महाधिवेशन सकस : यसकारण सन्यास लिने मुडसम्म पुगे पौडेल

काठमाडाैं । सभापतिका आकांक्षी तथा आफूनिकटका नेताहरूको मंगलबारकोे बैठकबाट बाहिरिँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भनेका थिए, ‘सबै पक्षमा छलफल गरेर हामी एउटा निष्कर्षको नजिक नजिक पुगेका छौँ । केही प्रक्रिया पूरा गर्न बाँकी छ । त्यो प्रक्रिया पूरा गरेर हामी भोलि हाम्रो निर्णय सार्वजनिक गर्छौँ। भोलिसम्म साझा उम्मेदवार तय हुन्छ, हामी तय गर्छौँ ।’

बुधबार पनि परिस्थिति फेरिएन । बुधबार गौशालाको अनुपम फुडल्यान्डमा पौडेलपक्षीय केन्द्रीय सदस्य प्रदेश तहका पदाधिकारी तथा प्रतिनिधिको बैठकबाट इतर पक्षका ४ सभापतिबाट २ मा झरेको थियो । महामन्त्री डा. शशांक कोइरालाले बुधबारको चाक्सिबारी बैठकमा रामचन्द्र पौडेललाई अघि बढाउन ब्याक भएका थिए । पौडेल सहमति भए पछि हट्ने अभिभावकीय भूमिकामा देखिए ।

कुनै हालतमा ब्याक नुहने अडानमा डा. शेखर कोइराला र प्रकाशमान सिंह छन् । उनीहरूमध्ये एक उम्मेदवार भए पनि हुने सुझाव गौशाला बैठकले दिएको थियो ।

बैठकअघि कांग्रेस नेता चन्द्र भण्डारीले भनेका थिए, ‘उहाँहरूलाई एक जना राष्ट्रपति बन्नुस्, एक जना प्रधानमन्त्री बन्नुस् एक जना पार्टी सभापति बन्नुस् र पार्टी पदाधिकारीमा युवालाई ठाउँ दिनुुस् भन्ने हो । यसो हुँदा मिल्न सक्छ ।’

युवाहरूको दबाबले काम गरिरहेका इतर समूहमा युवाहरूको प्रस्तावमा डा. शेखर र सिहंको पार्टी सभापति उम्मेदवार बनिछाड्ने अड्डीले सहमति बन्न सकेको छैन । गोप्य मतदान गर्ने र जसको बहुमत आउँछ उसैको पक्षमा लबिङ गर्ने युवा नेताहरूको योजना सहमति भैहाल्छ कि भन्ने कुराले रोकिएको छ ।

‘हाम्रो प्रस्ताव पनि छ, सहमति भैहाल्छ कि आस छ नि । तत्काललाई सो विषयमा प्रवेश गरिहाल्ने अवस्था छैन’, एक नेताले भने ।

बहुमतको अभ्यास गर्ने युवाहरूको तयारीमा सहमति नै होस् भन्ने चाहनाले रोकिएको छ ।

आकांक्षीहरूको बैठक पनि बिनानिष्कर्ष सकियो । बिहीबार बिहान ८ बजे आकांक्षीहरू र नेताबीच बैठक बस्नेछ । बिहीबारको बैठकमा तीनै जना नेताले लड्ने भनेपछि रामचन्द्र पौडेल भावुक बने ।

एउटा सबैसँग उम्मेदवार हुने, अर्को पार्टीबाट बिदा लिएर घरमा बस्ने । उनले संस्थापनइतर समूहबाट एक जना मात्रै उम्मेदवार बन्नुपर्ने बताएका थिए ।

‘सबैजना लड्ने र नमिल्ने भए म पार्टीबाट बिदा हुन्छु, अलग हुन्छु । म अब घरमै आराम गर्छु भनेर भन्नुभयो’, नेता डा. रामशरण महतले पत्रकारसँग कुरा गर्दै भने, ‘अहिलेसम्मको अवस्था हेर्दा मिल्ने देखिँदैन । सबैजना आ–आफ्नो अडानमा हुनुहुन्छ ।’

बैठकमा नेता प्रकाशमान सिंहले आफू राजनीतिमा पुरानो पुस्ता भएको र नेतृत्वको दाबी गर्नु स्वाभाविक भएको बताएका थिए । नेताहरू सहमतिको प्रयास र सँगसँगै आफ्नो काम पनि अघि बढाएका छन् ।

सभापति शेरबहादुर देउवा समूहको बैठक पनि बिहीबार देउवा निवास बूढानीलकण्ठमा बस्यो । बैठकमा केन्द्रीय सदस्यहरूको उम्मेदवार तय गर्नका लागि शीर्ष नेताहरूलाई जिम्मा दिइएको छ । नेताहरूले विभिन्न क्लस्टरबाट महाधिवेशनले १५ जना पदाधिकारीसहित १३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछन् ।

केन्द्रीय सदस्यहरू चयन गर्नका लागि प्रदेश १ बाट ज्ञानेन्द्र कार्की, प्रदेश २ बाट महेन्द्र यादव र रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशशरण महत, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा पूर्णबहादुर खड्का र जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा एनपी साउद र रमेश लेखकलाई जिम्मेवारी दिइएको छ ।

बैठकमा सभापति देउवाले क्लस्टरअनुसार नाम बढी नहुने गरी उम्मेदवारहरू चयन गर्न निर्देशन दिएका छन् । सो निर्देशनअनुसार नेताहरू जोड घटाउमा व्यस्त छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल अर्का नेता कृष्ण सिटौला भेट्न उनकै निवास पुगे । आफ्नो समूहमा आकांक्षीहरू मिलेमा आफू त्याग गर्न तयार रहेको बताइसकेका नेता पौडेलले आफ्ना नाममा सहमति हुने र त्यसमा सिटौला सहभागी गराउन सके बलियो हुने झिनो आशा राखेका छन् ।

भेटमा सिटौलालाई आफ्नो नाममा सहमति भइदिन पौडेलले प्रस्ताव राखेका थिए ।

‘रामचन्द्र दाईले सहयोग गर्न र सहमति जनाउन आग्रह गर्नुभयो, के आधारमा सहमति गर्ने ? सहमतिको आधार माग्नुभयो’, सिटौला निकट एक नेताले भने ।
सिटौलाको प्रस्तावपपछि फेरि कुराकानी गर्ने भन्दै दुई नेता छुट्टिएका थिए ।

पौडेललाई सभापति मान्न तयार महामन्त्री डा. शशांक कोइरालालाई आफ्नो टिममा ल्याउनसके पल्ला भारी हुने हुँदा शशांक मनाउने प्रयासमा देउवा छन् । शशांकलाई टिममा ल्याउँदा उपसभापतिसहति महामन्त्री वा पदाधिकारी दिनुपर्ने हुँदा आफ्नैमा नेता व्यवस्थापन गर्न सकस परिरहेका देउवालाई आकांक्षीले गुट परिवर्तन नगरुन् भन्नेतर्फ पनि सचेत हुनपर्नेछ ।

बिहीबारको बैठकमा सिटौलालाई जसरी पनि व्यवस्थापन गर्नुपर्ने सुझाव नेताहरूले सभापति शेरबहादुर देउवालाई दिएका थिए । शशांकलाई आफ्नो टिममा ल्याउँदा मिनेन्द्र रिजाललाई महामन्त्री पनि दिनुपर्ने हुन्छ । सिटौला समूहले पनि एक महामन्त्री र एक सहमहामन्त्री मागिरहेको बेला देउवालाई अरु टिमबाट आकांक्षी तान्न गाह्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?