चार विद्यार्थीले बनाए चारपाङ्ग्रे विद्युतीय गाडी

धनगढी । कैलालीको धनगढीस्थित एक्सिस विद्याश्रम कक्षा १० का विद्यार्थी हुन्, ऋषिकेश थापा । उनले तीन वर्षअघिदेखि विद्युतीय चारपाङ्ग्रे गाडी बनाउने सपना देखे । उनको सपना अहिले पूरा भएको छ ।

ऋषिकेशले धनगढीका विभिन्न सडकमा आफूले निर्माण गरेको गाडी प्रदर्शन गरिरहेका छन् । उनले आफ्नो उत्पादनलाई ‘सारअल्फा’ नामाकरण गरेका छन् । उनका सहपाठीहरू सक्षम रेग्मी, रोहित ऐर र आदित्य जोशीको साथ पाएर उनले सो गाडी निर्माण गर्न सम्भव भएको बताए ।

No description available.

‘तीन वर्षदेखि नै चारपाङ्ग्रे गाडी बनाउने मेरो सोच थियोे । म र मेरा साथीहरू यसबारे अध्ययनमा लाग्यौँ’ ऋषिकेशले भने, ‘कोभिड–१९ महामारीको दोस्रो भेरियन्टको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि सरकारले जारी गरेको लकडाउनको सदुपयोग गरेर हामी यो बनाउन सफल भयौँ ।

ऋषिकेश र उनका साथीहरूले कवाडमा रहेका फलाम, सिल्भर, गाडीका पार्टपुर्जालगायत संकलन गरे । ती सबै सामान डिबी अटोपार्टसमा राखे । सोही अटोपार्टसको सहयोगमा उनीहरूले आफ्नो सीप र दक्षताअनुसार सो गाडी बनाएको ऋषिकेशले बताए ।

‘सुरुमै हामीलाई आर्थिक समस्या थियो । घरपरिवार, साथीभाइ, छरछिमेकी सबैसँग आर्थिक सहयोग माग्यौँ । घरपरिवारबाट राम्रो साथ र सहयोग पायौँ’, उनले भने, ‘अहिले एसईई नजिकिएको छ । यस्तो बेला सबैका अभिभावकहरू पढाइमा ध्यान दे भन्छन् । कहाँ अरु कुरामा ध्यान दिन्छस् भन्छन् होला तर, घरपरिवारले मलाई गर्न सक्छ भनेर थप हौसला दिनुभयो । कुनै रोकटोक गर्नुभको छैन ।’

उनले गाडी बनाए पनि पूर्ण भने हुन नसकेको बताए । सो गाडीमा १२ भोल्टको पाँचवटा ब्याट्री राखिएको छ ।

‘गाडीको मुख्य भनेको मोटर र ब्याट्री हो’, उनले भने, ‘अहिले हामीले उधारोमा अरुसँग पाँच ब्याट्री ल्याएर बनाएका छौँ । छिट्टै हामी आफ्नै लिक्विड ब्याट्री बनाउने तयारीमा छौँ । त्यसपछि हामी आफैँले गाडी बनाएको भनेर घोषणा गर्छौँ ।’

No description available.

करिब चार महिना लगाएर उनीहरूले तयार गरेको सो गाडीमा अहिलेसम्म डेढ लाख रुपैयाँ खर्च भइसकेको छ । रातभरि चार्ज गरेमा दिनभरि ५० देखि ६० किलोमिटरसम्म गुडाउन सकिनेछ ।

बिनाचाबी ‘स्विच बटन’ बाट खोल्ने, हर्न दिने, अगाडि पछाडि गर्न मिल्ने गरी बनाइएको छ । सो गाडीमा आठ क्विन्टल भारसहित पाँच जना व्यक्ति बस्न मिल्नेछ । गाडीको ड्यासबोर्डमा मोबाइल राखिएको छ । सो मोबाइलमा गाडीको गति देखिन्छ ।

‘अहिले हामीले गाडी बनाउन सक्छौँ भनेर यो नमूनाका रुपमा बनाएका हौँ । यसलाई पूर्णता दिन अझै पनि हामीसँग आर्थिक अभाव छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?