नेता पुनले चीनमा बढाए भेटघाट

लोकपथ
105
Shares

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन् । सोमबार मात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले आज ग्वान्झाओका महावाणिज्यदूत लगायतको टोलीसँग भेट गरेका हुन् । भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागी थिए ।

यतिबेला पुनको पार्टी नेकपा माओवादी केन्द्र भने काठमाडौंमा आठौं महाधिवेशन गरिरहेको छ ।

बिहीबारको भेटका क्रममा नेपाली टोलीले चीनसँगको व्यापार तथा पारवहन लगायतका क्षेत्रमा अवस्था सहज बनाउनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराईदिन माग गरेका थिए ।

नेता पुनको स्वास्थ्य लाभको कामना गर्न सेनजेनस्थित अस्पतालमा पुगेका उनीहरुले तातोपानी तथा केरुगं नाकाबाट आयात निर्यातको मात्रा बढाउनु पर्ने, नेपाल चीनबीचको उडान सूचारु गराउन नेपाल सरकारले पहल गर्नुपर्ने बताएका थिए । नेता पुनले यस विषयमा नेपाल आएर सरकारसँग छलफल गरेर पहल गर्ने जवाफ दिएको भेटमा सहभागि पूर्वसभामुख तथा नेता पुनकी पत्नी ओनसरी घर्तीले जानकारी दिएको पुनको सचिवालयले जनाएको छ ।

महावाणिज्यदूत पुडासैनीले चीन सरकार नेपालको कृषि, वाणिज्य तथा व्यापारलगायतका क्षेत्रमा सहयोग र ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्न समेत उत्सुक रहेकाले सोही अनुसारको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए ।

नेता पुनसँग केही दिन अघि ल्हासाका महावाणिज्यदूत नवराज ढकालले पनि भेट गरेर स्वास्थ्य लाभको कामनासहित दुई देशबीचको व्यापार र वाणिज्यको क्षेत्र फराकिलो बनाउन पहल गरिदिन माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?