उखुको नयाँ मूल्य निर्धारण गर्न सम्बन्धित निकायसँग छलफल

लोकपथ
28
Shares

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बिहीबार उखुको नयाँ मूल्य निर्धारण सम्बन्धमा छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

उखुको क्रसिङ सिजन नजिकिएकोले यस वर्षको उखुको बिक्री मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपाल उखु उत्पादक महासंघ र सरोकारवाला निकायहरुबीच छलफल भएको हो ।

यसवर्ष उखुको मूल्य यसै साता तोक्ने गरी तयारी भइरहेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश सन्जेलले बताएका छन् । यस वर्ष उखुको मूल्य तोक्ने कार्य विगतको भन्दा वैज्ञानिक र व्यवहारिक हुने उनले जनाए । ‘उखुको मूल्य तोक्ने सम्बन्धमा अध्ययन सकिएको छ, यसै साताको शुक्रबारसम्म मूल्य तय हुन्छ,’ प्रवक्ता सञ्जेलले भने ।

यस वर्षको उखुको मूल्य तोक्न उखुको पकेट क्षेत्र मानिने तराईका १० जिल्लामा अधिकृत स्तरको २ जनाका दरले प्रतिनिधि खटाइएको थियो । प्रत्येक जिल्लाबाट कम्तीमा पनि ३०भन्दा बढी अध्ययन नमूना संकलन गरिएको मन्त्रालयले जनाएको छ ।

देशैभरबाट प्राप्त ३ सय नमूनालाई कृषि विभागले अध्ययन गरेको र यसैका आधारमा बिहीबार थप छलफल गरिएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष सरकारले उखुको प्रतिक्विन्टल न्यूनतम् मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको थियो ।

उखुको मूल्य ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च र मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्विन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा थियो । गत वर्ष अघिल्लो वर्षको तुलनामा क्विन्टलमा जम्मा ८ रुपैयाँ मूल्य बढेको थियो । भने यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल ६ सय रुपैयाँ भन्दा बढी हुनुपर्ने नेपाल उखु उत्पादक महासंघको माग छ ।

कृषि मन्त्रालयले मूल्य तय गरेर वाणिज्य मन्त्रालयलाई सिफारिस गर्नेछ । वाणिज्य मन्त्रालयले मन्त्रिपरिषद् पठाएपछि मात्र उखुको मूल्य सरकारले घोषणा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?