चीनले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो

लोकपथ
117
Shares

काठमाडौं । चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्रीको दोस्रो लट पठाएको छ । दोस्रो लटको सामग्री सोमबार काबुल आइपुगेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

चिसो मौसमका लागि भन्दै चीनले सोमबार यी सामग्री पठाएको हो । सोमबार काबुलमा आयोजना भएको एक कार्यक्रममा यी सामग्री हस्तान्तरण गरिएको हो ।

रेलमार्फत् ती सामग्री सोमबार अफगानिस्तानको राजधानी काबुल पुर्‍याइएको थियो । अफगानिस्तानको तालिबान सरकारका एक उपमन्त्री र अफगानिस्तानका लागि चिनियाँ राजदूत उपस्थित एक समारोहमा सोमबार ती सामग्री प्रदान गरिएको थियो ।

अफगानिस्तानका लागि रेलमा ती सामग्री ल्याइएको बताइएको छ । ती सामग्रीहरुमा ७० हजार वटा ब्लांकेट र ४० हजार वटा डाउन कोट रहेका बताइएको छ ।

चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यसअघि पनि चीनले खाद्यान्न र लत्ता कपडा सहयोग गरेको थियो । अहिले भने जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर त्यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता त्यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?