भक्तपुर । सडक निर्माणका लागि विछ्याइएको साना साना गिटी । कतै पर्खाल लगाउन त कतै प्वाल टाल्नका लागि खटाइएका कर्मचारी । अनि घाम लाग्न नपाउँदै उड्न थाल्ने धुलो । यो दृश्य पर्यटकीय गन्तव्यको रूपमा परिचित भक्तपुरको नगरकोट सडकखण्डको हो ।
सडक साघुँरो भएको भन्दै फराकिलो र सडक विस्तारका लागि कालोपत्रे सो बाटोलाई २०७०-७१ मा सडक भत्काउन थाल्यो । त्यसका लागि २०७१ जेठमा ठेक्का सम्झौता भयो । कमलविनायक-नगरकोट सडक आयोजना नामाकरण गरी सडक निर्माण कार्य सुुरु भयो । तर सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि न त सडकले आफ्नो चिल्लो मुहार पायो, न त स्थानीयले सडक नै । बरु दैनिक धुलोको सिकार बन्न पुग्यो ।
कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सो सडक निर्माणका लागि आठ वर्ष पहिले निर्माण सम्झौता भएको थियो । २०७१ जेठमा सडक निर्माणका लागि सडक सुधार आयोजना कार्यालय बबरमहलले भारतीय निर्माण कम्पनी एआइपीएल र नेपाली निर्माण कम्पन सैलुंग कन्स्ट्क्सनलाई ठेक्का दिएको थियो । जसमा भारतीय कम्पनीले ५१ प्रतिशत र नेपाली निर्माण कम्पनीको ४९ प्रतिशतमा सम्झौता भएको थियो । ३ असार २०७३ मा सम्म सम्पन्न गर्ने सम्झौतामा हालसम्म सातपटक म्याद थप्दा ७८ प्रतिशत निर्माण भएको छ ।
करिब साढे १५ किलोमिटर रहेको सो सडकमा हालसम्म करिब नौ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । तर कालोपत्रे भएको स्थानमा पनि सडक भत्किन थालेको गुनासो स्थानीयको छ । निर्माण कार्यमा ढिलाइ हुँदा सडकको लागतमा पनि वृद्धि भएको छ ।
जिल्ला प्रशासन कार्यालय, भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार सडक निर्माणका लागि आठ वर्ष पहिले ३१ करोड ५२ लाख ९२ हजारमा सम्झौता भएको थियो । हाल सो लागत करिब चार करोड रुपैयाँ बढेर ३५ करोड ८७ लाख १८ हजार पुगेको छ । साथै सडक निर्माणमा भएको ढिलाइका कारण स्वास्थ्य क्षेत्र, आर्थिक अवस्था र वातारणीय रूपमा नकारात्मक असर परेको छ ।
लामो समयसम्म सडक नबनेपछि चाँगुनारायण नगरपालिकाको आयोजनामा कमलविनायक-नगरकोट सडक निर्माणमा भएको ढिलाइ तथा लापरबाहीको सन्दर्भमा अन्तरक्रिया कार्यक्रमको आयोजना भएको छ । जहाँ आयोजना प्रमुख, निर्माण कम्पनी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहभागीसमेत गराइएको थियो । कार्यक्रममा निर्माण कम्पनीले स्थानीयको माग सम्बोधन गर्दै १५ चैतभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
निर्माण कम्पनीले सडक निर्माणका लागि १५ चैतसम्मको समय मागेका छन् । सो समयावधिमा कम्पनीले सडक निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता जाहेरसमेत गरेको छ । सैलुंग कन्स्ट्रक्सनका प्रतिनिधि माधव खड्काले कोरोना महामारीबाट जारी भएको लकडाउनका कारण निर्माण कार्यमा ढिलाइ भएको बताए । उनले नगरकोट सडकको मात्रै नभई अरु सडक पनि निर्माण कार्य गर्न ढिलाइ भएको बताए । ‘१५ माघभित्र सडकमा बेस विछ्याउने कार्य सम्पन्न गर्ने र १५ चैतभित्र सडक कालोपत्रे गरि सक्ने छौँ,’ उनले भने ।
भारतीय निर्माण कम्पनी एआइपीएलका प्रतिनिधि अनुप अधिकारीले सडक निर्माण कम्पनीको लापरबाहीको कारण सडक निर्माणमा ढिलाइ भएको र त्यसको मारमा जनता परेका स्वीकार गरे । उनले १५ चैतभित्र निर्माण कार्य सम्पन्न गर्न निर्माण सामग्री जम्मा गर्ने बताए ।
कमलविनायक-नगरकोट सडक आयोजना प्रमुख गौतम श्रेष्ठले सडक निर्माणका लागि अन्तिम मिति आगामी १५ चैत भएको र अब समय थप नहुने चेतावनी दिए । सहायक जिल्ला प्रमुख अधिकारी परियारले सडक निर्माण भएको ढिलाइमा निर्माण कम्पनीले दिएको कारण तर्कपूर्ण नभएको बताए । उनले लकडाउनका समयमा निर्माण सामग्री ओसारप्रसार गर्नको लागि निर्देशन दिएको उल्लेख गर्दै अबको बाकी समयमा अनिवार्य रूपमा सडक सम्पन्न गर्नुपर्ने चेतावनी निर्माण कम्पनीलाई दिएको छ । निर्माण कम्पनीले मौखिक रूपमा मात्रै नभई जिल्ला प्रशासन कार्यालय, आयोजना कार्यालय र नगरपालिकामा लिखित रूपमा कार्ययोजना प्रस्तुत गर्न र सोहीअनुरूप काम गर्न निर्देशन दिएको छ ।
ठेक्का रद्द गर्न स्थानीयको माग :
लामो समयसम्म सडक निर्माण नभएपछि स्थानीयले ठेक्का रद्द गर्ने माग गरेका छन् । स्थानीय राजा बास्तोलाले सडक निर्माणमा ढिलाइ भएको कारण स्थानीय बासिन्दा दैनिक रूपमा धुलोका सिकार हुनुपरेको बताए । ‘निर्माण कम्पनीको लापरबाहीका कारण दैनिक सयौँ सवारीसाधन दुर्घटनामा परेका छन् । हामी धुलोको सिकार हुनुपरेको छ,’ उनले भने, ‘बाटोमा हिँड्ने अवस्था छैन । हरेक अन्तरक्रियामा नयाँ अनुहारका मान्छे आउनुहन्छ । अनि यसबारे अध्ययन गर्दै छु भन्नुहुन्छ । बरु ठेक्का सम्झौता रद्द गरी नगरपालिकालाई हस्तातरण गर्नुस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया