चार हजारको मतदाता नामावली दर्ता

लोकपथ
399
Shares

तनहुँ । तनहुँ जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन अभियानमा स्थानीय तहबाट चार हजार मतदाताको नामावली संकलन गरिएको छ ।

पहिलोचरणमा जिल्लाका पाँच स्थानीय तहमा सञ्चालित अभियानमा तीन हजार ९१४ जनाको फोटोसहितको नामावली संकलन गरिएको हो ।

भिमाद नगरपालिकाबाट एक हजार १७, घिरिङ गाउँपालिकाबाट ७२९, म्याग्दे गाउँपालिकाबाट ५३५, बन्दिपुर गाउँपालिकाबाट ९२५ र देवघाट गाउँपालिकाबाट ७०८ जनाको नामावली सङ्कलन भएको निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

गत मङ्सिर १७ गतेदेखि २६ गतेसम्म पहिलो चरणमा पाँच स्थानीय तहमा अभियान सञ्चालन गरिएको थियो । यही अवधिमा प्रशासन कार्यालयबाट ३६३ र निर्वाचन कार्यालयबाट १३८ जनाको नामावली संकलन भएको थियो ।

जिल्लाबाहिरका ३१ जनाले पनि निर्वाचन कार्यालयबाट नामावली दर्ता गराएको उनले बताए । यसबीचमा चार हजार ४४६ जनाको विवरण सङ्कलन भएको छ । ‘दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ,’ उनले भन्नुभयो,’परिचयपत्र हराएकाले पनि पुनः नाम दर्ता गराएको हुनसक्छ ।’

दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली सङ्कलन हुँदै आएकामा सर्वसाधारणको सहजताका लागि स्थानीय तहबाटै सङ्कलन अभियान सुरु गरिएको हो ।

मतदाता नामावली संकलनका लागि नौ दर्तास्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ दर्तास्थल सहायक गरी ३२ कर्मचारी परिचालन गरिएको छ ।

संकलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ । स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधि-प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार ४४६ मतदाता पुगेका थिए ।

विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ । लू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म दुई हजार ८१७ मतदाता थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?