स्थानीय तह : प्रमुख र उपप्रमुखको विवाद उत्कर्षमा, झन् बढ्दै छ दूरी

काठमाडौं । गत मंसिर २३ मा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद चर्किँदा अध्यक्ष सूर्यनारायण मण्डलको अगाडिका दुईवटा दाँत झरेको समाचार सामाजिक सञ्जाललगायत मिडियामा चर्चा चल्यो ।

अनुदानमा आएको गहुँको बीउ वितरणसम्बन्धी छलफलका क्रममा अध्यक्ष मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच भएको विवाद झडपको अवस्थामा पुगेको थियो ।

अध्यक्ष सूर्यनारायणले आफ्नो कुरा नसुन्ने गरेको र पटक–पटक आफूलाई दुव्र्यवहार गर्न खोजेको आरोप छ, उपाध्यक्ष मण्डलको ।

रौतहट जिल्लाका विभिन्न स्थानीय तहमा प्रमुख र उपप्रमुखको विवादको कारण विकास निर्माण नै प्रभावित भएको पाइएको छ । प्रमुखले उपप्रमुखको कार्यक्षेत्रमाथि हस्तक्षेप गर्ने र उपप्रमुखलाई नीति–निर्णयमा संलग्न नगराउने प्रवृत्तिका कारण विवाद देखिएको हो ।

अहिले विकास त अलि परको कुरा, प्रमुख र उपप्रमुख मिलेर काम गरिरहेका छन्, भन्ने सुन्न पाइयो भने त्यसलाई ठूलै उपलब्धिझैँ मान्नुपर्ने अवस्था छ । जहाँ गए पनि ‘प्रमुख र उपप्रमुखको झगडाले खै केही हुनै सकेन’ भन्ने मात्र सुनिन्छ ।

मेयर, उपमेयरसहित सबै पदाधिकारी मिलेर आफ्नो ठाउँका लागि, जनताका लागि काम गरिरहेका पनि छन् । तर त्यसप्रकारका कथाहरू पाउन मुस्किल छ ।

यमुनामाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच पनि सम्बन्ध राम्रो छैन । उपप्रमुख गीतादेवी साहले आफूलाई प्रमुख श्रीप्रसाद मुखियाले काम गर्न नदिएको आरोप बारम्बार लगाउँछिन् । उपप्रमुख साहले प्रमुख मुखियामाथि आफूलाई हातपात गर्दै अभद्र व्यवहार गर्न खोजेको आरोप पनि लगाएकी थिइन् ।

पर्साको पोखरीया नगरपालिकाकी उपप्रमुख सलमा खातुन भन्छिन्, ‘पालिकाले ठूला योजनाहरू बनाउँदा, बजेट छुट्ट्याउँदा वा अन्य महत्वपूर्ण कामहरू गर्दा हामीलाई खोजिँदैन ।’

राजदेवी नगरपालिकाकी उपमेयर अंसु सिंहले गत श्रावणमा प्रमुख प्रशासकीय अधिकृत सुबोध साहलाई कार्यकक्षमै थुनिन् । कार्यपालिकाको बैठक र नगरसभाको माइनटको फोटोकपी उपलब्ध गराइदिन पटक–पटक नगरप्रमुख र प्रशासकीय अधिकृतलाई मौखिक र लिखित आग्रह गर्दा समेत दिन नमानेपछि आवेशमा आएर उपमेयर सिंहले अधिकृत साहलाई थुनेको बताइन् ।

उपमेयर सिंहले पनि मेयर धीरेन्द्र यादवले एकलौटी ढंगले हैकमवाद चलाएको आरोप लगाइन् । मेयर आफैँले उपमेयरको अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै काम गर्ने वातावरण नै नभएको बताइन् ।

त्यसैगरी सिन्धुलीको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगरलाई उपाध्यक्ष पदम माया तामाङले आर्थिक अनियमितताको आरोप लगाउँदै आएकी छिन् । अध्यक्ष र उपाध्यक्षबीचको विवादकै कारण गाउँपालिकाले यस वर्ष समयमा बजेट ल्याउन सकेन ।

सर्लाही जिल्लाको बलरा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षबीचको विवादले बलरा नगरपालिकाको कार्यालयमा पटक–पटक तालाबन्दी हुँदै आयो । उपप्रमुख रामसखी देवी र वडाध्यक्षसहितले नगरपालिका कार्यालयमा तालाबन्दी गरेपछि नगरप्रमुख अभयकुमार सिंहले आफ्नै गाउँ हथियौलमा नगरपालिकाको बेग्लै कार्यालय खोलेका थिए ।

विवादका कारण नगरपालिकाबाट औषधि खरिद भएन ।  नगरपालिका मातहतका विभिन्न स्वास्थ्य चौकीको एम्बुलेन्स समेत नगरपालिका कार्यालयमा राखिएका थिए ।

लामो समयसम्म विवादमा रहेको बलरा नगरपालिकाका जनप्रतिनिधिहरूबीचको सम्बन्ध अहिले पनि राम्रो छैन ।

सप्तरीको बोदे बरसाइन नगरपालिकाकी उपप्रमुख रञ्जुकुमारी साह तेलीले आफ्नो पदको अधिकार दिलाइदिन भन्दै जिल्ला समन्वय समिति, जिल्ला प्रशासनदेखि लिएर प्रदेश २ का मुख्यमन्त्रीसम्मलाई गुहारिन् ।

‘मलाई न त कुनै बजेटको जानकारी गराइन्छ, न कुनै योजनाबारे नै’, उपप्रमुख साह भन्छिन्, ‘कुनै पनि फाइलमा सही गर्नु छ भने बिना कुनै जानकारी र सोधपुछ सही गर्न दबाब दिइन्छ । बढी सोधियो भने बाइपास गरेर सबै काम नगरप्रमुखज्यूले आफैँ गर्नुहुन्छ ।’

यो पदमा पुगेर तनाव र अपमानबाहेक केही नपाएको दुखेसो साहको छ ।

ऐन कानुनले स्थानीय तहको प्रमुख र उपप्रमुखको अधिकारको किटान नै गरेको छ । तर पनि प्रमुखले उपप्रमुखलाई बिल भर्पाइमा सही गर्ने व्यक्तिको रूपमा मात्र उपयोग गर्न खोजेको आरोप अधिकांश उपप्रमुखहरूले लगाउने गरेका छन् ।

विवादकै कारण फतुवा विजयपुर, बौद्धीमाई, देवाही गोनाही नगरपालिकाको नगरपरिषद् निकै ढिलो सम्पन्न भयो । प्रमुख र उपप्रमुख दुवैजना नियमानुसार नचल्दा  विकासमा ठूलो क्षति भइरहेको सर्वसाधारणहरूको गुनासो छ ।

यी कुराहरुलाई हेर्दा निर्वाचनपछि स्थानीय तहमा जुन प्रकारको परिवर्तनको अपेक्षा गरिएको थियो, पाँच वर्ष लगभग बितिसक्दा खासै अनुभव गर्न पाइएको छैन ।

देशभरका धेरै मेयर, उपमेयर या प्रमुख, उपप्रमुखका झगडा नगरपालिका, गाउँपालिकामा मात्र सीमित छैनन् । मिडिया र सामाजिक सञ्जालभरि व्याप्त छन् । कतिले सार्वजनिक रूपमा भाषण गरेर, कतिले फेसबुकमा लेखेर त कतिले पत्रकार सम्मेलन नै गरेर मनमुटावहरू बाहिर ल्याइरहेका छन् ।

धेरैजसो उपमेयर र उपप्रमुखहरूको गुनासो मेयर या प्रमुखले आफ्नो कुरा नसुनेको, निर्णय प्रक्रियामा आफूलाई सहभागी नबनाएको, आफूखुसी बजेट खर्च गरेको, आफूसहितको बैठकबाट गरिनुपर्ने निर्णयहरूमा आफूलाई जानकारी नदिएको, अधिकार नदिएको लगायत प्रकारका छन् ।

प्रमुख–उपप्रमुखको झगडा अधिकांशलाई हेर्दा धेरैजसो मेयर या प्रमुख पुरुष, उपप्रमुख महिला भएको अर्थमा लैंगिक लडाइँ भएको राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौड्याल खतिवडा बताउँछिन् ।


‘पितृसत्ताकै कारण महिलाहरू दबिएर बस्नुपरेको छ । घरमा श्रीमतीलाई दबाएर राखेजस्तो उपप्रमखलाई आफ्नो अधीनमा राख्न खोज्छन्, स्थानीय तहका प्रमुखहरू’, उनले भनिन् ।

तर प्रमुख–उपप्रमुख दुवै महिला अथवा दुवै पुरुष भएको ठाउँमा पनि उस्तै छ । उदाहरणका लागि भुमिकास्थान नगरपालिकामा पनि मेयर र उपमेयरबीच सम्बन्ध राम्रो छैन । नगरपालिकाका प्रवक्ता बाबुराम पन्थी सुनारका अनुसार मेयर र उपमेयरबीच राजनितिक विचार बाझिएका कारण विवाद बढेको बताए ।

प्रवक्ता सुनारका अनुसार भुमिकास्थान नगरपालिकाका मेयर रमेश थापा पूर्वमाओवादी केन्द्र हुँदै हाल नेकमा माओवादीका हुन् भने उपप्रमुख खडानन्द बेलबासे नेपाली कांग्रेसका हुन् । हाल उनीहरूबीच बोलचाल छैन । फरक राजनीतिक विचार भएकै कारण उनीहरूबीच विवाद भएको उनले बताए ।

भरतपुर उपमहानगरपालिकामा मेयर–उपमेयर दुवै महिला छन् । तर त्यहाँको झगडा प्रेस सम्मेलनसम्मै पुगेको थियो । यसरी राजनीतिक दलबीचको लडाइँ हो भनेर हेर्दा एउटै दलबीच पनि सौहार्दपूर्ण वातावरण छैन । गाउँ, नगरको विकासभन्दा पनि आफ्नो विकासमा उनीहरूबीच एकमत हुने गरेको चर्चा धेरै छन् ।

कतिपय स्थानमा प्रमुख र उपप्रमुखका झगडा हेर्दा ‘मैले जनताको हितमा यस्तो गर्न खोजेको थिएँ गर्न पाइनँ’ भन्ने भए पनि धैरै स्थानमा उसले यस्तो सुविधा लियो मलाई दिएन, उसले यस्तो गाडी चढ्यो मैले पाइनँ भन्ने प्रकारका छन् ।

निर्णय प्रक्रियामा आफूलाई सहभागी नबनाएको भन्नेहरूको संख्या पनि ठूलो छ । उपमेयरमा धेरैजसो महिला भएको र न्यायिक समितिका संयोजक उपप्रमुख नै रहेको सन्दर्भमा मेयरले विभेद गर्दा चुप लागेर बस्ने तपाईँहरूले अरूलाई के न्याय दिनुहोला ? भन्ने प्रश्न पनि उठाउन थालिएको छ ।

मुख्य पात्र मेयरले जनप्रतिनिधि हुनुको अर्थ जिम्मेवारी र जवाफदेहिता हो भन्ने ठान्ने हो भने उपमेयरहरूले उक्त मान्यतालाई फलो गर्नुपर्ने अवस्था आउने जानकारहरू बताउँछन् ।

एक–अर्कामा झगडा गरेर समय बिताउनका लागि नभएर जनताका समस्याहरुलाई समाधान गर्दै सौहार्दपूर्ण वातावरणमा विकासका काम अघि बढाउन जनप्रतिनिधिको व्यवस्था गरिएको हो । विगतमा जे भएपनि प्रमुख–उपप्रमुख दुवैले बढ्दै गएको दूरीलाई घटाएर अबको समयमा अघि बढ्नु नै भोलिको नेतृत्वका लागि सहज हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?