उत्तर कोरिया र अमेरिकाको शर्तको भारीले शान्त हुन नसकेको कोरियाली प्रायद्धीप

लोकपथ
247
Shares

सीउल । कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्न उत्तर तथा दक्षिण कोरिया, अमेरिका र चीनबीच सैद्धान्तिक रुपमा सहमत भए पनि वार्ता हुन सकेको छैन् । उत्तर कोरिया र अमेरिकाको अनुचित शर्तका कारण कोरियाली प्रायद्धीपको युद्ध अन्त्य हुन नसकेको विज्ञहरुले बताउँदै आएका छन् ।

उत्तर र दक्षिण कोरियाबीच सन् १९५० मा युद्ध भएको थियो । युद्धको तीन वर्षपछि युद्धविराम भएसँगै सन् १९५३ मा युद्ध अन्त्य भएको थियो । युद्ध अन्त्य भए पनि दुई कोरियाबीच कहिल्यै पनि शान्ति सम्झौता भएन ।

औपचारिक रुपमा युद्ध अन्त्य भए पनि उत्तर र दक्षिण कोरिया लामोसमयदेखि युद्धको मनस्थितिबाट गुज्रिरहेका छन् । उत्तरलाई चीन र दक्षिण कोरियालाई अमेरिकाले समर्थन गर्दै आएको छ । कहिलेकाही उत्तर र दक्षिण कोरियालाई वासिंगटन र सीउलले अनावश्यक रुपमा उचाल्दै आएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले पनि उत्तर कोरिया र अमेरिकाको अनावश्यक शर्तका कारण कोरियाली प्रायद्धीपको युद्ध अन्त्य हुन नसकेको बताएका छन् ।

अस्ट्रेलिया भ्रमणमा रहेका मुनले अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिससँगको भेटवार्तामा कोरियाली प्रायद्धीपको युद्ध समाप्त गर्न विभिन्न देशहरुबीच सहमति भए पनि वार्ता हुन नसकेको बताए ।

तर, ती देशबीच कस्तो सहमति भएको छ भन्ने विषयमा भने उनले केही खुलाएनन् ।

के चाहन्छ कोरिया ?

सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले आफ्नो देश वार्ताप्रति सकरात्मक भएको बताएकी थिइन् । तर, त्यसका लागि अमेरिकाले आफूहरुबिरुद्ध शत्रुतापूर्ण व्यवहार हटाउनुपर्ने उनले शर्त राखेकी थिइन् ।

दक्षिण कोरियामा अमेरिकी सेनाको उपस्थितिलाई लिएर उत्तर कोरियाले बारम्बार बिरोध गर्दै आएको छ । अमेरिका र दक्षिण कोरियाले वर्षेनी संयुक्त सैन्य अभ्यास गर्दै आएका छन् । त्यस्तै, उत्तरले आफूहरुमाथि लाग्दै आएको प्रतिबन्धको पनि बिरोध गर्दै आएको छ । तर, उत्तरले आणविक परीक्षण त्यागेमा मात्र उमाथिको प्रतिबन्ध हट्ने अमेरिकाले शर्त राखेको छ ।

अमेरिका र उत्तर कोरियाको आआफ्नो शर्तका कारण वार्ता हुन नसकेको दक्षिण कोरियाली राष्ट्रपति मुनले बताएका छन् । ‘दुबै देशको आफ्नै शर्त र अडानका कारण हामी वार्तामा बस्न सकेका छैनौं । मलाई लाग्छ कुनै पनि बेला वार्ता हुन्छ,’ उनले भने ।

कोरियाली प्रायद्धीपको युद्ध अन्त्य गर्ने बारेमा दक्षिण कोरियाका राष्ट्रपति मुनले उत्तरसँग वार्ता गर्दै आएका छन् । युद्ध अन्त्य गर्ने औपचारिक घोषणाले उत्तरलाई आणविक हतियार त्याग्न दबाब दिने उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?