ने कुराहरू हुन्छन् । हिजोको परिस्थिति फरक थियो । आजको यतिको छ, भोलिको अवस्था झनै डरलाग्दो हुने देखिन्छ ।

सूचना प्रविधिले पछिल्ला पुस्ताहरुका जीवनमा जति अवसरहरू ल्याइरहेको छ, जोखिमहरू पनि त्यत्तिकै बढाइरहेको छ ।

यसरी टिकटकलगायत सामाजिक सञ्जालका विकृतिले समाजलाई पार्ने असरको जिम्मा कसले लिने ?

चिनी पनि धेरै खाए तितो हुन्छ भन्छन्, हरेक कुरा ठीक किसिमले प्रयोग गर्न जान्यो भने आशीर्वाद नत्र अभिषाप हुन सक्छ । यस्ता किसिमका सामाजिक सञ्जाल अभिषाप नबनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?