विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित ५ बंगलादेशी नागरिक पक्राउ

लोकपथ
130
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको एक किलोभन्दा बढी सुनसहित ५ जना बंगलादेशी नागरिक पक्राउ गरेको छ । प्रहरीले विमानस्थलबाट १ हजार ३ सय ११ ग्राम सुनको बिस्कुट आकारको वस्तु, चेनरोल, औठी र चुरा सहित ५ जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बंगलादेशी नगरिकहरु राहदानी नम्बर ए ०१२४१४६९ बाहक ३० वर्षीय तौहिदुल तनविर, राहदानी नम्बर बीक्यू ०३९३२८८ बाहक ३० वर्षीय एमडि युनुस अलि, राहदानी नम्बर बीटी ०६९३५९९ बाहक ५० वर्षीय सोभान तालुकदार, राहदानी नम्बर ए ००१००८८५ बाहक २५ वर्षीय जाहिदुल ईस्लाम र राहदानी नम्बर इबी ००५२३४७ बाहक ३७ वर्षीय एमडि मिराजुल ईस्लाम रहेका छन् ।

पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २ सय १६ ग्राम, युनुसको साथबाट २ सय ३३ ग्राम, सोभानको साथबाट १ सय ग्राम, जाहिलदुलको साथबाट ३ सय ३२ ग्राम र मिराजुलको साथबाट ४ सय ३० ग्राम सुन बरामद भएको हो ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय ह्‍याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको सुन फेला परेको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?