काठमाडौं लगायत देशभर उँधौली पर्व मनाइँदै

लोकपथ
63
Shares

काठमाडौं । नेपालका किराँत समुदायको मुख्य पर्व उँधौली पर्व काठमाडौंलगायत देशभर आज मनाइँदै छ ।

नेपाली किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रुपमा रहेको उधौली पर्व देशभर पुजाआजा गरि मनाइँदै छ ।

मुलरुपमा यी जातजातिले आ-आफ्नो पुख्र्यौली थलोमा उधौली पर्व मनाउने गरेपनि पछिल्लो समय विभिन्न सहरमा पनि मनाउन थालिएको छ । आइतबार किराँती समुदायले ललितपुरको सानो हात्तिवनस्थित किरात माङहिम (मन्दिर)मा सामूहिक रुपमा पूजाआजा गरेका उधौली पर्व मनाएका छन् ।

यस दिनमा किराती समुदायले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झने र सम्मानस्वरुप पुजाआजा गर्ने गरेका छन् । खेतमा लगाएको बाली भित्राइसकेको यो समयमा बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म प्रकृतिले वातावरण अनुकुल पारिदिएको भन्दै प्रकृतिलाई धन्यवाद दिनु यस पर्वको विशेषता भएको किरात राई यायोक्खाका महासचिव जनक राई बताउँछन् ।

उनले भने – ‘किराती समुदायहरु पितृ र प्रकृतिलाई मान्छन् । पितृलाई आज पूजा गर्ने र पितृ पुर्खाबाट सधैँ आर्शिवाद लिइराख्ने र पितृ पुर्खालाई सम्झना सम्मान गर्ने हो । उधौली भनेको जाडो महिना लाग्यो, अन्नबालि खेतमा पाक्यो र थन्क्याइसकियो भनेपछि थन्काउने सम्मको अवधिसम्ममा प्रकृति जुन अनुकुल भयो, त्यसले गर्दाखेरी अन्न ढिकुटीमा थन्क्याउन पायौँ । यसले गर्दा प्रकृतिलाई धन्यवाद दिने हो ।’

आइतबार हात्तिवनस्थित किरात माङहिममा सामूहिक रुपमा पूजा गर्न किराती समुदायआ–आफ्नो मौलिक पहिरन र पहिचानमा भेला भएका थिए । पछिल्ला दिनहरुमा पुख्र्यौली थलोमा मात्र होइन यो समुदायका मानिसहरु जहाँ जहाँ छन् त्यहीँ सामूहिक रुपमा पर्व मनाउन थालेका छन् । किराँत राई यायोक्खाका अध्यक्ष दिवस राई शहरकेन्द्रीत भएर पर्व मनाएपनि मौलिकतालाई मर्न नदिने बताउँछन् ।

पूजा गर्दाखेरी पूजारीले मात्रै पूजा गर्नुपर्ने चलन रहिआएकोमा आजभोली पूजारी(नछुङ)को अभाव हुने गरेको उनले बताए । यद्यपि नछुङलाई खोजेर ल्याएर भए पनि पूजाआजा गर्ने गरिएको र उनीहरुको प्रोत्साहन र वृति विकासका लागि समुदायले योजना बनाइरहेको उनको भनाइ छ ।

नयाँ पुस्तालाई पनि यस पर्व मनाउनका लागि उत्प्रेरित गरिरहेको र मौलिक संस्कृतिलाई बचाउनका लागि नयाँ पुस्तालाई पनि सिकाएर अघि बढ्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?