गण्डकी । पोखरा महानगरपालिका–१७ महतगौडास्थित दुई शताब्दी पुरानो सदाशिव शिदेश्वर हरिहर मन्दिर परिसरमा विभिन्न पूर्वाधार निर्माणलाई अघि बढाइएको छ । पोखराको इतिहासको साक्षी मन्दिरलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउने सोचका साथ सदाशिव हरिहर मन्दिर व्यवस्थापन समितिको सक्रियतामा १ सय ८ गौमुखे धारा, शिवलिंगलगायत संरचना निर्माण गर्न लागिएको हो ।
एक सय आठ गौमुखे धाराबाट पवित्र सेतीनदीको पानी निरन्तर झरि रहनाका साथै १०८ शिवलिंग, मुख्य र सहायक प्रवेशद्धार, विवाह तथा पितृ उद्धार मण्डप निर्माणका लागि अहिलेसम्म २१ लाख ३७ हजार १ सय ९५ रुपैयाँ संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेगेन्द्र शर्मा भण्डारीले जानकारी दिए ।
‘मन्दिर परिसरको थप आकर्षण र भक्तजनको दृढ इच्छा एवं आर्थिक सहयोगबाट शून्यबाट सुरु गरिएको भौतिक निर्माण कामले सार्थकता पाउँदा त आँट म पु¥याउँछु भन्ने उखानलाई चरितार्थ भएको छ’, उनले भने, ‘अभियानको दौरानमा अहिलेसम्म २ सय दाताबाट सहयोग प्राप्त भइसकेको छ ।’
उनका अनुसार जो कोहीले पनि आफ्ना पुर्खाका नाउँमा निर्माण गरिने एक शिवलिंग र एक धाराका लागि १५ हजार पाँच रुपैयाँ लिने मन्दिर सञ्चालक समितिको निर्णयअनुसार आर्थिक संकलन गरिँदै आएको छ । सितापाइला घाटमा जाने र मन्दिरको कलात्मक मुख्य प्रवेशद्धार आठ लाख ७५ हजार ८ सय ४३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको निर्माण समितिका संयोजक हरिहर भण्डारीले जानकारी दिए ।
मन्दिर व्यवस्थापन समितिका सचिवसमेत रहेका उनका अनुसार गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट दुई लाख ११ हजार रुपैयाँ स्थानीय समाजसेवी सो क्षेत्रकै अग्रणी आमा नारायणी भण्डारीले प्रदान गरेको एक लाख एघार हजार १ सय ११ रुपैयाँसहित ८९ जनाबाट नौ लाख ६४ हजार ५ सय ३४ रुपैयाँ आर्थिक संकलन भएको थियो ।
सिताघाट जाने बाटोबाट मन्दिर परिसरमा प्रवेश गर्ने सहायक गेट दुई लाख ६७ हजार ३ सय ९० रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले आफ्ना हजुर बुवा र हजुर आमाको स्मृति एवं बुबा बुद्धिसागर र आमा विष्णुमाया शर्मा भण्डारीको नाममा निजी खर्चमा सो गेट निर्माण गरेका हुन् ।
पोखरा–१७ का वडाध्यक्ष तीर्थराज अधिकारीले नवनिर्मित गेटको सोमबार एक समारोहका बीच उद्घाटन गर्दै धार्मिक पर्यटकको प्रचुर सम्भावना रहेको यस ऐतिहासिक एवं धार्मिक क्षेत्रको विकासमा सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । सो धार्मिक क्षेत्रमा लगभग ३५ लाख रुपैयाँको लागतमा १ सय ८ शिवलिंग र १ सय ८ गौमुखे पानीको धारा निर्माण गरिने भएको छ । पोखराका कार्यपालिका सदस्य राधिका शाही योगीले उक्त संरचनाको विधिपूर्वक शिलान्यास गरिन् ।
सेतीनदीको तटमा अवस्थित उक्त धार्मिक क्षेमा हरिहर मन्दिरसँगै लक्ष्मीनारायण, गणेश, शिव, अकला, रामसिता मन्दिर र हवनकुण्ड निर्माण गरी नित्य पूजापाठ सञ्चालन हुँदै आएको व्यवस्थापन समितिका उपाध्यक्ष इसारा थापामगरले जानकारी दिए । तत्कालीन राजा कुलमण्डल शाह सेतीनदीस्थित सिताघाटमा स्नान गर्दा सदाशिबजी हरिहरले प्रत्यक्ष दर्शन दिई उक्त पुण्यस्थलको स्थापना गरि नित्य पूजा सञ्चालका लागि गुठी जग्गाको व्यवस्था गरिएको जनविश्वास छ ।
विसं १८६४ मा मन्दिर निर्माण गरि महादेवको मूर्तिसमेत स्थापना गरेको मन्दिर परिसरमा अवस्थित सिलाखेलमा उल्लेख छ । पूजा सञ्चालनका लागि बिरौटा फाँटमा रहेको करोडौँ मूल्य बराबरको २९ रोपनी १२ आना ६० मुरी माटो बराबरको अब्बल खेत गुठी बक्स भएको लालमोहर अहिले पनि सुरक्षित छ ।
गुठी जग्गा दुई शताब्दीपछि मात्र मन्दिरको हकभोगमा आएको हो । राजगुठीमा सूचीकृत सो जग्गाको किर्ते कागजात तयार गरी ११ जनाले छुट जग्गा दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा पाउँ भनि सूचना प्रकाशित भई अन्तिम चरणमा पुगेको सो गुठी जग्गा मन्दिर समितिको निरन्तर सक्रियता र स्थानीय प्रशासनको सहयोगमा संरक्षणसँगै उपयोगमा आएको मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष ऋषिराम भण्डारीले जानकारी दिए ।
गुठी संस्थान केन्द्रीय कार्यालय काठमाडौंमा सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिर सिद्धगुफा बेदविद्याश्रम सञ्चालन समितिको नाममा दर्ता भएको सो मन्दिर परिसर १ सय १९ रोपनी क्षेत्रफलमा पैmलिको छ । गुठी एवं मन्दिर हाताको जग्गालाई भरपुर उपयोग गरी धार्मिक क्षेत्रको संरक्षण र विकासमा उपयोग गरिनुपर्नेमा उनको जोड छ । मन्दिर समितिले उपलव्ध गराएको झण्डै १३ रोपनी जग्गामा पोखरा वृद्धाश्रम सञ्चालन हुँदै आएको छ ।
उक्त धार्मिक एवम् पुरातात्विक महत्व बोकेको क्षेत्रमा प्रत्येक वर्ष माघे संक्रान्तिका दिन परम्परादेखि ढुंगेसाँघु मेला लाग्दै आएको छ । सो क्षेत्रमा सेतीनदी माथि प्राचिन ढुंगसाँघु पुल, पिपलको चौतारामा सिताको पाईला, रामसिता मन्दिर, पोखरा वृद्धाश्रमलगायत विभिन्न ऐतिहासिक एवं धार्मिक महत्व बोकेका मठमन्दिर तथा पुरातात्विक महत्वका स्थल छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया