भान्छाका यी खाना जसको कहिल्यै मिति गुज्रिँदैन

लोकपथ
156
Shares

हामीले भान्छामा धेरै किसिमका खानेकुराहरूलाई पुरानो भएपछि प्रयोग नै गर्दैनौ । अहिले भान्छामा पनि बजारबाट ल्याइएका धेरै खानेकुरा, मरमसला आदी प्रयोग हुन थालेको छ । कम्पनीमा निर्माण भएका अधिकांश खानेकुरा, मरमसलामा उत्पादन मिति, उपभोग मिति जस्ता कुराहरू उल्लेख गरिएको हुन्छ । जसका कारण प्रयोगकर्ताले पनि कम्पनीले तोकेको मिति अनुसार नै प्रयोग गर्नुपर्ने हुन्छ । मिति गुज्रिएका यस्ता खाद्य पदार्थको सेवन स्वास्थ्यलाई हानिकारक मानिन्छ । तर पनि हामीले भान्छामा प्रयोग गर्ने केही खानेकुरा र मरमसलाको भने कहिल्यै मिति गुज्रिँदैन । यी सामग्रीहरू पुरानो भएमा अझ राम्रो समेत मानिने खालका हुन्छन् ।

हामीले भान्छामा प्रयोग गर्ने केही यस्तै किसिमका खाद्यपदार्थ छन् जो पुरानो भए पनि प्रयोग गर्न मिल्छ ।

नुन
नुन यस्तो किसिमको खाद्य पदार्थ हो जसको कहिल्यै मिति गुज्रिँदैन । नुनलाई हामीले लामो समयसम्म भण्डारण गरेर समेत राख्न सक्छौँ । यो बाहेक कतिपय खानेकुरालाई लामो समयसम्म टिकाउन र त्यसको उपभोग गर्न नुनकै प्रयोग गर्नु पर्ने हुन्छ । नुनमा कहिल्यै किरा लाग्दैन भने यसमा कुनै किसिमको खराबी पनि आउँदैन । नुन पुरानो भए पनि यसको नुनिलो स्वाद ताजा झैँ रहिरहन्छ ।

चामल
चामल नयाँ भन्दा पुरानै स्वादिलो मानिने हुनाले जहिले पनि उपभोक्ताको चाहना भनेकै पुरानो चामलको भात पकाउने भन्ने नै हुन्छ । सेतो चामलको कहिल्यै मिति गुज्रिँदैन । यदि भण्डारण व्यवस्था नमिलेको खण्डमा यसमा खराबी आउनु अलग्गै कुरा हो । तर सेतो चामल जति पुरानो भयो त्यो त्यत्ति नै स्वादिलो र स्वास्थ्यकर समेत मानिन्छ । तर पछिल्लो पटक चलनचल्तीमा आएका ब्राउन राईसमा भने यो नियम कमै लागू हुन्छ । ब्राउन राइसमा तेलको मात्रा हुने हुनाले यसको प्रयोग उत्पादन भएको ६ महिना भित्र गर्नुलाई राम्रो मानिन्छ ।

मह
बहु गुणकारी खानेकुरा मानिने मह जति पुरानो भयो त्यो उत्ति नै राम्रो हुन्छ । शुद्ध महलाई लामो समयसम्म भण्डारण गरेर खाँदा राम्रो मानिन्छ । यो नियम शुद्ध महमा मात्र लागू हुन्छ गुणस्तर कम भएको महको हकमा भने यो नियम लागू हुँदैन । किनकि यस्ता महमा चिनीको मात्रा हुने हुनाले जम्ने, ढुसी आउन पनि सक्छ ।

सस्र्यूको तेल
सस्र्यूको तेल पनि पुरानोलाई राम्रो मानिन्छ । त्यसैले सस्र्यूको दाना र यसको तेललाई लामो समय भण्डारण गरेर प्रयोग गर्न सकिन्छ । यसरी लामो समय भण्डारण गर्दा पनि यसको पोषक तत्त्वमा कुनै किसिमको कमी आउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?