क्रिकेट रङ्गशाला निर्माणबाट पछि हट्यो धुर्मुस सुन्तली फाउन्डेसन

लोकपथ
455
Shares

नारायण अधिकारी/चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउन्डेसन पछि हटेको छ । फाउन्डेसनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो ।

आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउन्डेसनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम परिस्थिति उत्पन्न भई निर्माण कार्य विगत पाँच महिनादेखि रोकिएकाले सहमतिपत्रमा उल्लेख भएअनुसार स्वामित्व लिन अनुरोध गरेको छ ।

फाउन्डेसनले महानगरलाई लेखेको पत्रमा भनिएको छ, ‘फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच भएको सहमतिपत्रको बुँदा नं ८ मा उल्लेख भएअनुसार विश्वव्यापी महामारी कोभिड– १९ का कारण विशेष परिस्थिति उत्पन्न भई आर्थिक स्रोत अभाव भएकाले तोकिएको समयमा रङगशाला निर्माण कार्य कठिनाई भएको छ ।’

सम्झौतामा विशेष परिस्थिति उत्पन्न भएमा निर्माणकै क्रममा स्वामित्व हस्तान्तरण गर्नसक्ने उल्लेख छ । सामान्य अवस्थामा निर्माण सम्पन्न गरी महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गर्ने जनाइएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउन्डेसनले कोभिड– १९ का कारण निर्माण सम्पन्न गर्न कठिन भएको भन्दै स्वामित्व हस्तान्तरणका लागि अनुरोध गरेको बताइन्।

यस लगत्तै महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताइन् । यस सम्बन्धमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङग गहतराजसँग परामर्श गरी काम अघि बढाइएको दाहालले बताइन् । महानगरले फाउन्डेसनलाई काम अघि बढाउन वा सम्झौताअनुसार स्वामित्व हस्तान्तरण गर्न भनेपछि फाउन्डेसन पछि हटेको हो ।

उनका अनुसार फाउन्डेसनले महानगरमा पेश गरेको विवरण सरकारी तवरबाट जाँचबुझ गरी मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पठाएर तिर्नुपर्ने भुक्तानी तिर्नका लागि प्रक्रिया अघि बढाइँदै छ । बाँकी कामका लागि बहुवर्षीय योजना अन्तर्गत बोलपत्र आह्वान गरी काम अघि बढाउन महानगरले सङ्घीय सरकारलाई अनुरोध गरेको दाहालले जानकारी दिइन् ।

उनले भनिन् ‘मन्त्रिपरिषद्ले जे निर्णय गर्छ सोही अनुसार काम गर्न हामी तयार छौं ।’ भरतपुर महानगरपालिकाको महत्वपूर्ण आयोजना भएकाले यसलाई निरन्तरता दिएर सम्पन्न गर्न आफू लागि परेको दाहालको भनाइ छ ।

महानगरपालिकाले नै त्रिभुवन र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग समन्वय गरेर सो जग्गा रङगशालाका लागि उपलब्ध गराएको हो । फाउण्डेशनले नेतृत्व गरेको भए पनि अधिकांश आर्थिक सहयोग जुटाउन महानगरपालिकाको प्रत्यक्ष भूमिका रहेको छ । उनले थपे, ‘रङगशाला सम्पन्न हुन्छ ।’ फाउण्डेशनले रु १७ करोडभन्दा बढी ऋण तिर्न बाँकी रहेको महानगरलाई अनुरोध गरेको पत्रमा उल्लेख छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले कार्यपालिकाको बैठकले निर्णय गरी फाउण्डेशनले पेश गरेको विवरणको आर्थिक र प्राविधिक पक्षको अध्ययनका लागि सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरमा पठाएको छ । यसैगरी नेपाल चार्टर एकाउन्टेन्ट संस्थामा आर्थिक अध्ययनका लागि पठाइँदै छ । दुवै निकायबाट जाँचबुझपछि खेलकूद मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकमा पठाउने तयारी गरिएको हो । सुवेदीले नेपाल सरकारको नीतिनियम अनुसार आवश्यक प्रक्रिया पुर्याएर रङ्गशाला निर्माणको कामलाई पूर्णता दिने बताइन् ।

आर्थिक अभावका कारण विगत पाँच महिनादेखि रङगशाला निर्माणको काम हुनसकेको छैन । उधारो आर्थिक व्ययभार बढ्दै गएको र आर्थिक सङ्कलन हुन नसकेको भन्दै काम रोकिएको हो । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले चरम आर्थिक सङ्कटबाट गुज्रिएपछि काम रोक्नुपरेको बताउँदै आउनु भएको थियो ।उनले जनस्तरबाट रकम उठ्ने सम्भावना पनि नभएको र सरकारले नदिएका कारण आर्थिक सङ्कट आएको बताइन् ।

रङ्गशालाको भौतिक पूर्वाधारको ३५ प्रतिशत काम सकिएको फाउण्डेशनले दाबी गरेको छ । रङ्गशालामा अहिलेसम्म रु ५४ करोड ६२ लाख २१ हजार खर्च भइसकेको यसअघि नै फाउन्डेसनले दाबी गरेको थियो । रङ्गशाला सम्पन्न गर्न रु तीन अर्ब हाराहारी खर्च हुने अनुमान गरिएको छ । रङगशालाको विसं २०७५ माघ १६ गते काठमाडौँमा तत्कालीन प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीको उपस्थितिमा भरतपुर महानगरसँग विशेष सम्झौता भई काम अघि बढाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?