सरकारको प्रतिबन्धको विरोधमा अस्ट्रियामा दशौं हजार मानिस प्रदर्शनमा

लोकपथ
195
Shares

भियना । अस्ट्रियामा कोभिड नियन्त्रण गर्न सरकारले लगाएको प्रतिबन्ध र अनिवार्य खोपको विरोधमा दशौं हजार मानिसहरुले सडकमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा ५० हजार भन्दा बढी मानिसहरुको सहभागीता थियो ।

प्रदर्शन नियन्त्रण गर्न सयौं प्रहरी परिचालन गरिएको थियो । एक साताअघि पनि सरकारको प्रतिबन्धको विरोधमा हजारौं प्रदर्शनकारीले राजधानी भियनामा विशाल प्रदर्शन गरेका थिए ।

मास्क नलगाएको र उत्तेजक गतिविधि गरेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनको रिपोर्ट गरेका सञ्चारकर्मीहरुलाई पनि प्रदर्शनकारीले हिउँ र बरफका डल्लाले हिर्काएका थिए । आक्रमणमा एक पत्रकार घाइते भएको प्राप्त विवरणमा जनाइएको छ ।

प्रदर्शनलाई दक्षिणपन्थी दल अस्ट्रियन फ्रिडम पार्टीका नेता हर्वट किकले सम्बोधन गरेका थिए । उनले महामारीविरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै आएका छन् । सरकारले खोप नलगाएका व्यक्तिको भावना नबुझेको भन्दै उनले आगामी दिनमा पनि प्रदर्शन जारी रहने बताए ।

संक्रमितको संख्या बढेसँगै अस्ट्रियामा गत महिना लकडाउन घोषणा गरिएको थियो । पछिल्लो समयमा संक्रमण बढेपछि पुनः लकडाउन गर्ने अस्ट्रिया पहिलो युरोपेली देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?