काठमाडौं । आज क्रिसमस डे । पछिल्लो समय नेपालमा पनि क्रिसमस निकै महत्वका साथ मनाइन्छ ।
क्रिसमस नजिकिँदै गर्दा पसलहरुमा देखिने सान्टा क्लसको लुगा र टोपी, क्रिसमस ट्री र त्यसलाई सजाउने सामग्रीहरु आदिले पनि यो कुराको पुष्टि गर्दछन् ।
आफ्ना आफन्त, साथीभाइसँग भेटघाट गर्ने, मीठोमसिनो खाने, क्रिसमस ट्री राखेर घरलाई सजाउने, उपहार आदानप्रदान गर्ने आदिजस्ता क्रियाकलाप मार्फत् मनाइने क्रिसमसलाई इसाई धर्मावलम्बीहरुले जिजस क्राइस्टको जन्मोत्सवका रुपमा मनाउँदै आएका छन् ।
यद्यपि आजभोलि क्रिसमस कुनै निश्चित धर्म वा भूगोलको परिधिमा सीमित छैन । त्यसैले हरेक वर्ष डिसेम्बर २५ तारिकका दिन सारा विश्व क्रिसमसको उल्लासमा रमाएको हुन्छ ।
यसरी भव्य रुपमा मनाइने चाड सुरु कसरी भयो होला ? सान्टा क्लसको महत्व के हो ? क्रिसमस ट्री किन अपरिहार्य छ ? लगायत जिज्ञासा धेरैको मनमा होला ।

लोकपथले क्रिसमसको इतिहास र यससम्बन्धी केही रोचक तथ्यहरु पस्किएको छ ।
यसरी २५ तारिक रह्यो क्रिसमस‘
यशु अर्थात् जिजसको जन्मदिन यकिन रुपमा कसैलाई थाहा छैन । यो एउटा नसुल्झिएको रहस्य हो । यदि यसो हो भने २५ तारिकलाई उनको जन्मोत्सवका रुपमा किन मनाइएको त ? प्रश्न जायज छ ।
एउटा लोकप्रिय किंवदन्ती के छ भने, मेरी अर्थात् यशुकी आमाले २५ मार्चका दिन थाहा पाएकी थिइन् कि उनको गर्भबाट एक विशेष बच्चाको जन्म हुनेवाला छ । त्यसैले, आमाको गर्भमा आएको ठीक ९ महिनापछिको दिन अर्थात् २५ डिसेम्बरमा उनको जन्म भएको हुनसक्ने अनुमान छ ।
केही इसाई धर्मावलम्बीहरु यही दिन विश्वको निर्माण भएको विश्वास पनि राख्छन् ।
२५ डिसेम्बरदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले अँध्यारोमाथि उज्यालोको विजयका रुपमा पनि यस दिनलाई लिने गरिएको छ ।
सन् ३३६ मा तत्कालीन रोमन सम्राट कन्स्ट्यानटिनले पहिलो पटक २५ डिसेम्बरमा क्रिसमस मनाएको इतिहासले देखाउँछ ।
को हुन् सान्टा क्लस ?
सन् २८० मा टर्कीमा जन्मिएका सेन्ट निकोलस नामक इसाई भिक्षु आफ्नो उदारताका लागि निकै लोकप्रिय थिए ।
आफ्नो सबै सम्पत्ति दान गरेर गरिब, रोगी तथा बालबालिकाको मदतका लागि गाउँ–गाउँ चहार्थे । उनले महिलाहरुलाई दासत्वबाट मुक्त गराएको पनि बताइन्छ ।
बिस्तारै उनको उदारताको उदाहरण युरोप, अमेरिकातिर पनि फैलियो । डच भाषामा उनलाई सिन्टर क्लास भनेर बोलाइन्थ्यो । यही नामको अपभ्रंस भएर ‘सान्टा क्लस’ भन्न थालिएको हो ।

अहिले पनि सान्टा क्लसलाई दानी, उदार र सफा हृदय भएको पात्रका रुपमा चिनिन्छ ।
बालबालिकाहरु सान्टा क्लसलाई खुब मन पराउँछन् । रातो सुट र टोपी लगाएको मोटोघाटो, सेताम्मे कपाल र दारीजुँगा भएको सान्टा क्लसले आफ्नो धोक्रोमा क्रिसमस गिफ्ट बोकेर ल्याउने र सबैको घरघरमा बाँड्दै हिँड्ने चलन रहिआएको छ ।
क्रिसमस ट्री को साङ्केतिक अर्थ ?
क्रिसमसमा ‘क्रिसमस ट्री’ अनिवार्य छ । यस दिन प्राकृतिक या कृत्रिम रुखलाई घरको बैठक कोठामा राखेर साजसज्जा गरिने चलन छ । रुख राख्ने चलन प्राचीन रोमन सभ्यतादेखि नै चलिआएको विश्वास छ ।

सदावहार रहिरहने यस किसिमको रुखले वसन्त ऋतुलाई सङ्केत गर्दछ । मध्य जाडो याममा यस्तो रुख राख्नुले वसन्त ऋतु फर्किन्छ भन्ने आशावादी सोच झल्काउँछ ।
मोजा झुण्ड्याउने चलन कसरी भयो शुरु ?
क्रिसमसका दिन घरको चिम्नी नजिकै मोजा झुण्ड्याउने चलन छ । सुन्दा अचम्म लाग्ने यो चलन खासमा संयोगवश सुरु भएको हो ।
किंवदन्ती के छ भने, एक गरिब व्यक्तिसँग आफ्ना ३ छोरीको विवाहमा दाइजो दिनका लागि पर्याप्त पैसा नै थिएन ।

यो कुरा थाहा पाएर एकरात सेन्ट निकोलसले उनीहरुको चिम्नी नजिकै सुकाइएको मोजामा सुनको सिक्काले भरिएको पोको राखिदिएका थिए । सो दिनदेखि चिम्नी नजिकै मोजा सुकाउने चलन रहन गयो ।
क्रिसमस माला र ‘क्राइस्ट’को ताज
हामीले देखिरहेको गोलो क्रिसमस मालाले खासमा जिजस क्राइस्टलाई मृत्युदण्ड दिइँदा उनले लगाएको ताजलाई जनाउँछ । उनको ताज काँडाहरुले बनेको जस्तो देखिन्थ्यो ।
ठीक त्यही आकार यस मालाको पनि रहेको छ । र, मालामा उनिएका ससाना राता फलहरुले क्राइस्टले बगाएको रगतलाई प्रतिबिम्बित गर्दछन् ।
सान्टा क्लसको आफ्नै हुलाकी ठेगाना !
हरेक वर्ष क्रिसमसका वेला हुलाकमा बालबालिकाहरुले सान्टा क्लसका लागि लेखेका चिठीहरुको ओइरो लाग्ने गरेको छ ।
छोराछोरीहरुले सान्टा क्लसको उत्तर किन आएन भन्दै अभिभावकलाई दिक्क लगाउँछन् भने चिन्ता नलिनुस् क्यानाडाले सान्टा क्लसको नाममा छुट्टै हुलाकी कोड पनि प्रदान गरेको छ ।

बालबालिकाहरुलाई निराश नबनाउनका लागि क्यानाडाको हुलाकी सेवाले उनीहरुको चिठीको उत्तर पनि आफैँ लेखेर सान्टा क्लसको ठेगानाबाट पठाउने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया