सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । धादिङ, स्याङजा, ईलाम, अछाम, सिरहा, तनहुँ र सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको हो।

धादिङको गल्छी गाउँपालिका-७ कोल्पुखोला गल्छी नुवाकोटस्थित सडक खण्डमा बागमती प्रदेश ०२–०२२ प ४१५१ नम्बरको मोटरसाइकललाई ना.५ ख ७८८९ नम्बरको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार गोरखा, गोरखा नगरपालिका-५ बस्ने ४६ वर्षीय दुर्गा बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङजाको वालिङ नगरपालिका-८ केदारनाथ मन्दिर नजिक सडकमा भकुण्डेबाट वालिङ मोडतर्फ जाँदै गरेको लु-४ त ९१६० नम्बरको ट्याक्टरबाट खसेर ट्याक्टरमा काम गर्ने सोही ठाउँ क्याम्पस रोड बस्ने २७ वर्षीय विशाल बिकको मंगलबार बिहान मृत्यु भएको छ । ट्याक्टरबाट अचानक खसेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलामको माईजोगमाई गाउँपालिका-४ गैरीगाउँस्थित भित्री सडकमा मे-१ त ११७३ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरले किचेर सोही ठाउँ बस्ने ५४ वर्षीय पूर्ण बहादुर घलेको सोमबार साँझ मृत्यु भएको छ । सोही ट्याक्टरमा सवार घले अचानक ट्याक्टरबाट लडेपछि चक्काले किँच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

अछामको कमलबजार नगरपालिका-३ ढोरखोलाबाट दाउरा लोड गरी बयलातर्फ जाँदै गरेको से-१ त ८९१९ नम्बरको ट्याक्टरको ट्रलि पल्टिएर सोमबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार कमलबजार नगरपालिका-३ बस्ने ५५ वर्षीय दान बहादुर ढकालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिरहाको लाहान नगरपालिका-२२ माछाफारमको गेट अगाडि सडकमा ना-१ ज ५८२७ नम्बरको विङ्गर गाडी र स-१० प ८४०३ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माँ धमिनी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । विङगर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँको म्याग्दे गाउँपालिका-५ छाङपाटनस्थित भित्री सडकमा छाङपाटनबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ क २९१५ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३३ वर्षीय मंगल कुमालको सोमबार राति घट्नास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका-१ बागवानी पुल नजिक सडकमा ना-५ ख १४९९ नम्बरको बसले लु-७७ प ९२०० नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक रामेछाप घर भएका ३५ वर्षीय राजेश घिमिरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालबन्दी हुँदै नेशनल मेडिकल
कलेज वीरगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?