खोटाङमा आगलागीबाट २७ लाखभन्दा बढीको क्षति

लोकपथ
273
Shares

खोटाङ । विद्युत सर्ट भएर घरमा आगलागी हुँदा खोटाङमा २७ लाखभन्दा बढीको क्षति भएको छ । रावाबेँसी गाउँपालिका-६ हौंचुरका ज्ञानेन्द्र खड्काको ढुंगा माटोले बनेको टिनको छाना भएको घरमा आगलागी हुँदा २७ लाख ९५ हजार बराबरको क्षति भएको हो ।

सोमबार राति भएको आगलागीमा खड्काको तीन तले घर, घरमा राखिएका नगद पाँच लाख, सात तोला सुन (टिलदानी पाँच तोला, बेरुवा औंठी एक तोला, सिक्री आठ आना, मंगलसुत्र एक आना र फुली एक आना), चाँदी १७ तोला, १८ मुरी धान, १० मुरी मकैलगायत जलेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिए ।

खड्काको खाट र पलङ, लत्ताकपडा, भाडावर्तन, नारिकता, पासपोर्ट, लाइसेन्स, लालपुर्जा, विवाह तथा जन्मदर्ता लगायत कागजात पनि जलेको प्रहरीले जनाएको छ । प्रहरीचौकी हरम्टारबाट खटिएका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । प्रहरीले मंगलबार स्थानीयको रोहवरमा आगलागीको सर्जमिन मुचुल्का उठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?