काठमाडौं । बुद्ध एयरको विमानमा पछिल्लो समय लगातार समस्या आइरहेका छन् । नेपालको सबैभन्दा उत्कृष्ट हवाई सेवा प्रदायक भनेर दाबी गर्ने बुद्धका विमानमा आएका यस्ता समस्याले यात्रुहरूलाई बेला–बेला झस्काउने मात्र हाेइन यात्रा गर्न नै भय पैदा गरेकाे छ ।
पटक–पटक समस्या देखिँदा पनि बुद्ध एयरले यस विषयमा चासो नदिँदा समस्या घट्नुको साटो बढिरहेका छन् ।
बिहीबार मात्रै भरतपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको ‘९ एन एईई कल साइन’को विमान उडान भरेको दुई मिनेटमै आकस्मिक अवतरण गर्नुपर्ने अवस्थामा पुग्यो ।
जहाजको बायाँ इन्जिनमा समस्या आएका कारण आकस्मिक अवतरण गर्नुपरेको भन्दै बुद्ध एयरले यस्ता प्राविधिक समस्या आउनुलाई स्वभाविक भनेको छ ।
तर यात्रुहरूले भने बुद्धले यात्रुहरूको सुरक्षामा खेलबाड गरेको बताएका छन् ।
वर्षौँ पुराना जहाज : समस्या नै समस्या
बुद्ध एयरसँग अहिले सानाठूला गरेर १५ जहाज छन् । यीमध्ये अधिकांश वर्षौँ पुराना छन् । सोही कारण बुद्धका मालिक वीरेन्द्र बस्नेत आफ्ना जहाज चढ्न हिच्किचाउने गरेको बुद्धमा कार्यरत एक इन्जिनियरले बताए ।
उनका अनुसार, उसका सबैजसो जहाजमा कुनै न कुनै समस्या छन् । जहाजमा समस्या नआएको दिन नै हुँदैन ।
गत असोज ११ मा विराटनगरका लागि काठमाडौंबाट उडेको बुद्धको ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज विराटनगरमा पुग्दा ल्यान्डिङ गियर खुलेन । विराटनगरको आकाशमा दुई फन्को लगाउँदा पनि ल्यान्डिङ गियर नखुलेपछि काठमाडौंको आकाशमा १० फन्को लगाएर आकस्मिक अवतरणको तयारी गरिएको थियो ।
अकस्मात् गियर खुलेपछि विमान सामान्य ढंगले अवतरण भएको थियो ।
तर यो घटनामा समेत बुद्ध एयर पाइलटको कमजोरी देखाएर जिम्मेवारीबाट पन्छियो । बुद्धका कर्मचारीहरू भन्छन्, ‘बुद्ध एयरको विशेषता नै यही हो कि हरेक प्राविधिक कमजोरीलाई कर्मचारीसँग जोडेर व्यवस्थापन उम्कने गर्छ । र कर्मचारीलाई कारबाही गरिन्छ ।’
ल्यान्डिङ गियर नखुलेको कारण काठमाडौंको आकाशमा १० फन्को लगाउन बाध्य जहाजमा बुद्ध एयरले पाइलटको कमजोरी देखायो । तर यति ठूलो दुर्घटनाबाट टरेको उक्त जहाजलाई बुद्धले भोलिपल्टबाटै उडान गर्यो ।
असोज १२ गते पनि काठमाडौंबाट पोखराका लागि उडेको त्यही जहाजको ककपिटमा धुँवा भरियो । त्यसपछि जहाजलाई एकाएक काठमाडौंमा आपतकालीन अवतरण गरियो ।
त्यसलगत्तै असोज २२ गते बुद्धको ‘९ एन एएमयू’ जहाजको टायरमा समस्या आएपछि यात्रुलाई अर्को जहाजमा सारिएको थियो ।
सिमरामा रहेको जहाजको एयर प्रेसर रिलिजपछि टायरमा समस्या आएको भन्दै बुद्ध एयरले स्पष्टीकरण समेत दिएको थियो ।
यसअघि गत मंसिर २२ मा पनि बुद्धको ‘९ एन एएनआई’ जहाज भैरहवामा अवतरण गर्नेबित्तिकै दायाँ प्रोपेलरमा समस्या देखिएपछि तत्काल ग्राउन्डेड गरिएको थियो ।
जहाजमा प्राविधिक समस्या आएपछि यात्रुहरू उक्त जहाजमा नजाने भन्दै अडान राखेका थिए । त्यसपछि उनीहरूलाई भोलिपल्ट बिहान अर्को जहाजमा काठमाडौं अवतरण गराइयो ।
बुद्ध एयरका यस्ता थुप्रै घटनाहरू छन्, जसले उसको ‘आफ्नै सुरक्षित उडान’ भन्ने नारालाई समेत गिज्याइरहेको छ ।
जहाजमा आएको समस्यालाई कर्मचारीमाथि थुपारेर सधैँ जिम्मेवारीबाट पन्छिरहेको व्यवस्थापनको स्पस्टीकरणले यात्रुहरु र बुद्ध एयरकै कर्मचारी समेत सहमत छैनन् ।
यति धेरै कम्पनीका विमानले उडान भरिरहेको अवस्थामा एउटै कम्पनीको विमानमा मात्र बारम्बार समस्या आउनुलाई सामान्य मान्न सकिन्न ।
बुद्धसँग मेकानिकल टिम नेपालको सबैभन्दा उत्कृष्ट छ । तर समयमा मर्मतमा ध्यान नदिएको र लगानी हुने मर्मतमा व्यवस्थापनले पनि अरुचि देखाइरहेको एक कर्मचारीले बताए ।
विराटनगर प्रकरणपछि जसरी भए पनि तोकिएको ठाउँमा ल्यान्ड गर्न वीरेन्द्र बस्नेतले ठाडो आदेश नै जारी गरेका छन् । जबकि, वायु सेवा कम्पनीले यसरी समस्याबीच प्लेन ल्यान्ड गराउन मिल्दैन ।
बुद्धसँग धेरै जहाज भएका कारण समस्या पनि तुलनात्मक रूपमा धेरै आउने गरेको देखिएको कम्पनीले दाबी गर्नेगरेको छ ।
तर एउटै कम्पनीको विमानमा किन बारम्बार समस्या आइरहेको छ भन्ने सन्दर्भमा स्पष्ट जवाफ भने न बुद्ध एयरसँग छ न मन्त्रालय न क्यानसँग नै ।
घाइते जहाज : कतै फुटेको, कतै टेपले टालेको
बुद्ध एयरका कतिपय जहाजको हालत एकदमै नाजुक छन् । ती विमान हेर्दा लाग्छ कि हामी काठमाडौंका सार्वजनिक सवारी साधनमा यात्रा गरिरहेका छौँ ।

बुद्धको ‘९ एन–एएमडी कलसाइन’को ‘एटीआर ७२’ जहाज यसको एउटा उदाहरण हो । जसको सिट मात्र नभएर बाहिरी भाग नै पटक्क फुटेको छ ।

बुद्धले यो जहाज सन् २०१७ मा फ्रान्सको आन्तरिक वायुसेवा कम्पनी एयर क्यालिडोनीसँग खरिद गरेको हो । जसलाई एयर क्यालिडोनिले सन् २००६ मा खरिद गरेको थियो । यस हिसाबले यो जहाजको जहाज १५ वर्ष पुरानो भइसकेको छ ।

लामो समयदेखि यो विमान नाजुक अवस्थामा रहे पनि मर्मत गर्न बुद्धले आवश्यक ठानेको छैन । फुटेका बाहिरी भाग र सिट खेलौनाजस्तो गरी टेपले टाँसिएको प्रस्ट देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया