उच्च रक्त कोलेस्ट्रोल: लक्षण, कारण र निवारण

लोकपथ
5.2k
Shares

डा. हेमराज कोइराला I डिसलिपिडिमिया अर्थात् कोलेस्ट्रोल र ट्राईग्लिस्राईड जस्ता रक्त चिल्लोको गडबडी हुने समस्या आज हरेक वयस्क व्यक्तिको समस्या जस्तै भइसकेको छ। हाम्रो रगतमा संयुक्त कोलेस्ट्रोल, काईलोमाईक्रोन, एलडीएल कोलेस्ट्रोल, भिएलडिएल कोलेस्ट्रोल, र एचडीएल कोलेस्ट्रोल, ट्राईग्लिसराईड नाम गरेका रक्त चिल्लोहरू पाइन्छन्। यी सबै रक्त चिल्लोको आ–आफ्नै स्वस्थ रक्त स्तर हुन्छ। यी चिल्लोहरूको रक्त स्तर स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी बढ्नु वा घट्नुलाई रक्त चिल्लोको गडबडी वा कोलेस्ट्रोल भनिन्छ।

कोलेस्ट्रोलका लक्षणहरू

१. हिँड्दा वा उभिँदा खुट्टा दुख्ने।
२. छाती दुख्ने वा छातीमा असहज महसुस हुने।.
३. दम बढ्ने।
४. अपच, अजीर्ण र एसिडिटी।
५. निन्द्रामा समस्या।
६. चक्कर लाग्ने।
७. सामान्य अवस्थामा मुटु चलेको महसुस हुने।
८. चिसो पसिना आउने।
९. वाकवाकी आउने वा बान्ता हुने।
१०. हात गोडा, पेट वा घाटीका नशाहरू सुन्निने।
११. बेहोस हुने।

नोटः उपरोक्त लक्षणहरू व्यायाम र तनावको अवस्थामा झनै बढ्ने गर्दछ।

कोलेस्ट्रोलको गडबडी हुनमा धेरै जोखिम कारक तत्त्वहरूको हात हुने गर्दछ।

१. पारिवारिक इतिहास
२. ३० वर्ष पछिको उमेर
३. लैङ्गिकताः विशेष गरेर महिनावारी सुकेका महिलाहरू
४. उच्च शारीरिक तौल र मोटोपन
५. भुँडी लाग्ने समस्या वा कोमल अङ्गमा बोसो जम्ने समस्या
६. श्रम र व्यायाम समाहित नभएको निष्क्रिय जीवन
७. टाइप–२ मधुमेह
८. हाईपोथाईराईडिजम
९. मद्यपानको कुलत
१०. धूम्रपान वा सुर्तीको कुलत
११. अवैध औषधिको सेवन
१२. यौन सम्पर्कबाट सर्ने रोगहरू
१३. दीर्घकालीन मिर्गौला रोग
१४. दीर्घकालीन कलेजो रोग
१५. मेटाबोलिक सिनड्रोम
१६. पोलिसिष्टिक ओभरीयन सिनड्रोम।
१७. ट्रान्स फ्याट, सेचूरेटेड फ्याट र अन्य चिल्लोको अधिक सेवन
१८. कुसिङ्ग सिनड्रोम
१९. ईरिटेबल बवेल सिनड्रोम
२०. कडा किसिमको इन्फेक्सन
२१. अपच, अजीर्ण, आन्द्राको रोगहरू

कोलेस्ट्रोलको प्राकृतिक उपचार

तौल कम गर्ने
तौल बढेकाहरूलाई कोलेस्ट्रोल हुने सम्भावना बढी हुने हुँदा आफ्नो उचाइ अनुसारको तौलमा नियन्त्रण गर्नुपर्छ ।

नियमित रूपमा व्यायाम गर्ने
शारीरिक व्यायाम र श्रम बाट पन्छने वा भनौँ निष्क्रिय जीवनशैली भएकाहरूलाई पनि कोलेस्ट्रोलले सताउने हुँदा शारीरिक व्यायामलाई आफ्नो दैनिक दिनचर्याको हिस्सा बनाउने गरौँ। दैनिक रूपमा कमसेकम ३० मिनेट हप्ताको पाँच दिन एरोविक व्यायाम (दम बढ्ने र श्वास फुल्ने किसिमको) गर्दा कोलेस्ट्रोलको समस्यालाई चाडै नियन्त्रणमा राख्न सकिन्छ।

उपवास बस्ने
उपवासलाई कोलेस्ट्रोलको सन्दर्भमा परम औषधि नै मान्नु पर्ने हुन्छ। उपवास धेरै तरिकाले गर्न सकिन्छ। दैनिक १६ घण्टा भोकै बसेर र आठ घण्टा भित्र खाना खाएर गरिने आवधिक उपवासलाई अन्य भन्दा सरल र सहज मानिएको छ । उपवासको यथोचित प्रयोगले उच्च रक्त कोलेस्ट्रोललाई कम गर्न राम्रो भूमिका खेल्दछ।

प्रशस्त फलफूल तथा तरकारीको सेवन गर्ने
रक्त कोलेस्ट्रोललाई नियन्त्रण गर्नको लागि दिनको दुई पटक आफ्नो शारीरिक तौल लाई १० ले गुणा गर्दा आउने गुणन फल बराबर ग्राम चार किसिमको फलफूल नियमित खानुपर्ने हुन्छ। उदाहरणको लागि यदि तपाईँको तौल ७० किलोग्राम छ भने तपाईँले दैनिक ७०X१०=७०० ग्राम फलफूल बिहान ९ बजे र ७०० ग्राम नै फलफूल दिउसो ३ बजे खानुपर्ने हुन्छ।

जिरो आयल खानेकुरा खाने
कोलेस्ट्रोल बढ्नुको एउटा मुख्य कारण मध्ये तेल, घ्यू, बोसो, माछा, मासु, अण्डा जस्ता उच्च मात्रामा चिल्लो भएका खानेकुराहरूको सेवन पनि हो। कोलेस्ट्रोल घटाउन चाहनेहरूले तेल, घ्यू नहाली पकाइने जिरो आयल कुकिङ्ग विधि सिक्नु पर्ने हुन्छ र तेल–घ्यू रहित खानेकुराहरू खानुपर्ने हुन्छ। शरीरलाई चाहिने चिल्लो पदार्थको पूर्तिका लागि काजु, बदाम, आलसको बियाँ, फर्सीको बियाँ, सूर्यमुखीको बियाँ, नरिवल, देशी बदाम आदिको सेवन गर्नुपर्ने हुन्छ। रक्त चिल्लोको गडबडी भएर कोलेस्ट्रोल बढेकाहरूले तेल, घ्यू र अन्य प्राणीबाट प्राप्त चिल्लो जस्तै चीज, पनिर, बटर, माछा, मासु, अण्डा आदी पनि खानु हुँदैन।

धूम्रपान त्याग्ने
धूम्रपान गर्नेहरूमा डिसलिपिडिमिया आम समस्या हो र त्यसमा पनि कोलेस्ट्रोल र लो–डेन्सिट–लिपोप्रटिन–कोलेस्ट्रोल बढ्दछ भने हाई–डेन्सिट–लिपोप्रटिन–कोलेस्ट्रोल घट्दछ।यसै गरी धूम्रपानको धुवाँले प्लास्म लो–डेन्सिट–लिपोप्रटिन–कोलेस्ट्रोलको अक्सिडेसन प्रक्रिया बढाइदिने हुँदा रक्त नलीको भित्री पत्र ईण्डोथेलियमको क्रियालाई पनि गडबड गर्दछ।

मद्यपान त्याग्ने
मदिरा पदार्थ सेवन गर्नेहरूमा पनि डिसलिपिडिमिया आम समस्या हो। मदिराले विशेष गरी ट्राईग्लिसराईड बढाउने र एचडीएल काग गर्ने गर्दछ। यसका अतिरिक्त कलेजोको खराबी, मुटुका मांसपेशीहरूको खराबी लगायत अन्य थुप्रै समस्याहरू बढाउने हुँदा समग्र स्वास्थ्यमा समेत असर पुर्‍याउदछ।

चिनी र प्रशोधित कार्बोहाइड्रेट नखाने
रक्त चिल्लोको गडबडी भएकाहरूले चिनी र प्रशोधित कार्बोहाइड्रेट सेवन गर्नु हुँदैन। यस्ता खानेकुराको सेवनले कलेजोलाई उत्तेजित बनाएर कोलेस्ट्रोलको उत्पादन बढाउने गर्छ ।

ट्रान्स फ्याट त्याग्ने
डाल्डा घ्यू वा वनस्पति घ्यूको नामले प्रसिद्ध हाईड्रोजेनेटेड फ्याट र माछा, मासु, अण्डा जस्ता खानेकुराहरूमा पाइने ट्रान्सफ्याटको सेवनले रक्त चिल्लो गडबड गरेर मुटु एवं रक्त नलीको जोखिम बढाउँदछ। यसै गरी प्राकृतिक तेल एवं घ्यूलाई पनि बारम्बार तताउँदै खाँदा तेल ट्रान्स रूपमा बदलिएर हानिकारक बन्दछ।

खाद्य रेसाको प्रयोग
खाद्ये रेसाको यथोचित प्रयोग गर्ने गर्दा मुटु तथा रक्त नलीका रोगहरू, हृदयाघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, मोटोपन, अपच, अजीर्ण, अग्निमान्ध्य जस्ता पेटका रोगहरूलाई पनि राम्रो गर्दछ भने रक्त चिल्लोको गडबडी भएर ट्राईग्लिसराईड र कोलेस्ट्रोल, एलडीएल कोलेस्ट्रोल बढ्ने, एचडीएल कोलेस्ट्रोल घट्ने समस्यालाई समेत ठिक गर्न मद्दत गर्दछ ।

उच्च मात्रामा खाद्ये रेसा भएका खानेकुराहरू खाँदा कोलेस्ट्रोल चाँडै नियन्त्रित हुन्छ। हरियो सागपात, फलफूल, अप्रशोधित अनाज, ओट्स, कर्नफ्लेक्स, जुनेलो, बाजरा, सामा, कागुनी, चिनो, बोडी, सिमी आदिमा प्रशस्त मात्रामा खाद्य रेसा पाइन्छ।

लसुनको सेवन
लसुनलाई लिपिड लोअरिङ्ग एजेण्टको रूपमा परापूर्व कालदेखि प्रयोग गरिँदै आइएको हो। लसुनको सेवनले ट्राईग्लिसराईड र नन्एचडीएल कोलेस्ट्रोल घटाउनुको साथै रक्तचाप पनि कम गर्न मद्दत गर्दछ। लसुनमा रहेको विभिन्न फाईटो केमिकलहरूले कोलेस्ट्रोलको संश्लेषण रोक्ने र एलडिएलको अक्सिडेसन पनि रोक्ने गर्दछ।

रातो धानको जाँड
रातो धानको चामलबाट बनाइएको जाँडमा कोलेस्ट्रोल कम गर्ने मोनोकोलिन–के नामक यौगिक पाइन्छ। मोनोकोलिन के कोलेस्ट्रोल घटाउन प्रयोग गरिँदै आएको लोकप्रिय औषधि हो । यसका अलावा रातो धानको जाँडमा पोली केटाईड, फाईटोस्टेरेल, अनसेचूरेटेड फ्याट्टि एसिड र थुप्रै प्राकृतिक पिगमेण्टस पाइन्छ।यी तत्त्वहरूले मूलतः ५–हाईड्रोअक्सी–मिथाईल–ग्लूटाईल–कोएञ्जायम–ए रिडक्टेज लाई अवरोध गरेर कोलेस्ट्रोल संश्लेषणलाई कम गर्ने गर्दछ।

मेथीको सेवन गर्ने
मेथीको नियमित सेवनले पनि रक्त कोलेस्ट्रोल कम गर्न विशेष भूमिका खेल्दछ। मेथीको सेवनले कोषहरूमा एलडीएल रिसेप्टारहरूको सङ्ख्या बढाई दिने र मेथीमा विद्यमान ४–हाईड्रोअक्सी–आईसोल्यूसीनले बोसो जमा हुने दरलाई कम गरिदिने गर्दछ ।

अदुवाको सेवन गर्ने
सन् २०१८ मा गरिएको एउटा अनुसन्धानले बताए अनुसार दैनिक ५ ग्राम अदुवाको सेवनले तीन महिनामा १७.४ प्रतिशत सम्म एलडीएल कोलेस्ट्रोल घटाएको पाइएको छ।

विभिन्न भिटामिनहरूको सेवन
कोलेस्ट्रोल कम गर्नका लागि भिटामिनहरूको सेवन पनि लाभदायक हुने पाइएको छ। कोलेस्ट्रोल कम गर्न चाहनेहरूले विशेष गरी भिटामिन बी३ , भिटामिन बी५ , भिटामिन सी र भिटामिन डी आदिको सेवन गर्नै पर्ने हुन्छ।

धानको भुसको तेल
धानको भुसबाट निकालिएको तेलको सेवनले पनि रक्त कोलेस्ट्रोललाई घटाउन मद्दत गर्दछ।धानको भुसको तेलमा ३८ प्रतिशत मोनोअनसेचूरेटेड, ३७ प्रतिशत पोलिअनसेचूरेटेड र २५ प्रतिशत सेचूरेटेड फ्याट पाइन्छ। धानको भुसको तेलको सेवन गर्नाले नराम्रो कोलेस्ट्रोल घट्ने, राम्रो कोलेस्ट्रोल बढ्ने र ट्राईग्लिसीरोईड पनि घट्ने गरेको पाइएको छ।

तनाव व्यवस्थापन गर्ने
मानसिक तनावमा परेकाहरूलाई पनि कोलेस्ट्रोल र ट्राईग्लिसराईड बढ्ने समस्याले सताउँदछ। यसर्थ कोलेस्ट्रोल कम गर्ने हो भने तनाव व्यवस्थापनलाई पनि ध्यान दिनु पर्दछ।

प्रशस्त पानी पिउने
प्रशस्त मात्रामा पानी नपिउनेहरूका लागि पनि कोलेस्ट्रोलको समस्याले सताउँदछ। यसर्थ कोलेस्ट्रोल बढ्न नदिनको लागि प्रशस्त मात्रामा पानी वा पानी धेरै भएका फलफूल, तरकारी, ग्रिन टी, काँढा आदी खानुपर्ने हुन्छ।

लाभदायक खानेकुराको सेवन गर्ने
ग्रिन टी, धनियाँको बीज, प्याजको रस, ताजा अमला, स्याउ, सुन्तलाको रस, नरिवलको पानी, बदाम, देशी बदाम, ओखर, काजु, पिस्ता, अङ्कुरित अन्न, आदीको सेवन गर्दा पनि कोलेस्ट्रोल कम हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?