मानवसेवा आश्रमद्वारा छ हजार २ सय जनाभन्दा बढीको उद्धार

RSS
52
Shares

बागमती । मानव सेवा आश्रम स्थापना भएको नौ वर्ष पुगेको छ । नेपाललाई सहयोगापेक्षी सडक मानवरहित बनाउने उद्देश्यका साथ स्थापना भएको आश्रमले विगत नौ वर्षमा छ हजार २ सय ७५ जनालाई उद्धार गरेको छ ।

उद्धार गरिएका सडक मानवमध्ये सो अवधिमा दुई हजार ४ सय २५ जनालाई परिवारसँग पुनर्मिलन गराएको आश्रमले जनाएको छ ।

मानव आश्रमका होमना पौडेलले उद्धार गरिएकामध्ये आश्रमबाट एक हजार ६७ जना उपचारपश्चात् स्वेच्छाले घर फर्केका छन् भने ६ सय ३४ जना आश्रमको संरक्षणमा रहँदा निधन भएको जानकारी दिइन् ।

आश्रमका अनुसार हालसम्म ३ सय ५४ जनाको सामुदायिक पुनःस्थापना भएको छ । हाल आश्रमका सातै प्रदेशको १७ जिल्लामा २३ सेवा केन्द्रमार्फत एक हजार ५ सय ६७ जना आश्रित रहेका छन् । आश्रमको मुख्य कार्यालय हेटौँडामा रहेको छ ।

सो कार्यालयबाट हालसम्म एक हजार ३ सय ५५ जनाको उद्धार भएको छ भने ७ सय ३६ जनाको पारिवारिक मिलन गराइएको छ ।

उपचारपश्चात् स्वेच्छाले ३ सय ३६ जना घर फर्केका छन् भने १ सय ४७ को आश्रममा निधन भएको आश्रमले जनाएको छ । साथै ४३ जनाको सामूदायिक पुनःस्थापना गरिएको छ । हाल हेटौँडा आश्रममा १ सय ६७ जना आश्रित रहेको पौडेलले बताए ।

मानवसेवा आश्रमले सडकमा बेवारिसे अवस्थामा रहेका मानिसको उद्धार गरी उनीहरुलाई पुनःस्थापना गर्ने र स्वास्थ्यावस्था राम्रो भएपछि घर परिवारबारे जानकारी लिने गरेको छ ।

परिवारबारे जानकारीपछि पुनःमिलन गराउने गरिएको उनको भनाइ छ । आश्रममा आश्रय लिएका अधिकांश मासिक सन्तुलन गुमाएका र घरबारविहिन रहेका हुन्छन् ।

उद्धार गरिएका व्यक्तिले आश्रममा आफ्नो इच्छाअनुसार कामगर्ने गरेको बताइएको छ ।

आश्रमको आर्थिक वर्ष २०७७/७८ मा कूल आम्दानी २३ करोड ९६ लाख ७९ हजार ३ सय ९५ रुपैयाँ र खर्च १२ करोड ७८ लाख ५८ हजार २ सय २१ रुपैयाँ तथा बचत ११ करोड १८ लाख २१ हजार १ सय ७४ रुपैयाँ रहेको आश्रमले जनाएको छ ।

आश्रमलाई तीनै तहका सरकारी निकाय, अन्य संघसंस्था र व्यक्तिबाट सो रकम प्राप्त भएको हो । आश्रममा प्रत्येक महिनाको पहिलो हप्तामा मानसिक रोग विशेषज्ञबाट उपचार हुने गरेको छ । आश्रममा सेवाका लागि दुई नर्सको व्यवस्था गरिएको छ ।

आश्रममा महिला र पुरुष छुट्टै राख्ने व्यवस्था गरेको छ । नेपालको सडक मानवमुक्त घोषणा अभियानलाई सार्थक बनाउन सो संस्था लागेको पौडेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?